राजधानीमा बम आतंक : चारको मृत्यु, आठ घाइते

राजधानीमा बम आतंक : चारको मृत्यु, आठ घाइते

काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आइतबार साँझ राजधानीमा शृङ्खलाबद्ध बम विस्फोट गराएको छ।  काठमाडौंको सुकेधारा, घट्टेकुलो र थानकोटमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ। विस्फोटमा परी आठजना घाइते भएका छन्।

सुकेघारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो। दुबै घटनामा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीको प्रारम्कि अनुसन्धानले देखाएको छ। बम बनाउने क्रममा विस्फोट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

सुकेधारा विस्फोटका घाइते नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले बम बनाउँदा विस्फोट भएको प्रहरीसमक्ष वयान दिएका छन्। सुकेधारा घटनास्थलमै एक र दुई जनाको ओम अस्पतालमा मृत्यु भएको हो। शव क्षतविक्षत भएकाले मृतकको सनाखत हुन सकेको छैन। 

अनामनगरस्थित घट्टेकुलोमा भएको बम विस्फोटले चर्किएको घर । तस्बिर : अशोक दुलाल 

सुकेधारामा बम बनाउन सुरेन्द्रसहित ६ जनाको समूह सक्रिय थियो। विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन्। शैलुन सञ्चालक मोहत्तरीका ५९ वर्षीय ठाकुर र नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र र कपन बस्ने विष्णु खड्का घाइते भएका छन्।

सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ। विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते छन्। खुट्टामा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

सानीभेरी रुकुमका रविन ‘विप्लव’ समूहका विद्यार्थी नेता हुन्। केसी त्रिचन्द्र कलेजका इकाई सभापति रहेको प्रहरीले जनाएको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ। त्यही क्रममा विभिन्न स्थानमा बम राखेर आतंकित बनाएको हो।

यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ। प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन्। अर्का एकको पहिचान खुलेको छैन। लगनखेल, ग्वार्को, सातदोबाटोलगायतका स्थानमा पनि शंकास्पद वस्तु भेटिएको छ।

ललितपुरको ग्वार्कोमा राखेको प्रेसर कुकर बम डिस्पोज गर्दै नेपाली सेनाको विशेष टोली । तस्बिर : सुनिता डंगोल 

घट्टेकुलो विस्फोटमा विप्लवको पार्टीका पर्चा र पम्प्लेट भेटिएको छ। ‘नेपाल बन्द सफल पारौं’ भनेर लेखिएको पर्चा फेला परेको महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले बताए। घटनास्थलमा खटिएका एक उच्च प्रहरी अधिकृतले भने, ‘विप्लवकै पार्टीका कार्यकर्ता घाइते हुने, पार्टीको पर्चा पम्प्लेट फेला पर्नुले यो घटना नियोजित देखिन्छ।’

प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी विश्वराज पोखरेलले बम विस्फोटको घटनामा विप्लवकै कार्यकताको संलग्नता रहेको दाबी गरे। उनले भने, ‘पर्चा भेट्नु र कार्यकता घाइते हुनुले बम विस्फोटमा विप्लवकै कार्यकर्ताको हात रहेको पुष्टी हुन्छ।’

ग्वार्कोमा प्रेसर कुकर बम फेला परेपछि सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। लगनखेलमा भेटिएको शंकास्पद बस्नु भने बम नभएको प्रहरीले जनाएको छ। कोटेश्वर नरेफाँटबाट भने प्रहरीले चारवटा प्रेसर कुकरसहित विप्लवका सातजना कार्यकर्तालाई पक्राउ गरेको छ।

काठमाडौं परिसरका एसपी अशोक सिंहका अनुसार झोलामा राखेर ल्याइएको प्रेसर कुकरसहित उनीहरूलाई पक्राउ गरिएको छ। उनीहरूबाट विप्लव पार्टीका पर्चासमेत फेला परेको छ।

विस्फोटका घटनापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले थप घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको बताए।

उनले भने, ‘छापामार शैलीमा विस्फोट गराइएको छ। हामीले अन्य घटना हुन नदिन सुरक्षाकर्मीको संख्या बढाएर निगरानी बढाएका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.