मोदी लोकप्रियताको अपाच्य सत्य

मोदी लोकप्रियताको अपाच्य सत्य

गत महिना नेपालका क्रिकेटप्रेमीहरू आईपीएलको फाइनल खेलमा भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी र रोहित शर्माको पक्ष र विपक्षामा विभाजित देखिए। नेपाली नेटिजन्स (नेट प्रयोग गर्ने नागरिक) ले धोनी र शर्माको पक्षमा आआफ्नै तर्क, तथ्य र रुचि प्रस्तुत गरेको कसैका लागि आपत्तिको विषय हुन्छ ? भारतीय सिनेमाकी नायिका आलिया भट्टको थर नेपालमा पनि प्रयोग गरिन्छ तर पनि तपसी पन्नुको अभिनयका प्रशंसक पनि नेपालमा छन्। आलियाभन्दा तपसीलाई कुशल कलाकार भन्न मिल्छ। आयुष्मान खुरानाका प्रशंसक पनि नेपालमा छन्, शाहरुख खानका पनि। नेपालमा प्रसिद्ध रहेको हिन्दी संगीतमा पनि नेपाली नागरिकका आआफ्नै रोजाइ र रुचाइ छन्।

भारतको निर्वाचनमा नरेन्द्र मोदी बलियो भएको, मोदीको प्रतिपक्ष कमजोर भएको र भारतीय कम्युनिस्ट पार्टी एउटा प्रभावहीन सानो दलको रूपमा रहेको आशयको पंक्तिकारको गत महिनाको लेख आदरणीय नेपाली नेटिजन्सद्वारा सामाजिक सञ्जालमा आलोचित भयो। त्यहाँ लेखिएका विमतीका शब्द यहाँ उल्लेख गर्न शोभनीय हुँदैन। ती सिञ्चित मानसिकताका उपज केही प्रश्न यहाँ सान्दर्भिक हुन्छन्। भारतमा मोदी लोकप्रिय छन् भनेर लेख्न किन मिल्दैन ? मोदीले जित्छन् भन्न किन मिल्दैन ? कन्हैयाको दल सानो छ भन्न किन नहुने ? कन्हैया भारतीय प्रतिपक्षको प्रतिनिधित्व गर्दैनन् भन्न किन नमिल्ने ?       

‘हरहर मोदी, घरघर मोदी’ को नाराले मोदीको स्वागत गरिएको एक मात्र विदेशी मुलुक नेपाल हो। ती नारा लगाउने नागरिक नेपाली हुन्। तिनै नागरिकलाई मोदीले नाकाबन्दीमार्फत घाँटी थिच्न खोजेको सत्य हो। नेपाल सरकारले भारतसँगको सम्बन्ध सुधार भइसकेको घोषणा गरेको पनि सत्य हो। भारतीय राज्य गुजरातको गोधरामा भएको धार्मिक दंगाको दोषमा अमेरिकाले सन् २००५ मा मोदीलाई प्रवेशाज्ञा उपलब्ध नदिएको सत्य हो। सन् २०१४ मा भारतीय जनमतले मोदीको पापमोचन गरेकाले अमेरिकाले तिनै मोदीलाई रेड कार्पेटले स्वागत गरेको पनि सत्य हो। मोदी सरकारले नेपालमा संविधान संशोधन गर्न दबाब दिएको पनि सत्य हो। नेपाल सरकारले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेको पनि सत्य हो। अहिलेको निर्वाचनको तथ्यांक हेर्दा केही गरिब, दलित र मुसलमानसमेतले मोदीलाई मत दिएको देखिन्छ। मोदीको दोस्रो कार्यकालमा पनि भारतीय संसद् प्रतिपक्षविहीन भएको छ। सत्य अपाच्य हुन सक्छ तर मोदीको लोकप्रियतामा वृद्धि भएको तथ्यांकले देखाइसकेको छ। मोदीको प्रशंसा गर्नु पंक्तिकारको उद्देश्य होइन। तथ्य लेख्न राष्ट्रवादले छेक्दैन।

के हो भारतीय दलाली ?       

