पहिरोको पिरलो
पूर्वी पहाडका बस्तीहरु, जहाँ बर्खा सुरु नहुँदै पहिरो जाने डरले सर्वसाधरण निदाउन सक्दैनन् ।
विराटनगर : पूर्वी पहाडका बस्ती पहिरोको उच्च जोखिममा छन्। बर्खायाम सुरु नहुँदै पहाडी जिल्लामा पहिरोको पिरलो सुरु हुन्छ। हिउँदमा पनि सुक्खा पहिरोबाट स्थानीयवासी पीडित बन्दै आएका छन्। भूकम्पपछि पहिरो जाने क्रम झनै बढेको छ।
ओखलढुंगाको सिद्धिचरण–८ सल्लेरीका रामबहादुर गुरुङको घरमुनिसम्म पहिरो आइसकेको छ। पहिरोले करेसाबारीसम्म बगाएको उनले सुनाए। ‘वर्षा सुरु भएपछि कति बेला बगाउने हो भन्ने चिन्ता मात्रै हुन्छ’, उनले भने, राति निदाउनै सकिँदैन।’ वडाध्यक्ष हेम तामाङका अनुसार ४० घर तिलखोरिया पहिरोको जोखिममा छन्। स्थानीय प्रयासमा पहिरो नियन्त्रण सम्भव नभएको उनले बताए। मोलुङ–२ वरुणेश्वरस्थित डाँडागाउँकी ६६ वर्षीया निम्पुटी शेर्पाले अन्त जान ठाउँ पनि नरहेको बताइन्।
लिपे खोलाको कटानका कारण २६ वर्षअघि पहिरो जान थालेको थियो। त्यसयता ३ सय रोपनी जमिन बगिसकेको छ। आधा दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेका छन्। ५६ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। जिल्लामा १ सय ४६ वटा पहिरो नियन्त्रणबाहिर छन्। बस्ती स्थानान्तरणको काम सुरु गरिएको पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख युवराज खरेलले बताए।
सिद्धिचरण नगरपालिका, वरुणेश्वर, माम्खा, मोलीलगायत स्थानमा ठूला पहिरोले ५ सयभन्दा बढी हेक्टर जमिन बगाइसकेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार २२ बस्ती उच्च जोखिममा छन्। मध्यम जोखिममा १४ र सामान्यमा तीन बस्ती छन्। उद्धार तथा राहतको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।
चार वर्षपछि राहत
ताप्लेजुङमा २०७२ जेठ २७ गते ज्यान गुमाएकाका आफन्तले चार वर्षपछि बिहीबार १ लाखका दरले राहत पाएका छन्। मिक्वाखोला–१ र २ खोक्लिङसहित लिवाङ तथा मेरिङ्देनका थिङलाबु, सान्थाक्रा, खाम्लुङ र लिङ्तेपलगायत स्थानमा ६९ जनाको मृत्यु भएको थियो। स्थानीयलाई पहिरोबाट जोगाउन सुरक्षा निकायलाई तयारीमा राखिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए। ‘जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै गाउँ छाड्न भनिसकेका छौं’, उनले भने।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठन (नास्ट)का अनुसार ताप्लेजुङ पहिरोको बढी जोखिमयुक्त जिल्ला हो। यहाँ न्यूनतम ४५ र अधिकतम १ सय ४२ मिलिमिटरसम्म वर्षा हुन्छ। ८० प्रतिशत स्थानीय जोखिम मोलेरै बस्दै आएको अध्ययनले देखाएको छ।
संखुवासभाको सिलिचोङ–३ ताम्कु साप्तेल र याचम्खा टोलका २१ परिवार गत वर्ष पहिरोले विस्थापित भए। पुनःस्थापना गर्न बजेट नहुँदा उनीहरू त्यही ठाउँमा फर्किएर बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए। साप्तेलका अगमबहादुर कुलुङका अनुसार वर्षा हुन थालेपछि गाउँ पहिरोले तान्ने डर सुरु हुन थाल्छ।
२०६६ भदौमा सिकिदिमको पहिरोमा १३ जना बेपत्ता भएका थिए। विस्थापित ६२ परिवारलाई सिलिचोङ–३ मानेटारमा पुनर्वासको व्यवस्था गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले १० वटै स्थानीय तहलाई उच्च जोखिममा राखेको छ। २ सय ७० परिवारका १ हजार ६ सय जना जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए। उनका अनुसार ३२ वर्षमा बाढीपहिरोका ३५ घटनामा ७८ जनाको मृत्यु भएको छ। २०७२ जेठमा ३८ जनालाई मकालुको पावाखोला काङदुवाबाट सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। उनीहरू सोही स्थानमा फर्किएर बसोबास गरिरहेका छन्।
सडक विकास मात्र होइन, विनास पनि !
