‘मिस्टर कर्न’मा मकैका परिकार

‘मिस्टर कर्न’मा मकैका परिकार

काठमाडौं : मकैको परिकार भन्नासाथ तपाईं के सम्झिनुहुन्छ ? पोलेको मकै, उसिनेको मकै, भुट्दा ठेट्ना नहुने मुरली वा फूल नउठ्ने डाइनु मकै। कसै कसैको मानसपटलमा यो सुन्नासाथ मकैको च्याँख्ला आउन सक्छ। कसैले मकैको ढिँडो पनि सम्झिन सक्छन्। मकैको परिकार यतिमा मात्र सीमित छैन। हालै काठमाडौंको चाबहिल चोकैमा मकैको मात्र परिकार पाउने रेस्टुरेन्ट ‘मिस्टर कर्न’ खुलेको छ। जहाँ मकैका अन्य थुप्रै परिकार खान पाइन्छ।

त्यहाँ अमेरिकन कर्न, बोयल कर्न, स्विट कर्न, मकै पकौडा पाइन्छ। साथै कर्न मम, कर्न चाउमिन, कर्न थुक्पा, कर्न डग्सको स्वाद लिन पाइन्छ। त्यहाँ मकैको अचार, तरकारी र सुप बन्छ। अर्डर अनुसार मकैको ढिँडो र भात पनि खान पाइने उक्त रेस्टुरेन्टमा मकैको चिया पनि बनाउने तयारी भइरहेको रेस्टुरेन्टका दुर्गाबहादुर सुवेदीले बताए।

रेस्टुरेन्टका मालिक धनकुटाका सुवेदी र मोरङका राजकुमार अधिकारीको जग्गा किनबेचको शिलशिलामा चिनजान भएको थियो। सुवेदी त्यसबेला पनि जग्गाको कारोबार गर्थे। अधिकारीले उनीसँगै जग्गा किने। हाल उनीहरू महालक्ष्मी सानागाउँ ललितपुरमा छिमेकी भएर बसेका छन्। त्यसबेला उनीहरू सँगै मर्निङ वाक जान्थे। उनीहरूबीच घनिष्टता झन् बढ्दै गयो। यसैक्रममा सँगै केही नयाँ काम गर्ने चर्चा हुन थाल्यो। उनीहरूले सल्लाह गर्दै गए।

वैदेशिक रोजगारीको शिलशिलामा कुबेत र साउदीमा गरी ५ वर्ष रेस्टुरेन्टमा काम गरेर फर्केका सुवेदीले ललितपुरमा पनि रेस्टुरेन्ट चलाए। केही वर्षपछि उक्त रेस्टुरेन्ट बेचे। अधिकारी सिभिल इन्जिनियर हुन्। फरक पेसा अँगालेका उनीहरू एउटै काम गर्ने सोचमा थिए। एकदिन पोलेको मकै खान उभिएका बेला पालो आउन निकै समय कुनुपरेपछि उनीहरूमा नयाँ आइडिया फु¥यो। मकैको परिकार मात्रै पाउने रेस्टुरेन्टबारे अध्यन गर्ने र चाँडै खोल्ने। ‘हामीले यसबारे सल्लाह माग्न कतिपय साथीभाइ र आफन्तलाई सुनायौं। बर्गर र पिजाको जमानामा मकैको परिकार पनि चल्छ र ! भन्दै धेरैले खिल्लीसमेत उडाएको उनीहरू बताउँछन्।

‘मिस्टर कर्न’ नाम दिइएको उक्त रेस्टुरेन्ट गत चैत २४ बाट सुरु भएको हो। ‘यसमा मकैको मात्र परिकार बनाउने, मिस्टर कर्नलाई चेनको रूपमा विकास गर्ने हाइजेनिक खाना खुवाउने लक्ष्य राखिएको छ’, अधिकारीले भने, ‘यहाँ धेरैजसो बजारमा पाइने सामान्य खाले मकैकै प्रयोग हुन्छ। स्विट कर्नलगायत परिकारका लागि छोडाएर अनि चिस्याएर राखिएको मकै विदेशबाट पनि आउँछ।’

रेस्टुरेन्टमा हाल जापानमा काम गरेर फर्किएका एक जना र अन्य केही कामदार कार्यरत छन्। धेरैजसो मकैका परिकार युट्युबमा हेरेर पनि पकाउन सिक्दै गरेको सुवेदीले सुनाए। परिकारबारे खोज्ने क्रममा उनीहरुले संसारमा कतिपय मुलुकमा मकैका परिकार पाउने प्रख्यात रेस्टुरेन्ट रहेको थाहा पाए। ‘त्यसले हामीलाई उत्साहित बनायो। आँट दियो’ उनीहरुले सुनाए।

मकै पोलेर, उसिनेर र पकाएर बनाएको परिकार अन्यत्र पनि पाइन्छ। ‘नयाँ तरिकाले नयाँ परिकारको स्वाद चखाउँ भन्ने सोच लिएका छौं ’, उनीहरू भन्छन्। मकैको परिकार मात्र पाइने रेस्टुरेन्ट भनिए पनि कतिपय परिकारमा मकै केबल मिसाएको जस्तो मात्रै पाइयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै उनीहरूले भने ‘सुरुमा हामी पनि प्रयोग गरिरहेका छौं। हामीले त्यत्रो ठूलो काम पनि गरेको जस्तो लागेको छैन। सिकिरहेका छौं। मकैका स्वस्थकर खानेकुरा बनाएर चखाउँ भन्ने हाम्रो चाहना छ।’

रेस्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने गरेको छ। त्यहाँ २० देखि तीन सय रुपैयाँसम्मका परिकार पाइन्छन्। रेस्टुरेन्ट सञ्चालनमा करिब १० लाख रुपैयाँ लागेको उनीहरू बताउँछन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.