सरकार वैधानिक रुपमै लोकतन्त्र उल्ट्याउन लागेको छ : नेता पौडेल
डोटी : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार वैधानिक रुपमै लोकतन्त्र उल्ट्याउन विभिन्न विधेयक संसदमा अघि सारेको आरोप लगाएका छन् ।
‘सरकारले ल्याएका विधेयक सबै नागरिक अधिकार र लोकतन्त्र तथा संविधानलाई अनादर गर्ने खालका छन्’ पौडेलले भने । उनले थपेका छन्, ‘लोकतन्त्रमा विश्वास नहुने शक्तिको हातमा सत्ता पुगेको कारण यस्तो भएको हो ।’
बुधबार नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यस्तो बताएका हुन् । उनीहरु वैधानिक रुपमै लोकतन्त्र उल्ट्याउने प्रयास स्वरुप प्रेसमाथि अंकुश लगाउने विधेयक, मानवअधिकार आयोगलाई कमजोर बनाउने विधेयक, सेनामाथि नियन्त्रण गर्ने, विश्वविद्यालयलाई राजनीतिक भर्तीकेन्द्र बनाउने विधेयक सरकारले अगाडि बढाएको उनको भनाइ छ ।
गणतन्त्र फेरि जोखिममा परेको पनि उनको दावी छ । अहिले देखिन थालेका हिंसाका बछिटाले यस्तै संकेत गरेको उनको भनाइ थियो ।