तेह्रथुममा वातावरणीय प्रभाव मूल्यांकन नगरी सडक निर्माण गर्दा दर्जन गाउँमा पहिरोको जोखिम बढेको छ। दुई वर्षयता १८ परिवार विस्थापित भएका छन्। सडक खन्न स्काभेटर प्रयोग बढेपछि भिरालो जमिन खसेर त्यसले पहिरोको रूप लिने गरेको म्याङ्लुङ–५ का वडाध्यक्ष होम खड्काले बताए। ‘विकासको पहिलो आधार सडक हो’, उनले भने, ‘तर, जथाभावी सडक खन्दा विनास पनि यसबाटै हुँदो रहेछ।’ बालीनालीमा पनि क्षति पुग्ने गरेको लालीगुराँसको सोल्माका मनोज लिम्बूले बताए। १५ गाउँ जोखिममा रहेको विभिन्न अध्ययनले देखाएका छन्।
जथाभावी खनिएका सडक, वन फँडानीलगायत कार्य पहिरोको मुख्य कारक रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले बताइन्। उनका अनुसार जिल्लामा २ सय घर जोखिममा छन्। मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्ड आसपासका दर्जन परिवार पहिरोले विस्थापित हुने अवस्थामा पुगेको फेदाप–१ का वडाध्यक्ष गोविन्द मादेम्बाले बताए।
पहिरो रोकथामका लागि गाउँलेले रूख, बाँस रोप्नेदेखि पानी तर्काउने काम गरेका छन्। तापनि, त्यो प्रभावकारी देखिएको छैन। जिल्ला भू–संरक्षण कार्यालयले पहिरो रोकिने छाँटकाँट नदेखेपछि काम स्थगन गरेको छ। जोखिम न्यूनीकरणका लागि हरेक स्थानीय तहले दीर्घकालीन योेजना बनाउन आवश्यक रहेको जिसस प्रमुख शिव ढुंगानाले बताए।
धनकुटाको साँगुरीगढी–६ नाम्जेनजिकै मझुवा र मुक्तेन गाउँमा पहिरोले सय परिवारको जग्गा बगाएको छ। एक दर्जन परिवार बसाइँ गएको वडाध्यक्ष यामकुमार राईले बताए। धनकुटा–२ भीरगाउँका ४० परिवार जोखिममा छन्। केहीले घर छाडेको स्थानीय टंकबहादुर दाहालले बताए।
प्राविधिक अध्ययनबिना सडकको ट्र्याक खन्न र रूख फँडानी हुन थालेपछि पहिरोको जोखिम बढेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। धनकुटाका दुई दर्जन स्थान जोखिममा छन्। महालक्ष्मी मच्छेबुङमा २२ परिवार जोखिममा रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाका भूसंरक्षण सहायक भक्त कार्कीले बताए। उनका अनुसार छथरजोरपाटी–६ घांगे टोलका ३५ परिवार जोखिममा छन्।
भोजपुरमा पनि जथाभावी सडक खन्ने क्रम बढेपछि समस्या देखिएको छ। षडानन्द–१ नेपाले डाँडामा साउन २८ गते सडक पहिरोले बगाएपछि बालुवानीका १६ घरधुरी जोखिममा परे। भोजपुर–४ सिद्धेश्वर कात्तिकेमा पहिरोले २१ घर बगायो। स्थानीयवासी आसपासका गाउँतिर स्थानान्तरण भए। जिल्लामा ४ सयको संख्यामा कच्ची सडक खनिएका छन्।
