करिब एक सय चिनियाँले गरे सगरमाथा आरोहण
पइचिङ : नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ। यसै सगरमाथाको सफल आरोहण भएको ६६ वर्ष पुगेको छ। सगरमाथाको आकर्षण दिनप्रतिदिन बढ्दो छ र यसपटक सगरमाथामा ट्राफिक जाम भएको समेत हुनपुग्यो।
यसै सगरमाथालाई चिनियाँहरू छोमोलोङ्मा भन्छन् र हरेक वर्ष चिनियाँ मोहोडाबाट आरोहण गर्ने देशीविदेशी आरोहीको पनि लर्को लाग्ने गर्छ। यसैबीच हालसम्म करिब १ सयजना चिनियाँले नेपाली मोहोडाबाट सगरमाथाको सफल आरोहण गरिसकेका छन्।
सन् १९६० को वसन्तमा पहिलोपटक ३ जना चिनियाँले सगरमाथाको सफल आरोहण गरेका थिए। सन् १९९६ पछिको दश वर्ष २००५ सम्म कुनै चिनियाँले आरोहण गरेको देखिँदैन भने पछिल्ला केही वर्षमा चिनियाँ पर्वतारोहीहरूको संख्या बढ्दै गएको छ।
नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार, सगरमाथा आरोहण इतिहासमा सन् २०१७ को वसन्तसम्म ५,३०४ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। तीमध्ये ५४१ जना नेपाली छन् भने ८७ जना चिनियाँ छन्।
तीनपटक सफल आरोहण गरिसकेका ३३ वर्षीय सून यिछ्वान आफूले सगरमाथाको आशीर्वाद पाएको बताउँछन्। उनले सर्वप्रथम सन् २०१३ को वसन्तमा आरोहण गरेका थिए, त्यसपछि गत वर्ष र यो वर्ष हालै मात्र मे २१ मा आरोहण गरेका हुन्। प्रकृतिसँग नजिक हुनपाउँदा रोमाञ्चित हुने भएकाले २००८ देखि नै पर्वतारोहणमा रुचि भएको बताउने सून अर्को वर्ष पनि चढ्ने योजनामा छन्।
पेशाले चित्रकार उनी नौपटक नेपाली मोहोडाबाट आरोहण गरेपछि दशौंपटकमा चिनियाँ मोहोडाबाट आरोहण गरी आफ्नो यात्रा टुंग्याउन चाहेको अन्नपूर्ण पोस्टलाई बताए। आरोहीको क्षमताअनुसार तथा एकपटकमा आरोहीको संख्या तोकेर मात्रै अनुमित दिई व्यवस्थित गर्नसके अझै राम्रो हुने पनि उनले सुझाएका छन्।
सगरमाथा शिखरमा पहिलोपटक दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन ८,८४८ मिटर अग्लो सगरमाथाको सफल आरोहण गरेका थिए। पहिलो साहसिक आरोहणको सम्झनामा मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउँदै आइएको छ। आरोही हिलारीको २००८ जनवरी ११ मा निधन भएपश्चात् नेपालले त्यसै वर्षदेखि यो दिवस मनाउन थालेको हो।
नेपाल भ्रमण वर्ष २०२० लाई मद्देनजर गरी १२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई देशविदेशमा भव्य रूपमा मनाइएको छ। यसै अवसरमा पइचिङ अवस्थित चीनका लागि नेपाली राजदूतावासले सगरमाथाको सफल आरोहण गरेका केही चिनियाँ पर्वतारोहीलाई सम्मान गरेको छ। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले कार्यक्रममा उपस्थित ६ जना चिनियाँ पर्वतारोहीलाई प्रशंसापत्र प्रदान गरेका छन्।
तीनपटक आरोहण गरिसकेका सून यिछ्वान, त्यसैगरी सोङ छिआङ, मा च्याङको, वाङ स्यूएफङ, ख्हयूलोङ र लू हाईचूआनलाई अभिनन्दन गरिएको हो। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर चिनियाँ पर्वतारोहीलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्दै राजदूत पौड्यालले सगरमाथा नेपाल र चीनबीचको अन्तहीन मित्रताको प्रतीक भएको बताए। साथै चिनियाँ पर्वतारोहीले दुई देशबीचका जनताको सम्बन्धलाई गहन बनाउन बहुमूल्य भूमिका खेलेको भन्दै प्रशंसाको हकदार रहेको पनि बताए।
यस वर्ष गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको हो। दूतावासमा गणतन्त्र दिवसको अवसरमा ज्ञातअज्ञात शहीदहरूको त्याग तथा बलिदानको सम्झना गर्दै पुष्पगुच्छा अर्पण गरिएको थियो। साथै राजदूत पौड्यालले चीनमा बसोवास गर्दैआएका नेपालीलाई यस ऐतिहासिक दिनको महत्व दर्शाउँदै शुभकामना पनि व्यक्त गरे।