भाग्य जाँच्ने भाँडो

भाग्य जाँच्ने भाँडो

गर्मी बढेसँगै स्वयम्भूस्थित विश्व शान्ति पोखरीमा भाग्य जाँच्नेको भीड लाग्ने गर्छ। मोटर गाडीमा स्वयम्भू महाचैत्यको दर्शन गर्न जानेहरूका लागि विश्व शान्ति पोखरी आधार शिविर हो। यहाँ पोखरीको बीचमा बुद्धको सुनौलो रङको पूर्ण कदको मूर्ति स्थापित छ। त्यही मूर्तिको अगाडि पित्तलको भाँडो राखिएको छ। यस भाँडोलाई गुल्पा भनिन्छ। यो भाँडोमा पोखरीको डिलबाट सिक्का खसाइन्छ। सिक्का भाँडोभित्र पर्‍यो भने सिक्का खसाउने व्यक्ति भाग्यमानी भनेर चिनिन्छ।

 सिक्का खसाउनेमा विशेषगरी नेपाल, भारत, चीनलगायत विभिन्न देशका धार्मिक पर्यटक हुने गर्छन्। अभिभावकसँगै घुम्न गएका बालबालिका मनोरञ्जनको रूपमा सिक्का खसाउँछन्। अलि ठूला कलेज पढ्नेहरू आफ्नो पढाइ, प्रेम र विदेश यात्रामा सफलता र असफलताको नतिजा जान्न चाहन्छन् भने प्रौढ वा वृद्धवृद्धा गौतम बुद्धलाई दानपात्रमा भिक्षा दिएको सम्झन्छन्। उक्त गुल्पामा सिक्का पस्यो भने आफूले दिएको भिक्षा बुद्ध भगवान्ले ग्रहण गरेको विश्वासका साथ खुसी हुन्छन्।

 सिक्काको व्यापार

भाग्य जाँच्ने यन्त्रका रूपमा प्रयोग हुने सिक्काको व्यापारबाट तीनचार परिवारको घर खर्च राम्रोसँग चलेको छ। हुन त जुन देशका नागरिक आउँछन् त्यही देशको सिक्का भाँडोमा खसाउँछन्। जब सिक्का सकिन्छ तब नेपाली सिक्का साट्छन्। पाँच रुपैयाँको नोट दियो भने चार सिक्का, दसको आठ र बीसको सोह्रवटा सिक्काको दरले रुपैयाँ साटिन्छ। सालाखाला दैनिक तीन हजारदेखि पैंतीस सयको व्यापार हुने गरेकोमा बुद्धपूर्णिमा, चैतपूर्णिमा र       श्रीपञ्चमीमा मानिसको भीडसँगै व्यापारमा वृद्धि हुने गरेको विगत १४ वर्षदेखि सिक्काको व्यापारमा संलग्न ललितपुर धुसेल– १ स्थायी घर भएका पदमबहादुर लामा बताउँछन्। लामा १७ वर्षअघि ज्यामी काम गर्न स्वयम्भू छिरेका पहिलो र पुरानो सिक्का व्यापारी हुन्।

भाग्य जाँच्ने यन्त्रका रूपमा प्रयोग हुने सिक्काको व्यापारबाट तीनचार परिवारको घर खर्च राम्रोसँग चलेको छ।

अहिले उनीसँगै सिक्काको व्यापार गर्ने चारजना पुगेका छन्। अरू कामको तुलनामा सिक्काको व्यापार सुरक्षित, सजिलो र जोखिमरहित भएको सिक्काका व्यापारीहरू बताउँछन्। महिनामा दुईपटक स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्थानीय क्लबहरूसँग मिलेर पोखरी सफा गर्ने क्रममा सिक्का सोहोर्ने गर्छ। विश्वका विभिन्न सयौं देशका सिक्का सो अवसरमा भेटिन्छ। सोही अवसरमा व्यापारीले समितिसँग सिक्का साट्ने गर्छन्।

धार्मिक आस्था वा मनोरञ्जनले खसालिएको सिक्काबाट पोखरीको सरसफाइ र पानी भर्न लाग्ने खर्च धानेको छ। महिनामा दुईपटक आठजना ज्यामी लगाएर पोखरी सफा गर्ने गरेको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका उपाध्यक्ष ज्ञानु लामाले जानकारी दिए। सफाइपछि पोखरीमा पानी भरिन्छ। एकपटकमा सात ट्यांकी पानी भर्ने गरेको उपाध्यक्ष लामाको भनाइ छ।

लामाका अनुसार विश्व शान्ति पोखरीको अर्थ र महत्व अलि बेग्लै रहेको छ। १९७५ साल अर्थात् एक सय वर्षअगाडि स्वयम्भू जीणोद्धार गर्ने क्रममा पानी जम्मा पार्न खनिएको खाल्डो हो– विश्व शान्ति पोखरी। त्यतिबेला स्वयम्भूको डाँडामा पानी थिएन। चुनको जमाना थियो। पानी जम्मा पार्ने ट्यांकी थिएन। स्वयम्भू महाचैत्य जीर्णोद्धार गर्ने क्रममा वरिपरि बस्तीका मानिसलाई पानी बोक्न बोलाइन्थ्यो। टोलभरिका मानिसले बोकेर ल्याएको पानी जम्मा पार्न खनिएको खाल्टो काम सकिएपछि त्यत्तिकै छाडिएको थियो। बर्खामा खाल्टोमा जमेको पानीमा बालबालिका र पशु डुबेर मर्ने सम्भावनासँगै महासमितिको आँगनमा खाल्टो राम्रो देखिएन।

२०५३ सालमा गठन भएको महासमितिले पहिलो काम सिमेन्ट प्लास्टर गरेर खाल्टोलाई पोखरीमा परिणत गर्‍यो र पोखरीका बीचमा बुद्धको पूर्ण कदको सुनौलो रङको मूर्ति स्थापना गर्‍यो। पछि त्यसलाई पनि सिक्काले टाढाबाट हिर्काएर छियाछिया पारेपछि मूर्ति जोगाउन मूर्तिअगाडि पित्तलको गुल्पा राखियो। त्यसपछि सिक्का खसाउनेको झनै भीड लाग्न थाल्यो। मूर्ति जोगाउन राखेको गुल्पाले धार्मिक पर्यटकको आस्थालाई अरू रोमाञ्चक तरिकाले स्थापना गराइदियो। आस्थाले नै ढुंगालाई भगवान् बनाइदिन्छ भनेजस्तै स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आफ्नो आँगनको शोभा बढाउन बनाइएको पोखरी अहिले विश्व शान्ति पोखरीको नामले प्रख्यात छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.