सुरक्षाकर्मीमाथि वन्यजन्तु चोरी शिकारी मुद्दा
दार्चुला : दार्चुलाका एक सुरक्षाकर्मीमाथि वन्यजन्तु चोरी शिकारी मुद्धा दायर भएको छ। सुदूरपश्चिम प्रहरी गण–३ गुल्ममा कार्यरत व्याँस गाउँपालिका–२ का सिकेन्द्रसिँह धामी विरुद्ध वन्यजन्तु चोरी शिकारी मुद्दा दायर भएको हो।
गत बैशाख ८ गते पुलघाँटमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लक्ष्मणदत्त भट्ट नेतृत्वको प्रहरी टोलीले प्रहरी जवानको धामीको साथबाट वन्यजन्तु झारलको सुकुटी मासु २ किलो ६ सय ५० ग्राम सहित पक्राउ गरेको थियो।
प्रहरी जवान धामीबाट पक्राउ गरिएको सुकुटी मासु वन्यजन्तु झारलको भएको पुष्टि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले गरेपछि डिभिजन वन कार्यालय दार्चुलाले जिल्ला अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी रणेन्द्र सिंहले बताए।
डिभिजन वन कार्यालय दार्चुलाले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ को फदा २६(६) बमोजिम मुद्दा दायर गरेको हो। ‘प्रहरी जवान धामीको साथबाट बरामद गरिएको सुकुटी मासु हिमालयन थारको भएको पुष्टि भएको छ, उनी विरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ’ सिंहले भने।