जोगाऔं आँखा
भाइबहिनीहरू, तिमीहरूले क्यान्सर रोगको बारेमा त सुनेकै होलाऊ। यो एक जटिल रोग हो। शरीरका विभिन्न अंगमा यसले सताउन सक्छ। ठूला मानिसदेखि साना बालबालिकासम्मलाई यो रोग लाग्न सक्छ। तर क्यान्सरको नामै सुनेर डराइहाल्नुपर्छ भन्नेचाहिँ होइन। बेलैमा रोग पत्ता लागे यसको सफल उपचार पनि हुन सक्छ।
यो रोगले अन्य अंगमा झैं बालबालिकाको आँखामा पनि असर पार्न सक्छ। यस्तो किसिमको क्यान्सरलाई रेटिनोब्लास्टोमा भनिन्छ। यसलाई सरल रूपमा आँखाको क्यान्सर भनेर बुझिन्छ। आँखाको क्यान्सर विशेषज्ञ तथा अकुलोप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ। यो वंशाणुगत पनि हुन सक्छ। समयमै उपचार गर्दा यो निको हुन्छ। तर उपचारमा ढिलाइ गर्दा आँखाको क्यान्सर फैलिएर ज्यानसमेत जान सक्छ।
लक्षणहरू
· आँखाको नानीको कालो भागमा सेतो टीका देखिने
· असामान्य रूपमा आँखा रातो हुने
· आँखाको आकार ठूलो हुने
· आँखाको डेढोपना हुने
यस रोगले असर गरेका बाबुआमाबाट जन्मेका सन्तानलाई यो समस्या हुने सम्भावना बढी हुन्छ। पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा यो रोग देखा पर्न सक्छ। आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिन्छ। उपचारमा ढिलाइ गरे बिरामीको आँखा नै निकाल्नुपर्ने हुन सक्छ।
परीक्षण
· अल्ट्रासाउन्ड
· आँखा र मस्तिष्कको सिटी स्क्यान
· एमआरआई
चिकित्सकको जाँचपछि आँखाको क्यान्सरको आकार, फैलावट र एउटा वा दुवै आँखा प्रभावित भएको भन्ने पत्ता लाग्छ। कहिलेकाहीँ एकभन्दा बढी उपचार पद्धति एकैपटक वा धेरैपटक चाहिन सक्छ।
उपचार
· लेजर
· क्रायोथेरापी
· केमोथेरापी
· रेडियोथेरापी
· शल्यक्रिया
डा. राजकर्णिकारका अनुसार वार्षिक ३५ देखि ४० को संख्यामा आँखाको क्यान्सर भएका बालबालिका उपचारका लागि आउने गरेका छन्। पहिले उपचारका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था थियो। तर अहिले नयाँ प्रविधि प्रयोग गर्न थालिएको छ। शल्यक्रिया नगरीकन पनि उपचार गर्न सकिन्छ। नयाँ प्रविधि काठमाडौंमा रहेको तिलगंगा आँखा प्रतिष्ठानमा छ। ‘छिटो उपचार गर्न आउने हो भने उपचार पनि त्यहीअनुसार सरल हुन्छ। आँखा पनि जोगिन्छ। ज्यान पनि जोगिन्छ’, डा. स्थापितले भनिन्।
पहिले क्यान्सर भएको आँखा निकालिहालिन्थ्यो। ज्यान बचाउन बच्चा अस्पतालमा आउनेबित्तिकै आँखा निकाल्नुपर्ने बाध्यता थियो। तर, अहिले उपचारविधिमा नयाँपन आएका कारण आँखा पनि जोगिने र ज्यान पनि जोगिने गरेको छ।
प्रतिष्ठानका अकुलोप्लास्टिक सर्जन डा. बेन लिम्बू आँखामा हुने क्यान्सरबारे धेरैलाई थाहा नहुँदा ढिलो गरी उपचार गर्न आउने बताउँछन्। शिक्षा र जनचेतनाको अभावले बिरामीहरू ढिलो आउने गरेका छन्। त्यस्तै आर्थिक अभावका कारण उपचार गर्न हिचकिचाउने गरेको पाइएको छ। डा. लिम्बूका अनुसार बिरामी ढिलो आउँदा उपचारमा जटिलता आई आँखा नै निकाल्नुपर्ने हुन्छ। आँखा निकालेपछि नक्कली आँखा राख्नुपर्ने हुन्छ।
पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीको बीचमा सेतो टीका देखिएमा सजग हुनुपर्छ। असामान्य रूपमा आँखा रातो भएमा वा डेढोपना देखिएमा तुरुन्त आँखाको परीक्षण गर्नुपर्छ। समयमै रोगको निदान र उपचार गरे आँखाको ज्योति गुम्न पाउँदैन। आँखा र जीवन जोगाउन सकिन्छ।