दुस्साहसी संयम
बास्केटबल खेल्दाखेल्दै संयमले कयौं पटक असह्य पीडा खेपे। ६ पटक त हात नै भाँचियो। खुट्टा र हातका औंला त कति पटक मर्किए। तर पनि उनले खेलकुदको मोहलाई त्याग्न सकेनन्। अस्पतालको शय्यामा रहँदा पनि बास्केटबल भन्नासाथ उनको खुट्टा सल्बलाइहाल्थ्यो।
संयम चापागाईं १२ वर्षका भए। वसुन्धारा नेसनल एकेडेमी (बीएनए) मा कक्षा ८ मा अध्ययनरत संयमलाई दुस्साहसी नै मान्नु पर्दछ। संयम बास्केटबल भनेपछि हुरुक्कै हुन्छन्। बास्केटबल खेल्दाखेल्दै उनले कयौं पटक असह्य पीडा खेपे। ६ पटक त हात नै भाँचियो। खुट्टा र हातका औंला त कति पटक मर्किए, त्यसको लेखाजोखा उनले राखेका छैनन्। भाँचिएको हात बोकेर अस्पतालको शय्यामा लडिरहँदा पनि उनी बास्केटबललाई सम्झिरहेका हुन्थे।
बास्केटबल खेल्दा थुप्रै पटक अकल्पनीय घटना बेहोरे पनि त्यसले एकदिन आफूलाई सफल खेलाडी बनाउने संयमको विश्वास छ। ‘खेल्दा कहिलेकाहीँ चोटपटक त लागिहाल्छ’ संयम भन्छन्, ‘कहिलेकाहीँ चोट लाग्यो भन्दैमा खेल्नै छाड्नु त भएन नि !’
खेल्दाखेल्दै ६ पटक हात भाँचिँदा दुई पटक त गम्भीर अपरेसन नै गर्नुपर्यो। यसका कारण ६ महिनाभन्दा बढी उनी अस्पतालमा बस्नुपर्यो। लामो समय अस्पताल बस्दा अलि बिस्तारै खेलेको भए अस्पतालमा बस्नु पर्दैन्थ्यो कि भनेर पनि सोच्थे उनी।
संयमको हातको सामान्य प्लास्टर चार पटक भएको छ। अहिले पनि उनको दुवै हातमा स्टिल राखिएको छ। सामान्य घाइते त कति भए कति, त्यसको हिसाब न उनले राखेका छन्, न त उनकै परिवारले।
यति दुःख पाउँदा पनि उनले बास्केटबल खेल्न छाडेका छैनन्। उनलाई परिवारले पनि बास्केटबल नखेल भन्न सकेको छैन। ‘छोरा अरू नै क्षेत्रमा लागे हुन्थ्यो भन्ने छ। तर, अरूमा भन्दा बास्केटबलमै बढी इन्ट्रेस्ट भएकाले ६ पटक हात भाँचिँदा पनि रोक्न सकिएको छैन’, संयमका बुवा टंककुमार चापागाईं भन्छन्, ‘उसको बास्केटबलप्रतिको मोह देखेर हामी पनि नतमस्तक भएका छौं।’
खेलकुदमा लागे पनि संयमको पढाइ अहिलेसम्म राम्रौ रहेको बीएनएका प्रिन्सिपलसमेत रहेका टंककुमारले बताए। ‘पढाइ नबिगार्ने सर्तमा संयमलाई बास्केटबल खेल्न दिइएको हो’ उनी भन्छन्, ‘अहिलेसम्म उसको पढाइ पनि राम्रो नै छ। त्यही भएर पनि खेल्नबाट रोक्न सकिएको छैन।’
संयम सानोमा आफूभन्दा ठूला दाइहरूले खेलेको हेरिरन्थे। आफूले पनि एकदिन त्यसरी नै कहिले खेल्ने होला भनेर कल्पना गरिरहन्थे। बल कोर्ट बाहिर गयो कि उनी लिन कुदिलाल्थे। यही मोहले उनलाई बास्केटबलले तान्दै लग्यो। विद्यालयका बास्केटबल प्रशिक्षक राजु तामाङले पनि संयमको रुचि थाहा पाएर उनलाई खेल्न प्रोत्साहन गरे। ‘पहिलो पटक बास्केटबल ‘ड्रिब्लिङ’ गर्न पाउँदा औधी खुसी भएको थिएँ’, संयमले विगतलाई सम्झँदै भने ‘सिनियर दाइहरूले जस्तै खेल्न सक्छु भन्ने आँट पनि पलायो।’
बल बोकेर कोर्ट छिरेको केही समयपछि नै संयम राम्रो खेलाडी भइसकेका थिए। उनले बीएनएको जुनियर टोलीमा रहेर थुप्रै प्रतियोगिता पनि खेले। उनकै प्रेरणाले विद्यालयले एन्जल हार्ट, ओडीसी, लालीगुराँस, भद्रकाली, स्किब्स र बीएनए कपको उपाधि पनि जित्यो। संयमले यी प्रतियोगितामा बेस्ट थ्री प्वाइन्टर र हाई स्कोरर बन्न सफल भए। दुई कक्षा पढ्दादेखि बास्केटबल खेल्न थालेका संयम अहिले बीएनएका महŒवपूर्ण खेलाडी हुन्।
संयम बास्केटबलको राष्ट्रिय खेलाडी बन्न चाहन्छन्। राष्ट्रिय खेलाडी बन्नका लागि आफू जतिसुकै दुःख भोग्न पनि तयार रहेको उनी बताउँछन्। झापाका स्थायी बासिन्दा संयम गीत गाउन पनि मन पराउँछन्। उनले चार वर्षदेखि गायन र वाद्यवादन सिक्दै आएका छन्। संयम गीत गाउन र मादल, हार्मोनियम र किबोर्ड बजाउन पनि सिपालु छन्। तर, उनलाई गीतसंगीत र वाद्यवादनभन्दा बास्केटबल नै प्यारो लाग्छ। ‘गीतसंगीत, वाद्यवादन र बास्केटबलमध्ये एउटा छान्नु परेमा बास्केटबल नै रोज्छु’, संयम भन्छन्।
टंककुमारका दुई सन्तानमध्ये संयम कान्छा छोरा हुन्। उनका जेठा छोरा संयोग अहिले मेडिकल साइन्सको तयारी गरिरहेका छन्।