प्रदेश विश्वविद्यालय अध्ययन कार्यदलले बुझायो प्रतिवेदन
हेटौंडा : तीन नम्बर प्रदेशमा प्रदेश विश्वविद्यालय स्थापना गर्न बनेको अध्ययन तथा सिफारिस समितिले सामेबार मुख्यमन्त्री डोरमणि पौडेललाई प्रतिवेदन बुझाएको छ।
प्रदेश सरकारको गत पुस २९ बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश ३ मा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्न सामाजिक विकास मन्त्रीको युवराज दुलालको संयोजकत्वमा अध्ययन तथा सिफारिस समिति बनेको थियो।
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका राम्रा र नराम्रा अभ्यासहरुको अध्ययनपछि प्रतिवेदन तयार पारी मुख्यमन्त्रीलाई बुझाइएको कार्यदलका संयोजक तथा सामाजिक विकास मन्त्री दुलालले बताए।
प्रतिवेदन तयार गर्न कार्यदललाई दुई महिनाको समय दिइएकोमा समय अपुग भएपछि ४५ दिनको समय थप गरिएको थियो। प्रदेश विश्वविद्यालय अहिलेको तुलनामा बढि प्राज्ञिक स्वतन्त्रता हुनुपर्ने, आर्थिक लगानी तथा वित्तीय व्यवस्थापन आफैंले गर्न सक्ने हुनुपर्ने, उच्च स्तरको शैक्षिक अध्ययन र अनुसन्धान केन्द्रको रुपमा हुनुपर्ने सुझाव दिइएको कार्यदलका संयोजक दुलालले बताए। शैक्षिक क्षेत्रका विज्ञहरु, प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका प्रतिनिधिहरुको सँगको छलफल पछि प्रतिवेदन निर्माण गरिएको उनले जानकारी दिए।
कार्यदलको सदस्यहरुमा शिक्षा क्षेत्रका विज्ञहरु डा. युवराज संग्रौला, प्रा.डा. रमेश प्रसाद भट्टराई, प्रा.डा. अन्जना सिं, प्रा.डा. हरिकृष्ण श्रेष्ठ र इन्जिनियर डा.जगत बहादुर श्रेष्ठ रहेका रहेका छन्।