दुना टपरीमा रमाउँदै विद्यार्थी
झापा : म्याम यो पात उल्टो राख्ने कि सुल्टो भन्दै शिक्षिका मीरा पोखरेलसँग विद्यार्थी सोध्दै थिए। करिब दुई दिनको प्रयासपछि उनीहरू टपरी गाँस्न करिब करिब जान्ने भइसकेका थिए।
कक्षा ६, ७ र ८ मा पेसा, व्यवसाय र प्रविधि विषयअन्तर्गतको ५० नम्बरको व्यावहारिक शिक्षा हुन्छ। मेचीनगर–९ स्थित कविशिरोमणि माविकी शिक्षिका पोखरेलले दुना टपरी गाँस्न सिकाउँदै आएकी छन्। उनले उक्त विद्यालयका ६, ७ र ८ कक्षाका विद्यार्थीलाई लोपोन्मुख हुँदै गएको सालको पातको दुना टपरी गाँस्न सिकाएकी हुन्।
पछिल्लो समय गाउँघरमा पनि जंगल जाने, पात टिपेर ल्याउने र गाँस्ने चलन हराउँदै गएको छ। हाटबजारमा गाँसेकै दुना टपरी पाइने हुँदा झन्झट गर्नुभन्दा किन्दा पाइन्छ भन्ने सोचाइ विकसित हुँदै गइरहेको छ। विद्यार्थीलाई दुना टपरी गाँस्ने र बत्ती कात्न सिकाउँदा शताब्दीदेखि चलिआएको आफ्नो संस्कृति र परम्परा पनि जीवित रहने पोखरेलले बताइन्।
‘सुरुमा त पात उल्टो सुल्टो कसरी लिने पनि थाहा थिएन, अहिले त कक्षामा अरू साथीहरूलाई पनि सिकाउँछु’, कक्षा ७ की क्रिशला दाहालले बताइन्। घरमा उनकी आमालाई पनि नआउने भएकाले अहिले उनले आमा र गाउँको समूहलाई शनिबार सिकाउने गरेकी छन्।
अर्का विद्यार्थी विवेक राजवंशीले कनिकुथी पात उल्टोसुल्टो लगाउन सिकिसकेका थिए। ‘सिक्दै छु, गाँस्दै जाँदा कहिले टोपी जस्तो हुन्छ कहिले छाता जस्तो हुन्छ’, हाँस्दै उनले भने। विद्यालयका प्राचार्य कृष्णप्रसाद आचार्यले लोप हुँदै गएका सीपलाई प्राथमिकतामा राखेर यसै वर्षदेखि यो विषय पढाउन थालिएको बताए।
आखिर झापामा जंगल नजिकै छन्। अनि सालको पात टिपेर ल्याउन कुनै त्यस्तो समस्या छैन। आर्थिक अवस्था कमजोर र आर्थिक अवस्था सबल भएका जोकोहीले पनि यो काम गर्न सक्छन्। आफूसँग भएको अतिरिक्त समयमा यो काम गरेर जोकोही आर्थिक रूपमा सबल बन्न सक्ने शिक्षिका पोखरेल बताउँछिन्।
अहिले विद्यार्थीले गाँसेका दुना टपरी नजिकैको मन्दिरमा दिइने गरेको छ। कक्षाका सबै विद्यार्थीले राम्रैसँग गाँस्न थाले भने दुना टपरी बजारमा लगेर बिक्री पनि गर्ने गव्यवस्था मिलाइने छ। त्यो पैसा विद्यार्थीकै प्रयोजनमा खर्च गरिने छ। ‘प्रशस्त किन्न खोज्दा भेटिँदैन। टपरी प्रतिगोटा १० देखि १५ रुपैयाँ र दुना प्रतिगोटा पाँच रुपैयाँ पर्छ। विद्यार्थीले यसलाई एउटा पेसाकै रूपमा पनि अपनाउन सक्छन् भनेर सिकाउन सुरु गरिएको हो’, शिक्षिका पोख्रेलले भनिन्।
विद्यालयले दुनाटपरीसँगै बत्ती कात्न पनि सिकाएको छ। बत्ती कात्न धेरैले जानिसकेका छन्। अब उनीहरूलाई पर्दा मज्जाले काम चलाउँछन्। एक लाख बत्ती किन्दा अहिले १० देखि १२ हजार रुपैयाँ तिर्नुपर्छ। फुर्सदको समयमा यो काम गर्न सके विद्यार्थीले आफ्ना लागि खर्च पनि निकाल्न सक्छन्।