गाउँलेका सञ्चार सेटमा निर्भर प्रहरी

गाउँलेका सञ्चार सेटमा निर्भर प्रहरी

ओलाङचुङगोला : शान्ति सुरक्षा र अपराध अनुसन्धानमा चौबिसै घण्टा खटिनुपर्ने प्रहरी सञ्चारका लागि गाउँलेको भर पर्नुपर्छ भन्दा अचम्म लाग्न सक्छ ! तर चीनसँग सीमा जोडिएको ताप्लेजुङका दुई प्रहरी चौकीको अवस्था यस्तै छ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलास्थित सीमा प्रहरी चौकी र वडा नम्बर ६ घुन्सास्थित प्रहरी चौकी सञ्चारविहीन छन्। ३६ सय ४६ वर्ग किलोमिटर क्षेत्रफल रहेको ताप्लेजुङको आधा भूभागमा सुरक्षा दिने दुवै चौकीमा प्रहरीको सञ्चार सेटले काम गर्दैन। प्रहरीले सूचना र रिपोर्टिङका लागि गाउँलेको ‘एनटी सेट’ फोनको सहायता लिनुपर्छ।

फोनबाट सम्पर्क गर्न घाम लागुन्जेल पर्खनुपर्ने त्यहाँका प्रहरी बताउँछन्। ‘उच्च हिमाली गाउँ भएकाले यहाँ घाम कम लाग्छ,’ एक प्रहरीले भने, ‘गाउँलेको फोन पनि सोलारबाट मात्रै चल्ने हुँदा चाहेको समयमा सूचना लिन र दिन समस्या छ।’

तालुक निकायमा सम्पर्क गर्नुपरे वा कुनै सूचना लिनु परे प्रहरीहरू गाउँलेकहाँ फोन गर्न आउने स्थानीय टासी शेर्पाले सुनाए। ‘प्रहरी चौकीमा सञ्चारको कुनै साधन छैन,’ उनले भने, ‘सूचना पहिले हाम्रा फोनमा आउँछ, अनि चौकीमा सुनाउँछौं।’

चौकीसम्बन्धी जानकारी लिनु परे गाउँलेकहाँ फोन गरेर बोलाइमाग्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। ओलाङचुङगोलामा प्रहरी मुख्यालयसँग सीधा सम्पर्क हुने गरी ‘भीएसएटी’ सञ्चार नेटवर्क जडान गरिएको भए पनि ९ महिनादेखि बिग्रिएको गाउँपालिकाका प्रवक्ता समेत रहेका स्थानीय छेतेन शेर्पाले बताए। घुन्सामा यस्तो प्रविधिसमेत छैन।

इन्टरनेटसमेत चल्ने भीएसएटी बिग्रिएको लामो समय भए पनि मर्मत गर्न सम्बन्धित पक्षले चासो नदिएको वडासदस्यसमेत रहेका टासी बताउँछन्। ‘सुरक्षा निकाय जस्तो संवेदनशील कार्यालय सञ्चारविहीन हुनु राम्रो होइन’, उनले भने। हिउँदका ६ महिना हिउँ पर्ने र बर्खामा पनि धुम्म भएर घाम नलाग्ने भएकाले अधिकांश समय ‘एनटी सेट’ फोनसमेत बन्द हुने गरेको छ। ओलाङचुङगोलामा ४ र घुन्सामा ४ वटा यस्ता फोन जडान गरिएको छ।

ओलाङचुङगोलाको ‘भीएसएटी’ बिग्रिएको विषयमा सूचना निर्देशनालयमा दुई पटक लेखेर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सम्बन्धित कम्पनीले नेटवर्क मर्मतमा चासो देखाएको छैन। ओलाङचुङगोला चीनसँग व्यापार हुने पूर्वको प्रमुख व्यापारिक नाका हो। यहाँको तिप्तला भञ्ज्याङ हुँदै इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा उत्पादित चिराइतोलगायत जडिबुटी तिब्बत निर्यात हुने गरेको छ। वडाध्यक्ष छेतेन शेर्पा (भोटे) का अनुसार सञ्चारको असुविधाले ती गतिविधि निगरानी गर्न प्रहरीलाई निकै समस्या छ।

३१ सय मिटरको उचाइस्थित घुन्सा पर्यटकीय गाउँ हो। कञ्चनजंघा हिमाल जाने पर्यटक घुन्सा हुँदै आधारशिविर प्रस्थान गर्छन्। नेपालको सबैभन्दा लामो हिमाली पदमार्ग ‘द ग्रेट हिमालयन ट्रेल’ को प्रस्थान बिन्दु पनि घुन्सा नै हो। आन्तरिक तथा वाह्य पर्यटकको बाक्लै चहलपहल हुने ठाउँमा सुरक्षा संवेदनशीलता पनि बढी हुने हुँदा प्रहरीको पहिलो आवश्यकता सञ्चार रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्वकार्यालय सचिव तेन्जिङ वालुङको भनाइ छ।

संरक्षण क्षेत्रमा तिब्बतबाट शिकारी पसेर वन्यजन्तुको चोरी तस्करी गर्ने भएकाले सुरक्षा संयन्त्र बलियो बनाउनुपर्ने उनले बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार १२÷१२ जनाको दरबन्दी रहेका यी दुई चौकीमा ६÷६ जना मात्रै कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.