जथाभावी ट्र्याक खोलिएकाले पहिरो खस्ने र त्यसले जोखिम निम्त्याउने समस्या बढेको पूर्वाधार विकास कार्यालय प्रमुख राजनराज रेड्डीले बताए। घरबार गुमाएका पीडितलाई राहत र उद्धारको व्यवस्थाबाहेक केही गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको भनाइ छ।
१ करोड बजेट व्यर्थै
इलामको इलाम–१२ साङरुम्बाको सटके पहिरोका कारण पाँच गाउँका बासिन्दा जोखिममा छन्। यसको रोकथामका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय नम्बर १ विराटनगरले १ करोड खर्च गरेको छ। तर, पहिरो उस्तै रहेको वडाध्यक्ष लाखमान लिम्बूले बताए। उनका अनुसार २०१५ सालदेखिको पहिरोले सय परिवार विस्थापित भइसकेका छन्। ३५ परिवार अझै समस्यामा छन्।
जनप्रतिनिधिका लागि पहिरो ठूलो समस्या बनेको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोले बताए। उनका अनुसार चुरे क्षेत्रको माङसेबुङमा सयभन्दा बढी पहिरो छन्। यहाँको इभाङ पहिरोले वर्षौंदेखि दुःख दिँदै आएको छ। ‘चुरेमा मानव बस्ती विस्तारसँगै थपिएको बाटोले पहिरो बढाएको हो’, उनले भने, ‘जनप्रतिनिधि आएपछि अन्धाधुन्द सडक खन्ने कामलाई निरुत्साहित गरेका छांै।’
रोङ–१ को जुरे पहिरो चर्चित छ। त्यसबाहेक रुम्दाली, वीरे, धनसारे, दूधे, खर्बेनी बगैंचा, याङ्रे, प्युरे, गाँजले र रम्भ्याङ पहिरोले तनाव दिइरहेको गाउँपालिका अध्यक्ष शमशेर राईले बताए। ‘सचेतना जगाउने र वृक्षरोपण गर्ने काम भइरहेको छ’, उनले भने, ‘पहिरो रोक्ने योजना कार्यान्वयन गर्न स्थानीय तहको क्षमताले भ्याउँदैन।’ नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष रोम आचार्यका अनुसार हरेक स्थानीय तहमा पहिरोको समस्या छ।
पाँचथरमा ९० घरपरिवार पहिरोको जोखिममा छन्। अघिल्लो वर्ष १ सय ६९ घर प्रभावित भएका थिए। प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार फालेलुङको एकतिनलाई उच्च जोखिम क्षेत्रका रूपमा लिइएको छ। यहाँका ३४ परिवार समस्यामा छन्। फिदिमको नांगिनका १९, चोकमागुका १०, इम्बुङका दुई, मिक्लाजुङ गाउँपालिका सराङडाँडाका १७ घर, याङवरकको च्याङथापुका ८ परिवार जोखिममा रहेको वस्तीले बताए। फालेलुङमा १५ पीडित परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए।
उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माणको काम अघि बढेको छ। फिदिमका मेयर ओनाहाङ नेम्बाङले प्रत्येक वडामा हेलिप्याड निर्माण गरेर प्राकृतिक प्रकोपबाट पीडित भएकाको उद्धार गरिने बताए।
- शिवप्रसाद ढुंगाना/ओखलढुंगा, तोयानाथ भट्टराई/इलाम, अनिष विष्ट/संखुवासभा, भीमकुमार बाँस्कोटा/पाँचथर, प्रदीपचन्द्र राई/भोजपुर, हरिबहादुर लम्जेल/धनकुटा, टीआर लिम्बू/तेह्रथुम