मुक्तिनाथ क्षेत्रमा हजार विरुवा रोपियो
मुस्ताङ : हिमाली जिल्ला मुस्ताङको पवित्र धार्मिकस्थल मूक्तिक्षेत्रमा वृक्षारोपण भएको छ। अन्तराष्ट्रिय विश्व वातावरण दिवसको अवसर पारेर त्यस वरपर वृक्षारोपण भएको हो।
जिल्ला युवा समिति र जनप्रिय युवा क्लव रानीपौवाको संयुक्त आयोजना तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप र डिभिजन वन कार्यालय मुस्ताङको सहआयोजनामा मुक्तिक्षेत्रको रानीपौवामा विरुवा रोपिएको जिल्ला युवा समिति मुस्ताङको संयोजक सम्राट गौचनले जानकारी दिए।
वृक्षारोपण गरिएको स्थानमा ५ सय मिटर लामो सिचाई पाइपको व्यवस्था गरिएको छ। त्यस्तै, वरपर तारजाली लगाई पर्खाल निर्माण गर्ने र विरुवा सिचाईका लागि आवश्यक औजार समेत उपलब्ध गराएको छ। विरुवाको सिचाई र संरक्षणका लागि ५ लाख बजेट विनियोजन गरेको वन कार्यालयले जनाएको छ।
मुक्तिक्षेत्रको साङ्तोकमा लगाइएका विरुवाको हेरचाह जनप्रिय युवा क्लव रानीपौवाले गर्ने क्लवका अध्यक्ष उल्र्गेन पाल्देन गुरुङले जानकारी दिए। वृक्षारोपणका लागि चाहिने विरुवा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले उपलब्ध गराएको शान्ति गुरुङले जानकारी दिइन्।