जहाँ न्याय दबिन्छ

जहाँ न्याय दबिन्छ

काठमाडौं : ओए, कानुन त कहाँ छस् ? कसैले चर्को स्वरमा कानुनको खोजी गरिरहेको छ। कानुन बोल्छ, ‘हजुर म यहाँ छु। मेरा हात खुट्टा बाँधिएका छन्, मलाई बन्द कोठामा थुनिएको छ। म मिचिएको छु। म गह्रौं बोझले थिचिएको छु।’ ओहो कानुन नै मिचिएको यो देशमा अन्यायमा परेका व्यक्तिले न्याय कहाँ पाउँछन् होला।

यो संवाद कुनै मानिसबीचको होइन। कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक ‘न्याय हराएको देश’ मा कलाकारले बोलेको संवाद हो। नाटकमा न्यायको खोजी गरिएको छ। बलात्कारमा परेकी युवतीले न्याय मागेकी छन्। सोझासाझा जनताले भ्रष्टाचारविरुद्ध न्याय मागेका छन्। सुदूर गाउँकी दुर्गा स्थानीय नेताद्वारा बेचिएकी छे। ऊ पनि न्याय मागी रहेकी छ। विडम्बना न्याय त थिचिएर बसेको छ यहाँ।

सर्वनामका चौधौं ब्याचका विद्यार्थीले यो नाटकको निर्माण र लेखन गरेका हुन्। जेठ ११ गतेदेखि सुरु भएको नाटक १८ गतेसम्म चल्नेछ। मधुरो उज्यालो भएको मन्दिरको पूजाबाट नाटक सुरु हुन्छ। जहाँ सानैमा मन्दिरमा चढाइएकी देवी आफ्ना भक्तजनसँग नृत्य गरिरहेकी छन्। नाच्दानाच्दै उनलाई पेट दुख्छ, थचक्क बस्छिन्।

पुन: उठेर नाच्छिन् फेरि ढाड दुख्छ। उनी रजस्वला हुन्छिन्। केही अघि मन्दिरमा देवीको रूपमा पुजिँदै आएकी किशोरी रजस्वलापश्चात् बाहिर निकालिन्छिन्। उनी रुँदै मन्दिर छाड्छिन्। रजस्वला बार्न उनलाई अँध्यारो छाउघरमा राखिन्छ। उनी त्यहीँ बलात्कृत हुन्छिन्।

यो दृश्य नाटकको हो। तर हामीले भोग्दै आएको यथार्थपरक घटना पनि। छाउ बार्ने निहुँमा नेपालमा हरेक वर्ष अनेकौं छोरी चेली मर्छन्। कहिले सर्पले टोकेर मर्छन् त कहिले साँघुरो छाउगोठमा निसास्सिएर जीवन त्याग्छन्। कति युवती रजस्वला भएकै बेला बलात्कारमा पर्छन्। यो यथार्थलाई नाटकले दृश्यमार्फत उतारेको छ।

नाटक हेर्दै गर्दा हरेक दर्शकले राज्यको बेथिति र अस्थिरताले निम्त्याएको दण्डहीनता स्मरण गर्छ। चुनावमा पार्टीको टिकट पाउने लालसामा अनेक तिकडम गर्ने, पद र पावर सदैव आफैंछेउ राख्न खोज्ने कुटिल प्रवृत्ति भएका नेताको चरित्र उजागर गरेको छ। नेताहरू कुर्सीको तानातानमा जुटेका छन्।

दुई पक्षको झगडामा तेस्रो पक्षले कसरी मौका लिन्छ भन्ने देखाइएको छ। नेपालमा न्याय हराउनु भनेकै देशको राजनीतिमा अस्थिरता उत्पन्न हुनु हो। गलत राजनीतिले व्यापार, उद्योग, गाउँको विकासमा समेत भद्रगोल अवस्था सिर्जना गरेको छ। जुन आजको समाजको मुख्य समस्या हो।

नाटकमा न्यायालयमा हुने ढिलासुस्ती र भ्रष्टाचार पनि देखाइएको छ। जनताको काममा प्रहरीको बेवास्ता र महिलाका घटनालाई दर्ता नै गर्न नमान्ने परिपाटीलाई पनि बढो मार्मिक तरिकाले प्रस्तुत गरिएको छ। चुनाव जितेको नेताले गाउँमा पार्टी दिएको छ। नाचगान र रमाइलो पनि गरिएको छ। नाटकका कलाकारले दोहोरी गीत गाउँदा नाटक हेर्ने दर्शक पनि ताली मारिरहन्छन्। रमाइलो वातावरण सिर्जना गरिएको छ। गाउँमै रोदीघरमा पुगेको जस्तो भान हुन्छ।

करिब एक घण्टाको नाटकले समाजका धेरै विषय उठाएको छ। युवाअवस्थामा हुने आकर्षण, किशोरी कसरी छिट्टै प्रेमीको आश्वासनमा विश्वास गर्छन् भन्ने देखाउन दुई युवायुवतीको प्रेम सम्बन्धलाई उतारिएको छ।

युवा जोडीबीचको निकटता, एकअर्कामा हुने खुसी देखाउन कलाकारले जीवन्त अभिनय गरेका छन्। नाटकले धेरै विषय उठाए पनि कथा सलल बगेको छ। कलाकारको अभिनयमा मिठास छ। दृश्य, संवाद र पृष्ठभूमिको संगीतले नाटकलाई गजबले जोडेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.