मोदी जितको नजिक छन् भन्ने पंक्तिकारको भनाइलाई आदरणीय नेटिजन पाठकहरूले मोदीको दलाली गरेको भनेर लेखे। स्मरण रहोस्– भारतीय निर्वाचनको मतगणना समाप्त नहुँदै ओलीले मोदीलाई बधाई दिएका थिए। नेपालको संविधानको घोषणा रोक्न काठमाडौंमै उत्रेर नेपालको संविधानमा खुला हस्तक्षेप गरेका तत्कालीन भारतीय विदेश सचिव एस जयशंकरको शपथ ग्रहणमा राष्ट्रवादी नेताको उपमा प्राप्त गरेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको अतिथीय उपस्थित भइसकेको छ। नाकाबन्दीको विषयमा भारतले क्षमा नमाग्दै भारतमा गएर ओलीले मोदीसँग हात मिलाएका थिए। भारतमा बसेर नेपालमा रक्तपातपूर्ण क्रान्ति गराइएको थियो।

भारतीय कम्युनिस्ट पार्टीका एकजना युवा नेताको निर्वाचन क्षेत्रमा कार्यकर्ता खटाएर नेपालका छापामा त्यससम्बन्धी लेख प्रकाशित गरिएका थिए। नागरिकता वितरणमा नेपाल सरकार भारतीयप्रति उदार छ। भारतको रोहबरमा बाह्रबुँदे समझदारी गरेर राजतन्त्र बिदा गरिएको थियो। पुष्पलालदेखि प्रचण्डसम्मका सबैले भारतको उपयोग गरेका छन्। कांग्रेस, राजपा र राप्रपाको कुरै छोडौं। यी भारतीय दलालीका उदाहरण हुन् वा होइनन् ? कन्हैया सामान्य नेता हुन् भन्नेलाई भारतीय दलाल भनिए कन्हैयालाई महान् नेता मान्ने भारतीय दलाल होइनन् ?       

मोदी सफल कि असफल ?       

मोदी राष्ट्रिय स्वयंसेवक संघजस्तो एक विवादित संस्थासँग आबद्ध नेता हुन् तर मोदीको नेतृत्वमा निर्वाचनमा गएको भाजपाले ऐतिहासिक सफलता प्राप्त गरेको छ। विगत ५० वर्षमा भारतमा कुनै दलले लगातार दोस्रोपटक स्पष्ट बहुमत पाएको र सत्ता समर्थक मनोभावमा वृद्धि भएको यो पहिलो घटना हो। ३३ वर्षसम्म कम्युनिस्टले राज गरेको राज्य पश्चिम बंगालका जनताले अहिले दक्षिणपन्थी दल भाजपालाई मत दिएका छन्।

कर्नाटक, छत्तीसगढ, उडिसा, मध्यप्रदेश र राजस्थानको विधानसभा निर्वाचनमा जनताले भाजपालाई रुचाएनन् तर लोकसभा निर्वाचनमा मोदीलाई मत दिए। राजनीतिमा प्रवेश गरेको हप्ता दिनमा निर्वाचनमा गएका खेलाडी र सिनेकर्मीसमेतले सचेत मतदाता रहेका निर्वाचन क्षेत्रमा विजय प्राप्त गरे। दिल्ली विधानसभामा करिब ९५ प्रतिशत उपस्थिति रहेको आम आदमी पार्टीले दिल्लीमा खाता खोल्न सकेन। तीनजनाको धरौटीसमेत जफत भयो। संसद्मा कम्युनिस्ट दलहरूको उपस्थिति नगण्य भयो। भारतीय संसद् पुनः एकपटक प्रतिपक्षविहीन भएको छ। केवल मोदीको संवाद क्षमता, सम्प्रेक्षणीय कला र चमत्कारिक नेतृत्वले भाजपाले यस्तो चमत्कार गरेको मोदीविरोधी विश्लेषकले समेत भारतमा भनिरहेका छन्।

कांग्रेसको परम्परागत निर्वाचन क्षेत्र उत्तरप्रदेशको अमेठीमा कांग्रेसका अध्यक्ष राहुल गान्धी पराजित भए। एकपटक काका सञ्जय गान्धी, चारपटक बुवा राजीव गान्धी, एकपटक आमा सोनिया गान्धी र तीनपटक स्वयं आफैं निर्वाचित भएको अमेठीमा यसपटक एक सानो पर्दाकी कलाकार स्मृति इरानीसँग राहुलको प्रतिस्पर्धा थियो।

यहाँ उत्तरप्रदेशका राजनीतिक हस्तीहरू अखिलेश यादव र मायावतीले राहुललाई समर्थन गरेका थिए। यो जनता सञ्चित मानसिकताका दास नभएको संकेत हो। यो वंशवादको गालामा हानिएको एक दरिलो झापड पनि हो।

भारतमा मोदी सरकारसँग दुईतिहाइको बहुमत छैन, नेपालमा ओलीको सरकारसँग स्पष्ट दुईतिहाइको बहुमत छ। मोदीको पुनरागमनसँगै नेपालमा सत्ता परिवर्तन हुने हल्लाको मुहान के हो ?

