पूर्वविजेता श्रीलंकासँग भिड्दै न्युजिल्यान्ड
लन्डन : जारी विश्वकप क्रिकेटमा शनिबार दुईवटा खेल हुनेछन् । पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकाको सामना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे कार्डिफस्थित सोफिया गार्डेन्स रंगशालामा खेलिनेछ । अर्को खेल टाउनटनस्थित काउन्टी ग्राउन्डमा साँझ ६ः१५ बजे अस्ट्रेलिया र अफगानिस्तानबीच हुनेछ । श्रीलंका र न्युजिल्यान्ड दुवै अन्तर्राष्ट्रिय क्रिकेटका बलिया टोली हुन् ।
यद्यपि, दक्षिण एसियाली टोली श्रीलंकाले एकपटक विश्वकप जितिसकेको छ भने न्युजिल्यान्डले हालसम्म उपाधि हात पार्न सकेको छैन । श्रीलंकाली टोलीले सन् १९९६ को विश्वकपको फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराएको थियो । अर्जुन रनतुंगा श्रीलंकाका कप्तान थिए । श्रीलंकाली टोली सन् २००७ र सन् २०११ मा पनि विश्वकपको फाइनलमा पुगेको थियो । सन् २००७ को फाइनलमा अस्ट्रेलियासँग ५३ रनले पराजित भएको श्रीलंका सन् २०११ को फाइनलमा भने भारतसँग ६ विकेटले हारेको थियो ।
श्रीलंका र न्युजिल्यान्डले सन् १९७५ मा सम्पन्न पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । विश्वकपमा न्युजिल्यान्डको प्रदर्शन भने खासै उपलब्धिमूलक छैन । यद्यपि, सन् २०१५ मा न्युजिल्यान्ड विश्वकपको फाइनलमा पुगेको थियो । तर, फाइनलमा न्युजिल्यान्डलाई अस्ट्रेलियाले सात विकेटले हराएको थियो । उक्त विश्वकप न्युजिल्यान्ड र अस्ट्रेलियाले नै संयुक्त रूपमा आयोजना गरेका थिए ।
हालसम्म सम्पन्न विश्वकपमा यी दुई टोलीबीच खेलिएका खेलमा पनि श्रीलंका नै बलियो देखिन्छ । विश्वकपमा हालसम्म यी दुई टोलीबीच कुल १० खेल भएका छन् । ती १० मध्ये ६ खेलमा श्रीलंका र चार खेलमा न्युजिल्यान्ड विजयी भएका छन् । पछिल्लो समय भने न्युजिल्यान्डको टोलीले एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यसको ठीक विपरीत श्रीलंकाली टोली खासै लयमा देखिँदैन ।
यसपटक विश्वकपमा न्युजिल्यान्डको टोली सन्तुलित देखिन्छ । यो विश्वकपमा तीव्र गतिका बलरहरूको उत्कृष्ट प्रदर्शन र क्षमतावान् ब्याट्सम्यानहरूको उपस्थिति न्युजिल्यान्डको गतिलो पक्ष हो । दिमुथ करुनारत्नेको कप्तानीमा रहेको श्रीलंकाली टोलीमा लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, सुरंगा लकमल, थिसरा परेरा, कुशल परेराजस्ता क्षमतावान् खेलाडी छन् ।
केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डको टोलीमा पनि कोलिन मुनरो, रोस टेलर, हेनरी निकोल्स, टम लाथम, ट्रेन्ट बल्ट, कोलिन डी ग्रान्डहोम, मार्टिन गप्टिलजस्ता अनुभवी खेलाडी छन् । सोफिया गार्डेन्स मैदान खासगरी ब्याट्सम्यानलाई साथ दिने स्वभावको छ । यो मैदानमा औसतमा रन तीन सय २१ रन बन्ने गरेको छ ।
सर्वाधिक सफल अस्ट्रेलियालाई उदयमान अफगानिस्तानको चुनौती
यसैगरी शनिबार नै काउन्टी ग्राउन्डमा अस्ट्रेलिया र अफगानिस्तान भिड्दैछन् । अस्ट्रेलियाका लागि अफगानिस्तान तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी हो । अस्ट्रेलिया विश्वकपमा स्थापित राष्ट्र हो भने अफगानिस्तान भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा उदाउँदै गरेको राष्ट्र हो ।
अस्ट्रेलिया हालसम्म सबैभन्दा बढी विश्वकप उपाधि जित्ने टोली पनि हो । अस्ट्रेलियाले हालसम्म सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ गरी पाँचपटक विश्वकपको उपाधि चुमिसकेको छ । अफगानिस्तानले भने यसअघि सन् २०१५ को विश्वकप खेलेको थियो । त्यति बेला अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो ।
अफगानिस्तानले अस्ट्रेलियाविरूद्धको खेलमा आफ्नो स्पिनलाई सबैभन्दा ठूलो हतियारका रूपमा अघि सार्ने सम्भावना छ । भारत र इङ्ल्यान्डजस्ता राष्ट्रले पनि अस्ट्रेलियन ब्याट्सम्यानलाई अंकुश लगाउन स्पिन बलरलाई नै प्राथमिकताका साथ अघि सार्ने गरेका छन् । गुलबदिन नाइबको कप्तानीमा रहेको अफगानिस्तानले पनि रसिद खान, मजिब उर रहमान र मोहम्मद नाबीमार्फत सोही रणनीति अघि सार्ने अनुमान गरिएको छ । अर्कोतिर अस्ट्रेलियन टोलीमा भने अनुभवी र क्षमतावान् खेलाडीको कमी छैन । एरोन फिन्चको कप्तानीमा रहेको अस्ट्रेलियन टोलीमा स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, डेभिड वार्नर, मिचेल स्टार्क, नाथन लियोन, सन मार्सजस्ता प्रभावशाली खेलाडी टोलीमा छन् ।
विश्वकपमा दुई टोली
कुल : १० खेल
श्रीलंका विजयी : ६ खेल
न्युजिल्यान्ड विजयी : ४ खेल
आजको खेल
न्युजिल्यान्डविरूद्ध श्रीलंका
(दिउँसो ३ः१५ बजे : सोफिया गार्डेन्स)
अफगानिस्तानविरूद्ध अस्ट्रेलिया
(साँझ ६ः१५ बजे : काउन्टी ग्राउन्ड)