जीप दुर्घटना : प्रहरी निरीक्षकले चालक फेर्न १० लाख लिएको आरोप
नवलपुर : आर्थिक प्रलोभनमा पारेर नक्कली सवारी चालक खडा गरेको आरोपमा पूर्वी नवलपरासी इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।
आर्थिक प्रलोभनका कारण सवारी ज्यान मुद्दामा चालक फेरेको आरोपसहितको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो।गत वैशाख ११ गते पूर्वपश्चिम राजमार्गको गैंडाकोटमा जीपले ठक्कर दिँदा मोटरसाइकलको पछाडी बस्ने महिलाको मृत्यु भएको थियो। मोटरसाइकल चालक गम्भीर छन्।
प्रहरी निरीक्षक जिसीले जीप चालक फेर्न १० लाख रुपैयाँ लिएको आरोप छ। जीप चालकको लाइसेन्स नभएपछि जिसीले लाइसेन्स भएका किसुन महतोलाई नक्कली चालक बनाएर मुद्दा प्रक्रिया अघि बढाएको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको हो।
लेनदेनको विषयमा आफूलाई जानकारी नभएपनि घटनाको अनुसन्धानका लागि बोलाएपछि प्रहरी निरीक्षक जिसी आफै आयोगमा पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए।