क्लेशा ‘देवदत्तको दु:खद् अन्त्य’
काठमाडौं : भनिन्छ, संसारमा जति पनि युद्ध, अपराध, झगडा हुन्छ त्यसको पछाडि कहीँ न कहीँ क्लेश, अज्ञानता, अहंकार, मोह र पैसा रहेको हुन्छ। गत शुक्रबारदेखि मण्डला थिएटर अनामनगरमा मञ्चन भइरहेको नाटक क्लेशामा मुख्य पात्र देवदत्तको दु:खद् मृत्यु पनि क्लेशकै कारण भएको छ।
हामीले समाजमा पद, पावर र शक्तिले मानिस अन्धो भएको देखेका छौं। सामाजिक प्रतिष्ठाको लोभमा मानिस आफ्नो घर परिवार, गाउँ छिमेकमा एकछत्र राज गर्न चाहन्छ। यसको असर कति गहिरो पर्न सक्छ ? लोभ लालचले परिवार छिन्नभिन्न भएको छ। ध्वस्त भएको छ नाटकमा।
आधा शतकअघिको पञ्चायती नेपाली समाजको कथामा क्लेशाका पात्रहरूले अभिनय गरेका छन्। नाटकले अहिलेको राजनीतिक अवस्था देखाउने प्रयास गरेको छ। यो नाटकलाई प्रतीक्षा कट्टेलले लेखेकी हुन्। उनले क्लेशाको मुख्य श्रोत रामायण भएको बताएकी छन्। उनले ऋषि वाल्मीकिको अलौकिक कहानीलाई धार्मिक धागोले नबेरिकन समसामयिक रूपमा नाटकीय प्रस्तुति दिने चेष्टा गरेको प्रस्ट पारेकी छन्। रामायणलाई नयाँ कोणबाट हेर्न खोजिएको उनले दाबी गरिन्।
नेपालको एउटा दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक, सांस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रलाई पुनर्परिभाषित गरिएको छ। नाटकमा देवदत्त, बलराम, अनुज, कान्छो रुद्रलगायतका पात्र छन्।
प्रधानपञ्चको भाइले रुद्रकी बहिनी कान्छीमाथि विश्वासघात गरेको छ। एकान्त पारेर उसलाई अपशब्द बोल्दै, कुटपिट गर्छ। कुटपिट र सामाजिक बेइज्जति सहन नसकेर कान्छी मानसिक सन्तुलन गुमाउन पुग्छे। रुद्रले देवदत्तकी श्रीमती भूमि (सुरक्षा पन्त) लाई अपहरण गरेर लैजान्छ। उनीहरूले गाउँ छाड्छन् र तराई झर्छन्। यो दृश्यसँगै नाटकको कथा अगाडि बढ्छ।
अँध्यारो हलबाट भित्र पस्नासाथ पृष्ठभूमिमा सुमधुर धुन बज्छ। हार्मोनियम र गितारको मधुर धुनसँगेै मञ्चमा मैनबत्ती बोकेका केही पुरुष पात्र देखा पर्छन्। उनीहरूले कवितात्मक शैलीमा थिएटरभित्रका नियम बताउँछन्। प्रस्तुतिमा सिर्जनशीलता छ। नयाँपन छ। नाटक अवधिभर प्रत्यक्ष संगीत बज्छ।
पञ्चायतकालीन महाजनी परम्परा व्याप्त छ गाउँमा। गाउँलेहरूले महाजनकै काम गर्नुपर्ने, उनीहरूकै इशारामा चल्नुपर्ने अवस्था थियो। क्लेशा नाटक अभिनेत्री सुरक्षा पन्तको डेब्यु नाटक हो। उनी देवदत्तकी श्रीमती ‘भूमि’ को भूमिकामा छिन्। जो रुद्रको अपहरणमा परेकी छन्। अनुजले कान्छीलाई मायाको नाटकमा फसाउँछ। भूमिले रुद्रको घरमा गएपछि मात्रै देवरको यस्तो चरित्र थाहा पाउँछे। उसले कान्छीलाई साथ दिन्छे।
‘तँ आफ्नो बाटो हिँड, म आफ्नो बाटो हिँड्छु’, अनुजले कान्छीलाई आदेश सुनाउँछ। ‘मेरो महिना रोकिएको छ अनुज, दुई महिना हुन लागिसक्यो’ कान्छीले रुँदैै अनुजसँग आफ्नो लाचारी देखाउँछे। कान्छीको यो अवस्थाले हाम्रो समाजका आम युवतीको मनोदशा बुझ्न सकिन्छ जसले प्रेमीको विश्वासमा आफ्नो अस्तित्व धरापमा पारेका छन्। अनुज आश्चर्यचकित हुँदै अविश्वास गर्छ कान्छीलाई। ऊ पुन: बोल्छे, ‘यो तेरो हो भनेर भन्दिछु सबैलाई। अनुजको आँखामा रिसको ज्वाला दन्किन्छ। पुन: बेवास्ता गर्दै धम्क्याउँछ, ‘जा भन्...जा गएर भन्..’ अठ्ठहास छाड्दै बोल्छ, ‘तेरो कुरा कसले पत्याउँछ र ? ’ नाटकको यो दृश्य हेर्दै गर्दा जो कोहीलाई लाग्न सक्छ, अनुकूल हँुदासम्म मायाको नाममा शरीर भोगिरहने प्रेमी निमेषभरमै कसरी राक्षस बन्छ ? अनुजले समाजका धेरै पात्रलाई बोकेको छ। प्रेमको नाममा युवतीलाई यौनदासी बनाउने, बलात्कार गर्ने र हत्या गर्नेसम्मका घटना घटिरहेको देखेका छौं। ती पात्रको प्रतिनिधित्व अनुजले गर्छ।
