नेपालमा मात्रै पाइने काँडेभ्याकुर

नेपालमा मात्रै पाइने काँडेभ्याकुर

धादिङ : भाइबहिनी हो, आज म तिमीहरूलाई नेपालमा मात्रै पाइने काँडेभ्याकुर चराको बारेमा जानकारी दिँदैछु। विश्वमै दुर्लभ यो चरा नेपालको पनि धादिङलगायत केही सीमित ठाउँहरूमा मात्रै पाइन्छ।

नेपाली नाम काँडेभ्याकुर भए पनि यसलाई अंग्रेजीमा स्पिनी ब्याब्लर भनिन्छ। पन्छीहरूको परिवारमध्ये लियोथ्रिचिडाइ परिवारमा पर्ने काँडेभ्याकुरको वैज्ञानिक नाम एक्यान्थोप्टिला नेपालेन्सिस हो।

विश्वभर नेपालमा मात्रै यो पन्छाी पाइन्छ। नेपालको पहाडी जिल्ला धादिङका विभिन्न सामुदायिक वनहरू, ललितपुर जिल्लाको गोदावरी, फुल्चोकी, काठमाडौंको चन्द्रागिरिलगायतका क्षेत्रहरूमा यो चरा पाइन्छ। काँडेभ्याकुर सामुद्रिक सतहबाट नौ सय १५ देखि २१ सय ३५ मिटरसम्मको उचाइमा बस्ने गर्छन्।

वनभित्रको झाडी तथा घाँसे मैदानहरूमा बस्न रुचाउने यो चराले आफ्नो गुण गहिरो चिया खाने कपको आकारमा बनाएको हुन्छ। यो चराले अन्डा पार्ने सिजन वैशाख महिनादेखि असारसम्म हो। एक सिजनमा तीनदेखि पाँच वटासम्म अन्डा पार्छ र त्यही अन्डाबाट चल्ला कोरल्ने गर्छ।

चरा विज्ञहरूका अनुसार काँडेभ्याकुरलाई दुर्लभ तथा लोप हुने जोखिमयुक्त चराहरूको सूचीमा राखिएको छ। सन् १८३६ मा हग्डसनमा वैज्ञानिकले काँडेभ्याकुरको सम्बन्धमा अध्ययन अनुसन्धान सुरु गरेका थिए। अहिले पनि विभिन्न ठाउँहरूमा यसको अध्ययन/अध्यापन र अनुसन्धानहरू भइरहेका छन्।

धादिङको सिद्धलेक गाउँपालिकाले पनि काँडेभ्याकुर संरक्षणको लागि पहल सुरु गरेको छ। गाउँपालिकाले काँडेभ्याकुरको संरक्षण र संवद्र्धनको लागि बजेट छुट्ट्याएर स्थानीय, वन उपभोक्ता र बालबालिकालाई काँडेभ्याकुरको महत्त्वबारे अभिमुखीकरण कार्यक्रमहरू चलाइरहेको छ।

चराविज्ञ हठनराम महतोले सिद्धलेक गाउँपालिकाको वडा नं २ ढेवालेकको जंगलमा अधिक पाइने काँडेभ्याकुरको लामो समय अध्ययन गरेका थिए। उनले सिद्धलेकका वनहरूमा चहारेर काँडेभ्याकुरको चल्ला कोरल्ने समय, यसको खानपान, बस्ने ठाउँलगायतको विषयमा अध्ययन गरेपछि सिद्धलेक गाउँपालिकाले यसको संरक्षणको लागि चासो देखाएको थियो।

विश्वमै दुर्लभ हुँदै गएको काँडेभ्याकुर र अरू धेरै प्रजातिका चराहरू नेपालमा मात्रै पाइन्छ। त्यसैले इको टुरिजम र पर्यटन क्षेत्रलाई जोडेर यसको संरक्षण गर्न सकेमा नेपालले धेरै फाइदा लिन सक्ने चराविज्ञ हठनरामले बताए।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले भने, ‘नेपालका सीमित क्षेत्रहरूमा मात्रै पाइने दुर्लभ चरा काँडेभ्याकुर हाम्रो गाउँपालिकाको जंगलमा रहेको कुरा चरा विज्ञहरूले नै पुष्टि गरिसक्नुभयो। हामीले यसको संरक्षणको लागि सक्रियता देखाएका छौं।’

काँडेभ्याकुर संरक्षण अभियन्ता शिव सिलवालका अनुसार काँडेभ्याकुर संरक्षण गर्नको लागि विद्यालयमै गएर सचेतनामूलक कार्यक्रमहरू गरिँदै आएको छ। सिलवालले भने, ‘बालबालिकालाई चरा मार्न नहुने, गुँडको संरक्षण गर्नुपर्नेलगायतका कुराहरू जानकारी गराउँदै आएका छौं।’

चरा संरक्षणका लागि सिद्धालेक गाउँपालिका वडा नं २ ले ढेवालेकमा गुलेली निषेध गरेको छ। वडा नम्बर २ का अध्यक्ष कमल गुरुङले भने, ‘काँडेभ्याकुरको नाम जोडेर हामी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैछौं। हामीले काँडेभ्याकुरको संरक्षण गर्न सक्यौं भने भावी पुस्ताहरूको लागि यो अध्ययनको क्षेत्र पनि बन्न सक्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.