उद्योगमा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता
काठमाडौं : आर्थिक वर्ष ०७५/७६ को फागुनसम्म ११ अर्ब १८ करोड ६ लाख ३० हजार रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ। गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम पनि बढेको छ। आर्थिक सर्वेक्षणअनुसार चालु आवमा विदेशी लगानीका दुई सय १८ उद्योग सञ्चालनमा आएका छन्। ती उद्योगबाट सात हजार नौ सय ५३ रोजगारी सिर्जना हुने सरकारको अपेक्षा छ।
सर्वेक्षणअनुसार आव ०७४/७५ को फागुनसम्म एक सय ९४ उद्योगमा ३४ अर्ब ९१ करोड लगानी प्रतिबद्धता भएको थियो। गत वर्ष सात हजार पाँच सय ४१ रोजगारी सिर्जना भएको थियो। यस वर्ष ठूला उद्योगमा विदेशी लगानी नआएकाले गत वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धतामा समेत तीन गुणाले कमी आएको छ।
आर्थिक सर्वेक्षणअनुसार पछिल्लो १० वर्षको अवधिमा विदेशी लगानीमा दुई हजार नौ सय ६६ वटा उद्योग स्थापना भएका छन्। ती उद्योगमा दुई खर्ब ३१ अर्ब १० करोड विदेशी लगानी भएको छ। विदेशी लगानीका उद्योगबाट एक लाख १४ हजार सात सय ९ जनाले रोजगारी पाएका छन्। ती उद्योगमा दुई खर्ब ७९ अर्ब ८८ करोड विदेशी लगानी प्रतिबद्धता गरिएको थियो भने दुई लाख ५२ हजार रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो।
सर्वेक्षणअनुसार कृषि तथा वनजन्य उद्योग दुई सय ७५, निर्माण ४६, ऊर्जामूलक ८१, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित ५०, उत्पादनमूलक एक हजार एक सय ५६, खनिज ७२, सेवा एक हजार पाँच सय ७५, पर्यटन एक हजार चार सय ४१ उद्योग छन्।
देशगतरूपमा उद्योगको संख्या अध्ययन गर्दा चार हजार ६ सय ९६ वटा उद्योग दर्ता हुने अपेक्षा गरिएको थियो। तर, प्रतिबद्वताको आधा पनि उद्योग स्थापना हुन सकेका छैनन्। चीन र भारतको लगानीका उद्योगको संख्या बढी छ। दर्ता भएका विदेशी उद्योगमध्ये उद्योगको संख्यामा ३१ दशमलव १ प्रतिशत र लगानीको आधारमा ३९ दशमलव ८१ प्रतिशत छ। उद्योगमा भारतको अंश १६ दशमलपव ४ प्रतिशत र लगानीमा ३३ दशमलव ४ प्रतिशत छ।
चालु आवमा विदेशी लगानीका दुई सय १८ उद्योग सञ्चालनमा आएका छन्।
दर्ता भएका विदेशी लगानीका उद्योगमध्ये सेवामूलक उद्योग धेरै छन्। सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग सबैभन्दा कम छन्। रोजगारी सिर्जनाका आधारमा उत्पादनमूलक उद्योग सबैभन्दा अगाडि देखिएका छन्। फागुनसम्म दर्ता भएका उद्योगमध्ये विदेशी लगानी प्रदेश ३ मा ८१.५ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिममा १ प्रतिशत मात्रै छ। प्रदेश ३ मा विदेशी लगानीका तीन हजार आठ सय २५, गण्डकी प्रदेशमा चार सय ४, प्रदेश २ मा एक सय ४७, प्रदेश १ मा एक सय २३ उद्योग दता भएका छन्। विदेशी लगानीका कर्णालीमा ८५ र सुदूरपश्चिममा ४५ वटा उद्योग दर्ता भएका छन्।
स्वदेशी तथा विदेशी लगानी बढाएर कुल ग्राहस्थ उत्पादनमा औद्योगिक उत्पादनको योगदान बढाउने सरकारको रणनीति छ। पछिल्लो समयमा उद्योगमा लगानी आकर्षित गर्न सरकारले नीतिगत, कानुनी, संरचनात्मक सुधार तथा प्रक्रियागत सरलीकरण गरेको छ।
कुल ग्राहस्थ उत्पादनमा औद्योगिक उत्पादनको योगदान पछिल्लो ५ वर्षमा वार्षिक औसत ५.५ प्रतिशत छ। आव ०७५÷७६ मा ५.६ प्रतिशत हुने अनुमान छ। आउँदा वर्षमा औद्योगिक क्षेत्रको योगदान क्रमश बढाउँदै राष्ट्रिय अर्थतन्त्रमा उद्योगको योगदान उच्च बनाउने सरकारको योजना छ।
उद्योगमा स्वदेशी तथा विदेशी लगानी भिœयाउन तीन दर्जनभन्दा बढी कानुन निर्माण तथा संशोधन गरिएका छन्। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, औद्योगिक व्यवसाय ऐन निमावली २०७५ र औद्योगिक ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशिका २०७५ कार्यान्वयनमा ल्याइएको छ।
निजी र सरकारी साझेदारीमा औद्योगिक पूर्वाधारको विकास र विस्तार गरी औद्योगिक उत्पादन, प्रशोधन, वितरण र ढुवानीलाई सहज बनाउने प्रक्रिया अघि बढाएको छ। साझेदारीमा पहुँचमार्गको निर्माण र विद्युत् प्रसारण सहज बनाइने सर्वेक्षणमा उल्लेख छ। सरकारले केही समयअघि औद्योगिक विकास र विदेशी लगानीलाई थप सहजीकरण गर्न दर्ता, प्रवेशाज्ञा, नविकरण र बर्हिगमन सबै सेवा एकै स्थानबाट दिन थालेको छ। सरकारले गत चैतमा लगानी सम्मेलन गरी नेपालमा लगानीको वातावरण तयार भएको विदेशी लगानीकर्तालाई सन्देश दिएको छ।