उत्तरप्रदेशमा अखिलेश यादव, मायावती र अजित सिंहको गठबन्धनले तिनका जातीय र धार्मिक मतदातालाई एकत्रित गर्न सकेनन्। बाबुको विर्तामा निर्वाचन क्षेत्र प्राप्त गरेका कतिपय सम्भ्रान्त परिवारका नेताहरू पराजित भएका छन्। यी भारतीय लोकतन्त्रका उपलब्धि हुन्। उत्तर प्रदेशमा मुसलमानको मतसमेत भाजपालाई गएको देखिन्छ। यसरी भाजपालाई जनताले जाति र धर्मको संकुचित मानसिकताभन्दा माथि उठेर विश्वास गरेको देखिन्छ। एक राजनीतिक दलका रूपमा यो भाजपाको र यसका अध्यक्ष अमित शाहको ठूलो सफलता हो।

आर्थिक वृद्धि र रोजगार सिर्जनामा मोदी सरकारका तथ्यहरू उत्साहजनक छैनन्। छिमेकीसँगको सम्बन्ध मोदीले सुधार्न सकेका थिएनन्। मोदीको पुरानो नारा ‘अच्छे दिन’ मा प्रशस्त विवाद गर्न सकिन्थ्यो तर मोदीले यो निर्वाचनमा प्रतिपक्षको ध्यान विकासबाट राष्ट्रवादतिर मोडे र प्रतिपक्षलाई रक्षात्मक स्थितिमा राखे। हिन्दुत्वको नारामा प्रतिपक्षले मोदीलाई प्रहार गरे तर यसले पनि विकासको मुद्दा झन् ओझेलमा पर्‍यो। यो निर्वाचनमा मोदी आर्थिकभन्दा राष्ट्रवादको मुद्दामा केन्द्रित रहे। कुशल संवादकर्ता भएका कारण सञ्चार क्षेत्रको मोदीले यथेष्ट उपयोग गरे। हिन्दुत्वलाई विशेष नाराका रूपमा प्रयोग गर्ने जोखिमपूर्ण निर्णय गरेर भाजपाले एक विवादित कार्यकर्ता प्रज्ञासिंह ठाकुरलाई मैदानमा उतारेको लाभ प्रतिपक्षले लिन सकेन। प्रज्ञालाई एउटा आतंकवादी हमलाको आरोप छ। महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेलाई प्रज्ञाले देशभक्त भनेको भाजपाका लागि घातक हुन सक्थ्यो तर प्रतिपक्षले नै मोदीको विकल्प नदिएपछि जनतालाई मोदीलाई भोट हाल्न झन् सहज भयो।

लोकतन्त्र संख्यामा सीमित हुँदैन। ती संख्याभित्रको अर्थ महत्त्वपूर्ण हुन्छ। संसद्मा प्रज्ञाको उपस्थिति मोदीका लागि एक राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौती हुनेछ। यस्ता कट्टरपन्थीहरूको उदय एक हुल्लडतन्त्रको उदयको संकेत हो। यसले भारतीय समाजलाई एकीकृत गर्नेभन्दा धु्रवीकृत गर्ने छ। राम मन्दिर निर्माण र कश्मीर समस्यामा मोदीको दलको धारणाले समाज थप विभाजित र धु्रवीकृत हुनेछ। आपराधिक पृष्ठभूमिका नेताको निर्वाचित हुने सम्भावना भारतमा घटेको छैन। अर्थात् मोदीको पहिलो कार्यकालमा हुल्लडबाजी भारतमा जीवित छ। चुनावी नारालाई आर्थिक कार्यक्रममा ढाल्नु मोदीका लागि चुनौती छँदै छ। यो दशकमा चीन र अमेरिकाको बीचमा आर्थिक द्वन्द्व हुनेछ। यसमा सन्तुलन कायम गर्नु मोदीका लागि चुनौतीपूर्ण हुनेछ।३. नेपाल किन चिन्तित ?       

