बालकथा : सुरी र फुरी
दुइटा बिराला थिए। तिनीहरू एउटै कक्षामा पढ्थे। एउटाको नाम सुरी, अर्कोको नाम थियो फुरी। स्कुल छट्टी हुनेबित्तिकै सुरी घर जान्थ्यो र आमाले पकाएको मालपुवा र सेल खान्थ्यो। तर फुरी घर जाँदैनथ्यो। ऊ खोलातिर जान्थ्यो।
खोलामा भालुले माछा मारेको फुरीले हेरिरहन्थ्यो। उसले भालुलाई मामा भनेर बोलाउँथ्यो। धेरै माछा मारेको बेलामा भालुले उसलाई माछा दिन्थ्यो। फुरी माछा लिएर घर जान्थ्यो। आमाले माछा पोलेर खान दिन्थिन्। एक दिन स्कुल छुट्टी भएपछि फुरीले सुरीलाई भन्यो, ‘ए, सुरी। खोलामा जाने हो ? ’
‘नाइँ, म त जान्नँ। घरमा आमाले पर्खिरहनु भएको छ,’ सुरीले भन्यो।
‘खोलामा भालु मामाले माछा दिनुहुन्छ। जाऊँ न। बरु चाँडै फर्कौंला,’ फुरीले भन्यो।
‘भयो, आमासँग सोधेर आउँछु। अनि जाउँला,’ सुरीले भन्यो।
त्यो दिन खोलामा पुग्दा भालुले धेरै माछा मारेको फुरीले देख्यो। भालुले माछालाई डोरीमा उन्दै माला जस्तो बनाउँदै थियो।
‘नमस्ते मामा,’ फुरीले हात जोड्दै भन्यो। ‘आज त धेरै माछा मार्नु भएछ नि।’ ‘हो, भाञ्जा। त्यसैले तिमीलाई पर्खेर बसेको नि। लौ कति वटा माछा बोक्न सक्छौ लैजाऊ।’ भालु मामाको कुरा सुनेर फुरी दंग पर्यो। उसले भन्यो, ‘मेरो साथी सुरीलाई पनि सँगै ल्याउन खोजेको थिएँ। तर आउन मानेन। आमासँग सोधेर मात्रै आउँछु भन्यो। भोलि ल्याउँछु है ? ’
‘भइहाल्छ नि,’ भालुले भन्यो। ‘सुरीले आमाको कुरा मान्ने रहेछ। ऊ असल रहेछ। तिम्रो भागको एउटा माछा उसलाई पनि लगिदेऊ है।’
फुरीले आफ्नो लागि एउटा ठूलो माछा रोज्यो। भालुले अर्को ठूलो माछा सुरीलाई दिनू भनेर फुरीलाई दियो। दुइटा माछा काँधमा बोकेर फुरी घर फर्कंदै थियो। बाटोमा कौवाले उसलाई देख्यो। फुरीले माछा बोकेको देखेर उसलाई खान मन लाग्यो। कौवाले टाढैबाट भन्यो, ‘ओहो, फुरी भाइ, कहाँ हराएका थियौ तिमी। एक छिन बसेर कुरा गरौं न।’
कौवाको कुरा सुनेर फुरी मक्ख पर्यो। बाटोको छेउमा बस्दै उसले भन्यो, ‘आज भालु मामाले मलाई दुइटा माछा दिनुभयो। उहाँले मलाई जहिले पनि माछा दिनुहुन्छ।’
‘ए, हो र ! कस्तो माया गर्ने मामा रैछ !’ कौवाले भन्यो। ‘एउटा माछा मलाई देऊ न है।’
‘हुन्न। यो माछा त भालु मामाले मेरो साथी सुरीको लागि दिएको हो,’ फुरीले भन्यो।
‘मामाले माछा दिएको कुरा तिम्रो साथी सुरीलाई थाहा छ त ? ’ कौवाले सोध्यो।
‘थाहा छैन,’ फुरीले भन्यो।
‘उसले भोलि माछा खान पाइहाल्छ,’ कौवाले भन्यो। ‘उसलाई मामाले माछा दिएको कुरा नभने भइहाल्यो नि। बरु म तिमीलाई एउटा मुसा ल्याइदिन्छु, हुँदैन ? ’
मुसा खान पाउने कुरा सुनेर फुरीको मन लोभियो। उसले भन्यो, ‘त्यसो भए मामाले सुरीलाई माछा दिएको कुरा कसैलाई नभन है त ? ’
फुरीले कौवालाई एउटा माछा दियो। कौवा खुसी हुँदै माछा लिएर घरतिर उडेर गयो। एउटा माछा लिएर फुरी आफ्नो घर गयो। अरू दिनभन्दा ठूलो माछा ल्याएकोमा फुरीकी आमा दंग परी।
भोलिपल्ट स्कुलमा सुरीसँग भेट हुनेबित्तिकै फुरीले भन्यो, ‘सुरी, आज खोलामा जाने है। भालु मामाले माछा दिनुहुन्छ। हिजो ...’
