सुनसान हुलाक, फुर्सदिला कर्मचारी
काठमाडौं : बिहान १० बजे सुन्धारास्थित गोश्वारा हुलाक कार्यालय पुग्दा कर्मचारी आइरहेका थिए तर सेवाग्राहीको चहलपहल न्यून थियो। सेवाग्राहीको चाप कम भएकाले पनि होला, कर्मचारी फुर्सदिला देखिन्थे। उनीहरू आफ्नो कार्यकक्षमा नबसी झुन्डझुन्ड बनाएर गफमा मस्त थिए। उनीहरूको चासोे नेपाल बन्द र आइतबारको बम विस्फोटका विषयमा केन्द्रित थिए।
१६ हजार कर्मचारी !
मुलुकभर ८४२ वटा हुलाक कार्यालय छन्। ३०७४ अतिरिक्त हुलाक कार्यालय छन्। ४ वटा निर्देशनालय र ४ केन्द्रीय कार्यालय छन्। यसरी ३९९२ हुलाक कार्यालय सञ्चालनमा छन्। जसका लागि ६ हजारभन्दा निजामति कर्मचारीको दरबन्दी छ भने १० हजार अतिरिक्त हुलाक कर्मचारी कार्यरत छन्।
गोश्वारा हुलाक कार्यालय सुन्धारामा मात्रै ३६० कर्मचारीको दरबन्दी छ। विगतमा दरबन्दीअनुसार कर्मचारी संख्या नभए पनि अहिले समायोजनका कारण कर्मचारी भरिभराउ छन्।
२०५५ सालदेखि हुलाकमा कर्मचारी पदपूर्ति रोकिएको छ। जति छन्, यथावत् छन्। करारबाट कर्मचारी भर्ना गरिन्छ। ५० भन्दा बढी जिल्लामा कार्यालय अधिकृतविहीन छन्। नेतृत्व नहुँदा कर्मचारी कार्यालयमै बस्न रुचाउँदैनन्।
आकर्षण छैन हुलाकमा
हुलाक कार्यालय कर्मचारी आकर्षणमा छैन। सरकारी कार्यालयलाई अतिरिक्त लाभका आधारमा वर्गीकरण गरिएको हुँदा ‘निम्सरो’ कार्यालयका रुपमा मानिन्छ हुलाक। त्यसैले पनि धेरै कर्मचारीको रोजाइमा पर्दैन। ‘हुलाकका उपसचिवलाई छोरी दिनुभन्दा राजस्वको सुब्बालाई छोरी दिन मन पराउने समाज हो यो,’ एक कर्मचारीले पीडा सुनाए।
गोश्वारा हुलाक कार्यालयमा रहेका इएमएस र पार्सल काउन्टरमा भने भीड भइरहन्छ। तीमध्ये पनि अधिकांश विदेशी नै हुन्छन्। विगतमा लोकसेवा आयोगको राजस्व दाखिला गर्ने काम हुलाक कार्यालयलाई जिम्मा दिइएको थियो तर अहिले यसलाई हटाएर निजी बैंकलाई जिम्मा दिइएको छ। सरकारी निकायहरुले नै हुलाकको प्रयोग नगरी निजी कुरियरको प्रयोग गर्दा हुलाक कार्यालयको सेवा कम भएको कर्मचारी बताउँछन्।
विदेशीले धानिदिएको हुलाक
काठमाडौंमा ५४ ठाउँमा स्ट्रिट लेटर बक्स थिए। भीडभाड हुने ठाउँमा हुलाक कार्यालय सहजताका लागि लेटर बक्स राखेको थियो। तर हुलाकमार्फत चिठी आदानप्रदान गर्ने काम ह्वात्तै घटेपछि अहिले १२ ठाउँमा मात्र लेटर बक्स राखिएको छ। पर्यटकीय स्थलमात्र लेटर बक्स राखिएका छन्। ‘अहिले पनि यहाँ चिठी खचाखच हुन्छ। दिनदिनै चिठी राखिएका हुन्छन्, त्यहाँ विदेशका चिठी, पोस्ट कार्ड मात्रै हुन्छन्,’ हुलाक कार्यालयका प्रमुख वेदराज भण्डारीले भने, ‘विदेशीले पठाउने चिठी बढी हुन्छ। उनीहरुले नै धानिदिएका छन्। नेपाली दाजुभाइले लेटर बक्स प्रयोग गर्नै छाडिसके।’
प्राधिकरण बनाइँदै
परम्परागत रुपमै सेवा प्रवाह गरिरहेको हुलाक कार्यालयलाई सुधार गर्ने सरकारी योजना छ। हुलाकलाई सेवा प्राधिकरण बनाउन सरकारले विधेयक ल्याउने तयारी गरेको छ। हुलाकलाई व्यावसायिक बनाउने गरी कानुन बनाउन लागिएको हो।
अहिले हुलाक पुरानै संरचनाबाट गुज्रिएको छ। ‘न प्रविधि छ, जनशक्ति छ तर प्रविधिमैत्री छैनन्, लगानी पर्याप्त छैन। आवश्यक भौतिक पूर्वाधार पनि छैन,’ एक कर्मचारीले गुनासो गरे, ‘अनि कसरी हुलाक कार्यालयले प्रभावकारी रूपमा काम गर्छ ? ’ हुलाक सेवा विभागलाई सरकारले वर्षमा तीन अर्ब ५० करोड बजेट विनियोजन गरे पनि ८७ प्रतिशत बजेट कर्मचारी तलबभत्तामै खर्च हुन्छ। १३ प्रतिशत बजेट विकासका काममा खर्च हुने गरेको हुलाक कार्यालयले जनाएको छ।
हुलाकको भविष्य ?