मोदीको दोस्रो कार्यकालको सुरुवातसँगै नेपालका छापामा विश्लेषकहरूका तर्क आउन सुरु गरिसकेका छन्। नेपालमा संकट आउने, सरकार परिवर्तन हुने, भारतको नेपाल नीति परिवर्तन हुने, राजतन्त्र फर्किनेजस्ता मनसाय व्यक्त भइसकेका छन्। यो भय किन ? भारतमा मोदी आए तर नेपालको संसद्को दलीय संख्यामा परिवर्तन भएको छैन। ओलीले नाकाबन्दीपश्चात् मोदीको आँगनमा गएर अब नाकाबन्दी कहिल्यै नहुने गरी सम्बन्ध सुधार भइसकेको भनेका छन्। त्यसमा विश्वस्त हुन किन नसकेको ? जनताको स्पष्ट बहुमतको सरकारलाई मोदीले कसरी ढाल्न सक्छन् ? यो संसद्को अपमान होइन ? मोदीले नेपालको संविधानका केही धाराहरू परिवर्तन गर्न सकेका छैनन्, कसरी तिनले नेपालमा राजतन्त्र ल्याउन सक्छन् ? भारतमा मोदी सरकारसँग दुईतिहाइको बहुमत छैन, नेपालमा ओलीको सरकारसँग स्पष्ट दुईतिहाइको बहुमत छ। मोदीको पुनरागमनसँगै नेपालमा सत्ता परिवर्तन हुने हल्लाको मुहान के हो ? नेपालमा संकट आउँछ भन्ने मानसिकताको पृष्ठभूमि के हो ?       

यो अयोग्यताको प्रतीक र एकले अर्कोलाई दलाल मान्ने मानसिकता हो। कुनै पनि मुलुकले विदेशी मुलुकको हितलाई मध्यनजर गरेर आफ्नो नीति निर्माण गर्दैन। मोदीबाट नेपालको हितमा नीति निर्माण हुने आशा गर्नु अकर्मण्यता हो। नेपालको हितमा नीति निर्माण गर्ने नेपालले हो, मोदीले होइन। नाकाबन्दीको पृष्ठभूमि बनाउनेलाई मोदीले विदेश मन्त्रालय सुम्पेका छन्। यसलाई आगामी दिनमा भारत नेपालप्रति कठोर हुने एक सन्देशका रूपमा बुझ्न उपयुक्त हुन्छ। नेपाल सरकारले आफ्ना नागरिकको आवश्यकताको परिपूर्ति आफंै गर्न सकेको दिनमा भारत सरकार परिवर्तनले भयभीत हुनु पर्दैन। भारतको भयको कारण परनिर्भरता हो। नेपालीले ‘भारतमा मोदी आएर के भयो, नेपालमा पनि ओली छन्’ भनेर गर्व गर्न सकेमा नेपालको राष्ट्रियता मजबुत हुन्छ। मोदी विदेशी हुन्, उनले नेपाललाई समृद्ध बनाउने सामथ्र्य र हैसियत राख्दैनन्, ओलीले राख्छन्। चीनबाट रेल ल्याउने कुरो के भयो ? गत वर्षको तुलनामा यस वर्ष कुनै वस्तुमा नेपालको भारतमाथिको परनिर्भरता घटेको छ ? भयका कारण यो हो। नेपालको आर्थिक वृद्धि, रोजगारको सिर्जना, भ्रष्टाचार निवारण र सुशासनमा सुधार भयो ? भएन। त्यसैले ठूलाठूला नेताले नै सरकार परिवर्तन गर्ने भन्दै हिँडेका छन्। यसैमा विदेशीको चलखेल आमन्त्रित हुन्छ। अन्त्यमा, मोदी र जयशंकरको शपथ ग्रहणमा ओलीको उपस्थितिलाई नेकपाले कुन दृष्टिले हेर्ने ? राष्ट्रवादी, राष्ट्रघाती, दलाली, अवसरवादी वा कुनै नयाँ शब्द खोज्ने ?‘भारतीय दलाल’ जस्ता शब्दहरूको हिजो अत्यधिक प्रयोग भएकाले आज ती शब्द बजारमा छन्।

लोकतान्त्रिक सरकारले त्यस्ता दलाललाई कानुनी हैसियतमा कारबाही गर्नुपर्छ र अवसरका रूपमा यस्ता शब्दहरूको प्रयोग गरिनु हुँदैन। हातमा कचौरा थापेर लाजिम्पाट दरबारमा माग्न जाने परम्परा तोडिनुपर्छ। भारतमा बसेर नेपालको नोक्सान गर्ने नेताको भण्डाफोर गरिनुपर्छ। परनिर्भरता घटाउनुपर्छ। अनि नेपाल भारत सम्बन्धमा सुधारको अपेक्षा गर्न सकिन्छ। नत्र भारतले नेपाली नेतालाई नचाएको नांगो नाच मोदीको नयाँ सरकारले अब चट्टै छाडिदेला भनेर विचार विवेचना गर्नु समयको बर्बादी हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.