कान्छीलाई अनुजका मान्छेले सार्वजनिक रूपमै बेइज्जत गर्छन्। कुटपिट र लछारपछार गर्छन्। कान्छी मानसिक रूपमा विक्षिप्त बन्छे। चिच्याउँछे, बर्बराउँछे। भन्छे, ‘म बोक्सी होइन, म चरित्रहीन होइन, मलाई नपिट्नुस्।’
देवदत्तले भाइको गलत काम थाहा पाएपछि पनि उसलाई रोक्दैन। आफ्नी श्रीमती रुद्रले अपहरण गरेको छ तर खासै मतलव छैन। देवदत्तको चरित्रले नेपाली समाजमा फैलिँदै गएको दण्डहीनता देखाएको छ। उसले कान्छीलाई न्याय दिन सक्दैन। ‘सानालाई ऐन र ठूलालाई चैन’ भन्ने उखान यहाँ चरितार्थ भएको छ। अनुज महाजनको भाइ भएकै कारण उसले गरेको गल्ती माफी हुन्छ।
देवदत्तले श्रीमतीलाई माया गर्छ तर रुद्रको घरमा लिन जान अलमल गर्छ। भूमि श्रीमान्को मायामा व्याकुल भएकी छे। वनारसमा पढ्दापढ्दै देवदत्तसँग बिहे गरेकी भूमि गाउँमा आएपछि महाजनको घरभित्रै निस्सासिएकी छे। देवदत्तसँग पटकपटक काठमाडांै जाने आग्रह गर्छे तर देवदत्त घरभित्रै रमाउन आदेश दिन्छ। देवदत्तको घरभित्र नैराश्य जीवन बाँचिरहेकी भूमि स्वतन्त्र आकाशमा उड्न चाहन्छे। ऊ श्रीमान्लाई माया गर्छे र गाउँ छाडेर हिँड्न पनि सक्दिनँ।
भूमि र देवदत्तको प्रेमिल सम्बन्धलाई नाटकले सुन्दर तरिकाले प्रस्तुत गरेको छ। एकअर्कामा जिस्कँदै चिया पिएको पल होस् या मध्यरातमा जून हेर्दै प्रेमिल गफ गरेको दृश्य होस्। हरेक दृश्यले दर्शकलाई रोमाञ्चित बनाउँछ। देवदत्त बाबुको पञ्चायती शासन लागू गर्न व्यस्त देखिन्छ। रुद्रलाई गाउँलेले दिएको साथ, सहयोग देखेर उनीहरू इष्र्याले जल्छन्। एकमुष्ट घर बनाउन गाउँलेहरू रुद्रकै अगुवाइमा काम गरिरहेका छन्। भूमिको अपहरण गरेर ल्याए पनि रुद्रले भूमिलाई परिवारकै सदस्य जस्तो सम्मान दिएको छ। भूमि ज्वरोले आत्तिँदा राति उठेर औषधिमुलो गर्छ। रुद्रको सहयोगी भाव देखेर भूमि पनि खुसी भएकी छे। ऊ रुद्रको घरमा रमाउन थाल्छे। विभिन्न नीति नियमले घेरिएको देवदत्तको घरभन्दा पनि उसलाई रुद्रकै घर प्यारो लाग्छ। भन्छे, ‘कताकता मलाई यो घर रमाइलो लागेको छ। स्वतन्त्र तबरले आत्मसम्मानमा मान्छे खुसी हुने रहेछ।’
भूमि र रुद्रबीच अप्रत्यक्ष आत्मीयता बढेको छ। सुनसान तलाउ हेर्दै घण्टांै गफिन्छन् उनीहरू। कविता भन्छन्, सुनाउँछन् र एकअर्काको नजिक हुन्छन्। नाटकले प्रेम, इज्जत, माया मोहलाई सरल तरिकाले प्रस्तुत गरेको छ। ग्रामीण जीवनको सुन्दरता, जीवनशैली र चालचलन दुरुस्त उतार्ने प्रयास गरिएको छ। सम्रग रूपमा नाटक लयात्मक बनेको छ। दृश्य सुहाउँदो संगीत र लाइटले दर्शकलाई भरपुर आनन्द दिन्छ। भूमिलाई लिन रुद्रको घरमा आएको देवदत्तका मानिसले गाउँलेहरूको बन्दै गरेको घरमा आगो लगाइदिन्छन्। गाउँ ध्वस्त बन्छ। रुद्रलाई मार्न अनुजले हानेको गोली लागेर देवदत्तको मृत्यु हुन्छ। नाटक टुंगिन्छ।