हिजो भालु मामाले उसको लागि पनि एउटा ठूलो माछा दिएको कुरा उसको मुखबाट निस्कनै लागेको थियो। तर उसले भनेन।
‘हिजो के भयो ?भन्दा भन्दै किन रोकिएको ? ’ सुरीले सोध्यो।
‘केही होइन,’ फुरीले भन्यो। ‘हिजो भालु मामाले धेरै माछा मार्नु भएको थियो। मलाई जत्ति लगे पनि लैजाऊ भन्नुभयो। मैले ठूलो माछा रोजेर घर लगेँ। आमा खुसी हुनुभयो। तिमी गएको भए तिमीले पनि पाउँथ्यौ।’
‘स्कुल छुट्टी भएपछि जाउँ न त। मैले आमासँग सोधेको छु,’ सुरीले भन्यो। ‘आमाले पानीमा नपस्नु, टाढै बस्नु भन्नु भएको छ।’
छुट्टी भएपछि सुरी फुरीसँग खोलामा गयो। उनीहरू सरासर भालु भएको ठाउँमा गए। भालु माछा समात्न व्यस्त थियो।
‘नमस्ते, भालु मामा,’ दुवैले भने।
‘नमस्ते, तिम्रो साथी सुरी यही हो ? ’ भालुले सोध्यो।
‘हो मामा।’ फुरीले भन्यो।
‘आमासँग सोधेर आएको हो ? तिमी त ज्ञानी रहेछौ,’ भालुले भन्यो। ‘हिजो माछा खायौ ? कस्तो लाग्यो ? तिम्री आमाले माछा पकाएर ख्वाइन् कि पोलेर ख्वाइन् ? ’
भालुको कुरा सुनेर सुरीलाई अचम्म लाग्यो। उसले भन्यो, ‘मामा, म हिजो आएकै थिइन। कसरी माछा खानु ? ’
सुरीको कुरा सुनेर भालुलाई अनौठो लाग्यो। उसले भन्यो, ‘तिमीलाई दिनू भनेर मैले फुरीलाई एउटा ठूलो माछा दिएको थिएँ। उसले दिएन ? ’
‘खै मैले त पाइन मामा,’ सुरीले फुरीतिर हेर्दै भन्यो।
‘यो फुरी कस्तो बदमास रहेछ। साथीलाई दिएको माछा पनि खाने ? ’ भालुले रिसाउँदै भन्यो। ‘पख, यसको कान समात्छु। यसलाई बेइमानी गरेको सजाय दिन्छु।’
भालुले फुरीको कान समात्न खोज्यो तर ऊ नजिक थिएन। भालु रिसाएको देखेर ऊ डरले त्यहाँबाट भागिसकेको थियो।
सुरी पनि डरायो। तर उसले गल्ती नगरेको हुँदा ऊ भागेन।
ऊ बिस्तारै फर्कन लाग्दै थियो। भालुले भन्यो, ‘पर्ख भाञ्जा। डराउनु पर्दैन। गल्ती उसले गरेको हो। तिमी किन डराउँछौ। लौ यी माछा लिएर जाऊ। एउटा तिमीलाई, एउटा तिम्री आमालाई। आमालाई मीठो गरेर पकाऊ भन है।’
माछा लिएर सुरीले भालुलाई धन्यवाद दियो र घरतिर लाग्यो। बाटोमा कौवाले उसलाई देख्यो। कौवाले टाढैबाट भन्यो, ‘ओहो, सुरी भाइ, सञ्चै छ ? फुरी खै त ? एक छिन बसेर कुरा गरौं न।’
‘मलाई हतार छ। आमाले पर्खिरहनु भएको छ। फुरी अघि नै फर्किसक्यो,’ सुरीले भन्यो।
‘तिमीसँग दुइटा माछा रहेछ। एउटा माछा मलाई देऊ न,’ कौवाले भन्यो। ‘हिजो फुरीले पनि एउटा माछा दिएको थियो। कस्तो मीठो थियो।’
‘हिजो भालु मामाले मलाई भनेर दिएको माछा तिमीले खाएका रैछौ हैन ? बल्ल थाहा पाएँ,’ सुरीले भन्यो। ‘भालु मामा कस्तो रिसाउनु भयो। फुरीलाई झन्डै मार्नु भएन। तिमीलाई दिएँ भने त मामाले मलाई फेरि कहिल्यै माछा दिनुहुन्न।’
‘तिमीले माछा दिएको कुरा कसैलाई भन्दिन नि,’ कौवाले भन्यो।
‘अहँ, हुन्न। त्यसरी ढाँट्नु हुन्छ ? ’ सुरीले भन्यो।
‘माछा नदिएसम्म म तिमीलाई घर जान दिन्न,’ कौवाले सुरीको बाटो छेक्दै भन्यो। उसले सुरीको हातको माछा खोस्न खोज्यो।
‘पख, पख। बदमास कौवा। ए, सुरी त्यसलाई समात,’ अचानक फुरी त्यहाँ आइपुग्यो। उसले भन्यो, ‘मलाई बेइमान बनाउने यही बदमास हो। यसलाई समातेर भालु मामाकहाँ लैजान्छु।’
फुरीलाई देखेर कौवा डरायो। ऊ उडेर रूखको हाँगामा बस्यो। फुरीले सुरीको हात समात्दै भन्यो, ‘मलाई माफ गर सुरी। हिजो भालु मामाले तिमीलाई दिनू भनेर दिएको माछा यही कौवाले खाइदियो। मसँग मीठो कुरा गरेर मलाई फकायो। अबदेखि यसको कुरा नसुन्नु। म पनि सुन्दिनँ।’
त्यसपछि सुरी र फुरी घर गए। सुरीकी आमाले तोरी फुराएर माछा पकाइन्। उनले सुरी र फुरी दुवैलाई च्युरा र माछा खान दिइन्।