यार्साबाट ९० लाख राजश्व
मुगु : मुगुम कार्मारोङ्ग गाउँपालिकाले यार्सा संकलकबाट ९० लाख राजश्व उठाएको छ। २ नम्बर क्षेत्रमा पर्ने यार्सा पाटनमा गएका संकलनकर्ताबाट पालिकाले उक्त रकम उठाएको गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले जानकारी दिए।
मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँका आधा दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बु पाइन्छ।संकलनकर्ताबाट प्रति व्यक्ति २ हजार र बाहिर जिल्लाबाट आउनेबाट २ हजार ५ सय रुपैयाँ प्रवेश उक्त शुल्क उठाएको थियो।
मुगु गाउँको छापाखोला, च्यार्कु, रिमार, ठुलोकोखि, स्यानकोखि, चाल्ने ,टाँके र हङ्गदङ्गखोलालगायतका पाटन क्षेत्रमा पाइने यार्सागुम्बु सकंलनकर्ताबाट गाउँपालिकाले जेठ १३ गते देखि १८ गतेसम्म मुगु गाउँको सिरानीचौरमा प्रवेश शुल्क उठाएको थियो।
यो वर्ष जिल्लाभित्र र बाहिरबाट ४ हजार संकलनकर्ता पाटन क्षेत्र प्रवेश गरेका छन्।पालिकाका सूचना अधिकारी शाहीका अनुसार अघिल्लो वर्ष ६२ लाख रकम उठेको थियो।जेठ १८ गतेबाट यार्सा पाटन खुल्ला गरिएको थियो।