हुलाक सेवा प्रभावकारी नभएको र सेवाग्राही पनि घट्दै जाँदा हुलाक कार्यालयको औचित्यमाथि पनि बेलाबेलामा प्रश्न उठ्ने गरेको छ। तर हुलाकलाई प्रविधिमैत्री बनाउन सके यसको प्रभावकारी बढ्नेमा कर्मचारी विश्वस्त छन्। ‘पुरानो प्रविधि, प्रविधिमैत्री नभएको जनशक्ति, सीमित साधनस्रोत र आवश्यक भौतिक संरचना नहुँदा पनि हुलाक कार्यालयको आवश्यकता बढ्दै गएको छ,’ कर्मचारी भन्छन्, ‘चिठी पत्रको संख्या तुलनात्मक रुपमा घटेको हो। तर पार्सल, पुलिन्दा, द्रुत डाँक सेवा दिनानुदिन बढेको छ।’ हुलाक कार्यालयले वर्षमा २० करोडको आम्दानी गर्छ। यसमध्ये ५ करोड इएमएस सेवाबाट कमाइ हुन्छ।
विश्व बजारमा बर्सेनि ३÷४ प्रतिशत हुलाक सेवा प्रयोगमा गिरावट आए पनि नेपालमा भने यो संख्या बढ्दो छ। नेपालमा ७÷८ प्रतिशत हुलाक सेवा प्रयोगमा गिरावट आउने गरेको तथ्यांक छ।
अहिले अनलाइन सेवाबाट चिठीपत्र कहाँ पुग्यो हेर्ने प्रावधान गरिएको छ। काठमाडौं उपत्यकामा घुम्ती हुलाक सेवाको सुरुवात गरिएको छ। तीन वटा गाडी निश्चित क्षेत्रमा घुमाउने व्यवस्था छ। घुम्ती सेवा सरकारी कार्यालयलाई केन्द्रित गरिएको छ। हुलाक सेवालाई आधुनिकीरकण र व्यावसायिक बनाउन इकर्मसको काम भइरहेको छ।
हुलाक खुम्चिँदै, कुरियर फैलिँदै
हुलाकले सेवा दिन थालेको दशकौं भइसकेको छ। गाउँगाउँसम्म यसको संरचना छ। तर यो दिनानुदिन खुम्चिँदै जाँदा कुरियर व्यवसाय भने फस्टाउँदो छ। हुलाकले चिठी आदानप्रदान भन्छ, त्यसैलाई कुरियरले डकुमेन्ट भन्छ। ‘हुलाकको विश्वसनीयता नै हुँदैन, कहिले पत्र पुग्छ टुंगो हुँदैन,’ एक सेवाग्राहीले भने, तर कुरियरले दिने सेवा सहज र प्रभावकारी छ। बढी शुल्क लिए पनि कुरियर नै प्रयोग गर्न बाध्य छौं।’
गोश्वरा हुलाक कार्यालय प्रमुख सहसचिव हुने व्यवस्था थियो। अहिले उपसचिव कार्यालय प्रमुख हुन्छन्। त्यस्तै जनशक्ति रहेकोमा अहिले त्यसलाई घटाएर ३६० मा झारिएको छ।
सुधार गर्न सकिन्छ : प्रमुख
हुलाक सेवा प्राथमिक सेवामै केन्द्रित भएको छ। यो राज्यको आधारभूत दायित्व हो। यो विशुद्ध सेवा हो। दुरदराजका जनतालाई सर्वसुलभ दरमा हुलाक सेवा पुर्याउने व्यवस्था छ। विश्व बजारमा हुलाक सेवाको प्रभावकारिता घटेको छैन। अवरुद्ध बढ्दै गएको अवस्थामा हामीले पनि यसलाई सोहीअनुसार अगाडि लैजान सक्छौं। त्यसका लागि हामीले नीतिगत सुधारका साथै संरचनामा पनि परिवर्तन ल्याउनु जरुरी छ। आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै व्यावसायिक योजनाका साथ अगाडि बढ्न सके हुलाक सेवाप्रति गिर्दाे विश्वसनियतालाई फेरी उठाउन सकिन्छ। यसमा कुनै शंका छैन।
पा