टोलटोलमा पढाइ शिविर
डोटी : आदर्श गाउँपालिका–१, बाहुनटाँकका नवीन खड्का कक्षा २ मा पढ्छन्। उनी साताको ६ दिन विद्यालय जान्छन् भने एक दिन शनिबार बिहान ७ बजे पढाइ शिविरमा सहभागी हुन्छन्। पढाइ शिविरमा सहभागी हुनुअघि उनलाई पटक्कै पढ्न मन लाग्ने थिएन। बोल्न पनि लजाउँथे भने विद्यालयबाट फर्केपछि बिदाको समय गाउँघर डुलेरै बिताउँथे।
नवीनकी आमा कल्पनाका अनुसार अहिले उनी निरन्तर विद्यालय जान्छन्। पढ्न रुचाउँछन्। निर्धक्क बोल्न सक्छन्। प्रश्नको जवाफ पनि दिन्छन्। घरको कुनामा आफूले बनाएका चित्र र पुस्तकहरू सजाएर जतन गरिराख्छन्।
आदर्श–२ मनकोटकी हेमा बाग पनि आत्मविश्वासका साथ आफ्नो प्रस्तुति दिन सक्छिन्। निरन्तर पठनपाठनमा ध्यान दिन्छिन्। नवीन र हेमाजस्तै अन्य बालबालिकाको पनि पढाइ शिविरमा आउन थालेपछि सिकाइ स्तर र अतिरिक्त क्रियाकलापमा सुधार हुन थालेको छ। पढाइ शिविरको लक्ष्य बालबालिकामा बुझेर पढ्ने बानी विकास गरी सिकाइ उपलब्धि बढाउने रहेको छ।
आदर्श गाउँपालिकाका टोलटोलमा पढाइ शिविर सञ्चालन हुँदै आएको छ। प्रारम्भिक शिक्षालाई गुणस्तरीय र बालबालिकामा नियमित पढ्ने बानीको विकास गर्न शिविर सञ्चालन गरिएको हो। यसले बालबालिकाको सिकाइ उपलब्धिमा वृद्धि गरेको पाइएको छ। हरेक साताको शनिबार सञ्चालन हुने पढाइ शिविरमा तीन वर्ष उमेर पुगेका बालबालिकादेखि कक्षा ३ सम्म पढिरहेका बालबालिकाको सहभागिता हुन्छ।
२०७५ बाट सुरु भएको पढाइ शिविर अहिले आदर्श गाउँपालिकाका ५९ वटा टोलमा सञ्चालन हुँदै आएका छन्। ५९ वटा पढाइ शिविर केन्द्रमा ५९ जना तालिमप्राप्त पढाइ विकास सहजकर्ता छन्। गाउँभरिका बालबालिकालाई एक ठाउँमा भेला गराएर हरेक शनिबार ९० मिनेटको कक्षा सञ्चालन गरिन्छ। सहजकर्तासँग बालबालिका खेल खेल्ने, गीत गाउने, कथा सुन्ने र चित्र बनाउने पनि गर्छन्।
शिविरमा आउने बालबालिकालाई कपी, किताब, पेन्सिल लगायतका शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराइन्छ। शिविरबाट ३ कक्षा पास गरेका बालबालिकालाई प्रमाणपत्रसहित बिदाइ गरिन्छ।
शिविरमा बालबालिकालाई सात चरणमा पढाउने गरिन्छ। सुरुमा स्वतन्त्र खेलबाट सुरु हुने कक्षा क्रमशः बालगीत, विषयबस्तु, कथा, पढ्ने लेख्ने क्रियाकलाप, बनाऊ र लैजाऊ हुँदै दैनिकी लेख्न लगाएर अन्त्य हुन्छ। बालबालिकाले शिविरमा सिकेका, लेखेका र पढेका कुराहरू घरमा गएर अविभावकलाई देखाउने गर्छन्। शिविरमा आउने बालबालिकामा पढ्ने बानी विकास भएको अविभावक बताउँछन्। गाउँगाउँमा पढाइ शिविर सञ्चालन भएपछि विद्यालयमा पनि राम्रो प्रभाव परेको छ। शिविरबाट आउने बालबालिकामा अन्य बालबालिकाभन्दा फरक क्षमता हुने गरेको प्रभात माध्यमिक विद्यालय देहिमाण्डौंका प्रधानाध्यापक गणेशप्रसाद अवस्थीले बताए।
‘पहिले बालबालिका कक्षाकोठाको पढाइमा मात्र केन्द्रित हुने भएकाले विद्यालय आउनसमेत मान्दैन थिए’, प्रधानाध्यापक अवस्थीले भने, ‘अहिले शनिबार पनि उनीहरू कुनै अप्ठ्यारो नमानी पढाइ शिविरमा सहभागी हुने गरेका छन्।’ शिविरमा आउने बालबालिकाका अभिभावकलाई महिनाको एक दिन भेला गराएर सचेतना गोष्ठीसमेत गराइन्छ। आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले पढाइ शिविर बालबालिकाका लागि प्रभावकारी रहेको बताए। पढाइ शिविर सञ्चालन हुने ठाउँमा बालबालिकाको रुचि जाग्ने खालका चित्र भएका पुस्तक, पोस्टर, रंगीन प्ले कार्ड, कथाका पुस्तकहरू लगायतका शैक्षिक सामग्रीले सजाएको पाइन्छ। यसले गर्दा बालबालिका सिक्न र पढ्न निकै उत्साहित हुन्छन्।
शिविरमा आउने बालबालिकाको घरमा अभिभावकको सहकार्यमा पढाइ ‘कुना’ बनाइएकोे हुन्छ। घरको एउटा कोठामा बालबालिकाका शैक्षिक सामग्री, पोसाक आदि राखिएको ठाउँलाई पढाइ ‘कुना’ भनिन्छ।
पढाइ शिविरमा बालबालिकाले आफूलाई मन पर्ने चित्र बनाई आफ्नो घरको पढाइ कुनामा सजाउने गरेको शिविरका सहजकर्ता प्रेमराज ओझाले बताए। यसले गर्दा बालबालिका घरमा समेत रुचिपूर्ण तरिकाले पढ्ने गर्छन्।
०००
पढाइ शिविरमा सहभागी बालबालिका।