विश्वकप क्रिकेट : वेस्ट इन्डिजसामु पाकिस्तान निरीह, २१ ओभरमै अलआउट
लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले विजयी सुरुआत गरेको छ। वेस्ट इन्डिजले शुक्रबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हरायो।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २१.४ ओभरमै अलआउट हुनुअघि एक सय पाँच रनमात्र बनाउन सक्यो। एक सय ६ रनको सामान्य लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १३.४ ओभरमै केवल चार विकेट गुमाएर एक सय आठ रन बनायो।
वेस्ट इन्डिजलाई सहज जित दिलाउन ओपनर ब्याट्सम्यान क्रिस गेलले अर्धशतकीय पाली खेले। आक्रामक ब्याटिङ गरेका उनले ३४ बलको सामना गरी तीन छक्का र ६ चौकाको मद्दतमा ५० रन बनाए। यसैगरी निकोलस पुरनले पनि ३४ रनको महत्वपूर्ण पाली खेले।
चौथो नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका उनले १९ बलमा दुई छक्का र चार चौका प्रहार गरे। विकेट किपर ब्याट्सम्यान साई होपले ११ रन बनाए भने सिमरन हेटमेएर सात रनमा अविजित रहे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २१.४ ओभरमा अलआउट हुँदै एक सय पाँच रनमात्र बनाउन सक्यो। पाकिस्तानी टोली विश्वकपमा सन् १९९२ पछि सर्वाधिक कम योगफलमा समेटिएकोे हो। सन् १९९२ को विश्वकपमा इङ्ल्यान्डले पाकिस्तानलाई ७४ रनमै अलआउट गरेको थियो।
लगातार विकेट गुमाएको पाकिस्तानका लागि फाखर जामन र बाबर आजमले २२/२२ रन बनाए। यसैगरी वाहव रियाजले १८ र मोहमद हाफिजले १६ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
पाकिस्तानलाई सस्तोमा समेट्न वेस्ट इन्डिजका ओसेन थोमसले चार विकेट लिए। ५.४ ओभर बलिङ गरेका उनले २७ रनमात्र खर्चिए। यसैगरी कप्तान जासन होल्डरले तीन र आन्द्रे रसेलले दुई विकेट हात पारे। उक्त खेलमा वेस्ट इन्डिजका ओसेन थोमस म्यान अफ दी म्याच घोषित भए। क्यारेबियन टोलीका कप्तान जासन होल्डरले पहिलो खेलमै हात पारेको सहज जितले टोलीको उत्साह बढाएको बताए। पाकिस्तानी टोलीका कप्तान सरफराज अहमदले टर हारेर पहिले ब्याटिङको निम्तो पाउनु नै आफ्ना लागि खराब भएको प्रतिक्रिया दिए।
विश्वकपअन्तर्गत पाकिस्तानले सोमबार घरेलु प्रतिद्वन्द्वी इङ्ल्यान्डको सामना गर्नेछ भने वेस्ट इन्डिजले जुन ६ तारिखमा पाँच पटकको उपाधि विजेता अस्ट्रेलियासँग खेल्ने छ। वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता टोली हो। वेस्ट इन्डिजले सन् १९७५ सम्पन्न पहिलो र सन् १९७९ मा सम्पन्न दोस्रो संस्करणको उपाधि जितेको थियो। पाकिस्तानले भने सन् १९९२ को विश्वकप जितेको थियो।