जन्मेदेखि मर्दासम्म ढुंगा साक्षी

जन्मेदेखि मर्दासम्म ढुंगा साक्षी

तेह्रथुम : प्रकृति पूजकका रूपमा चिनिएका पूर्वीपहाडी भेगमा बसोवास गर्ने लिम्बू समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रहिआएको छ। यो जातिमा जन्मदेखि मृत्युपर्यन्त ढुंगाको भूमिका र प्रयोग रहने गरेको छ। जन्म, विवाह र मृत्युजस्ता सामाजिक कार्यमा ढुंगाको प्रयोग अनिवार्य छ।

त्यति मात्र नभई कसैसँग झैं–झगडा भएर मिल्नुपर्दा, मितेरी साइनो गाँस्दा, सम्बन्ध जोड्दा वा विच्छेद गर्नुपर्दा पनि निसानी एवं प्रतीकका रूपमा ढुंगा गाड्ने परम्परा छ। लिम्बू समुदायले जन्मेदेखि गर्ने हरेक काममा ढुंगालाई साक्षी राख्ने गरेका हुन्। लिम्बू मुन्धुममा यसरी साक्षी राखिने ढुंगालाई ‘मेन्दुरी प्यासाङा’ भनिन्छ। लिम्बूको आदिमकालदेखि चलिआएको यो सभ्यतालाई पुनः जागृत गराउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले ढुंगैढुंगाको पार्क अथवा चोलुङ (सिद्धि प्राप्ति) पार्क निर्माण गरेको छ।

सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नेसमेत उद्देश्य बोकेको यो पार्क पर्यटकको विशेष गन्तव्य बन्न थालेको छ। लिम्बू समुदायको मौलिकतासँग जोडेर ढुंगा मात्र प्रयोग गरेर बनाइएको यो पार्कमा घुम्न तथा हेर्नका लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। यस पार्कमा विभिन्न ठाउँबाट पर्यटक आउने र अध्ययन तथा भ्रमणसमेत गर्ने गरेको लालीगुराँसका मेयर अर्जुन माबोहाङले बताए। उनले भने, ‘लिम्बू जातिको पुरानो सभ्यता र संस्कारलाई पार्कको माध्यमद्वारा प्रतिविम्बित गराई विश्वसामु चिनाउने लक्ष्य छ।’

लिम्बू भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंगा हुन्छ। यस अर्थमा यो चोत्लुङ पार्कको विशेषता भनेकै ढुंगाको सभ्यता हो।

महिलाको भन्दा तौल बढी भए मात्र पुरुषले विवाह गर्न पाउने लिम्बू सभ्यता थियो भने पुरुषभन्दा बढी तौल भए महिलाले आजीवन कन्या बस्ने संस्कार थियो।

आदिमकालदेखि आफ्नै भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज रहेको लिम्बू जातिमा ढुंगाको छुट्टै महत्त्व रहेको र यसको पुरातात्विक सभ्यताको भग्नावशेष जगेर्नाको अभिप्रायले यो पार्क बन्नु आफैंमा महत्त्वपूर्ण रहेको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेशकुमार सेनेहाङले बताए। ‘यस ठाउँमा एकपटक आउने जोकोहीले लिम्बू जातिको पूर्वजले चलाई ल्याएको संस्कार र रीतिलाई नजिकबाट बुझ्नेछन्’, उनले भने। यो पार्कको विभिन्न भागमा अग्ला–अग्ला ढुंगाका स्तम्भ गाडिएका छन्। यसरी ढुंगा गाडिने परम्परा लिम्बू समुदायमा प्राचीनकालदेखि छ। लिम्बूहरूले जन्मेदेखि मृत्युसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात् ढुंगा गाड्छन्।

आदिमकालमा लिम्बू जातिको युमा (इष्टदेवी) ले प्रयोग गरेको तान बुन्ने ठाउँ र धागो अड्याउने खम्बा यहाँ राखिनु पार्कको मुख्य विशेषता हो। यहाँ गाडिएका ढुंगाको उचाइ करिब १६ फिट छ। नजिकै ढुंगाको तराजु पनि राखिएको छ। मानव सभ्यता सुरु भएपछि बिहेबारी गर्दा यही तराजुमा जोखिएर मात्र तौलअनुसार निर्णय लिनुपर्ने किंवदन्ती लिम्बू समुदायमा प्रचलित छ। महिलाको भन्दा तौल बढी भए मात्र पुरुषले विवाह गर्न पाउने प्राचीन सभ्यता रहेको लिम्बू मुन्धुमविद् भर्तबहादुर सिंजागूले बताए। उनले भने, ‘पुरुषभन्दा बढी तौल भएको महिलाले आजीवन कन्या बस्ने संस्कार थियो।’

करिब ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कको पूर्वपट्टिको भागमा लिम्बू जातिको आदिम राजा ‘सावा येहाङ’ को सभ्यतालाई पुनर्निर्माण गरिने भएको छ। आदिमकालको सभ्यतालाई प्रतिविम्बित गराउने सावायेहाङ पाङभे (गाउँ) मा आठवटा परम्परागत घर धमाधम निर्माण भइरहेका छन्। लिम्बू जातिको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्यसाथ निर्माण गरिएको पार्कमा जन्म, विवाह, मृत्युलगायत सामाजिक तथा सामूहिक कार्य हुँदै आएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए। ‘यो पार्कमा प्रायः दैनिकजसो कुनै न कुनै काम भइरहेको हुन्छ’, उनले भने।

लिम्बू जातिको संस्कार चलाउने फेदाङमा, येवा, साम्बालगायत शास्त्रीय ज्ञान भएका मन्त्रधारीहरू पछिल्लो समय लोप हुँदै गएका छन्। यसले लिम्बू सभ्यता र संस्कार नै धरापमा परेकाले स्थानीय उत्पादन गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष माबोहाङले बताए। यो पार्क बनाउन नगरपालिकाले ०७५/७६ मा ३० लाख बजेट छुट्याएको थियो। प्रत्येक आर्थिक वर्षमा पार्कको प्रवद्र्धन र विकासका लागि रकम छुट्याउने गरिएको नगरपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.