आधुनिक सीप सिक्दै राउटे
सुर्खेत : राउटे समुदायका महामुखिया महिनबहादुर शाहीका छोरा शिवराज ३१ वर्षका भए। उनी काठका कोसी, आरी खाट र मधुस बनाउने काम गर्छन्। तर, पुर्खाबाट सिकेको यो सीपले बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको उनको भनाइ छ। त्यसैले उनले सामान बनाउन नयाँ सीप सिक्न थालेका छन्।
राउटे मुखिया वीरबहादुर शाहीका छोरा बिर्खबहादुर शाही सानै छन्। उनी पनि नयाँ सीप सिकिरहेका छन्। बन्चरो, बसुल्लो र छिनोको प्रयोगले काठका भाँडाकुँडा बनाउने राउटे युवा आधुनिक औजारतर्फ आकर्षित हुन थालेका छन्। १३ राउटे युवाले दैलेखमा नयाँ प्रविधि र आधुनिक औजार चलाउने तरिका सिकिरहेका हुन्। गुराँस गाउँपालिका र डिभिजन वन कार्यालयसँगको समन्वयमा सोसेक दैलेखले तालिम दिइरहेको छ।
आधुनिक औजार चलाउन पाएपछि राउटे युवा उत्साहित बनेका छन्। ‘यो आरा र रन्दा त हामीले कहिल्यै चलाएका थिएनौं’, शिवराजले भने, ‘बन्चरोले काठ काट्दा धेरै खेर जान्थ्यो। आरा प्रयोग गर्दा काठको बचत हुने रहेछ।’
नयाँ प्रविधिबाट काठका भाँडा र सामग्री बनाउँदा आकर्षक हुने र बिक्री पनि हुने उनको विश्वास छ। ‘नयाँ पुस्तामा सिक्ने तीव्र चाहना छ’, प्रशिक्षक झलककुमार विकले भने, ‘राउटेको सीप संरक्षण गर्दै हामीले नयाँ प्रविधि सिकाइरहेका छौं।’ परम्परागत रूपमा काठका सामान बनाउने राउटे समुदायले आधुनिक सीप सिक्न थालेका छन्। जंगलमा फिरन्ते जीवन बिताउँदै आएको यस समुदायका युवा आधुनिक औजार चलाउन सिक्दै छन्। गुर्भाकोटस्थित बेतेनी खोला किनारमा बस्दै आएका उनीहरूले तालिम लिएर सीप सिकिरहेका छन्।
यो समुदायले जंगलमा काठका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएको छ। उनीहरूसँग काठका भाँडाकुँडा बनाउन परम्परागत कला, सीप छ। तर, परम्परागत सीपबाट बनाइएका सामग्री बिक्न छाडेपछि उनीहरूले आधुनिक औजार चलाउन तालिम लिइरहेका हुन्।
काठ खेर जाने र जंगल धेरै मासिने भएकाले आधुनिक प्रविधितर्फ राउटेलाई आकर्षित गर्न लागिएको सोसेकका दैलेख अध्यक्ष हीरासिंह थापाले बताए। राउटेले आधुनिक औजारबाट काठ चिर्ने, टुक्रा पार्ने र त्यसमा रन्दा लगाउने सीप सिकिरहेका हुन्। दैलेख, सुर्खेत, सल्यान र दाङलगायत जिल्लामा बसोबास गर्दै आएका राउटे समुदायमा १ सय ४६ जना छन्।