ज्यानमारा 'आठ लेन'

ज्यानमारा 'आठ लेन'

ललितपुर : ललितपुरमा १० महिनामा ६ सय ५८ वटा दुर्घटना भएका छन्। दुर्घटनामा २५ जनाको मृत्यु भइसकेको छ भने ४ सय ९४ जना घाइते भएका छन्।

यीमध्ये चक्रपथ सडकखण्डमा मात्रै साढे पाँच सय वटा दुर्घटना भएका छन्। धोबीघाट, एकान्तकुना, सातदोबाटोमा बारम्बार दुर्घटना दोहोरिँदै आएपछि यस क्षेत्रलाई ब्लाकस्पट भनिएको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जनाएको छ। उक्त कार्यालयका प्रमुख राजेश सिलवालका अनुसार चक्रपथ खण्डका धोबीघाट, एकान्तकुना, बीएन्डबी अस्पताल क्षेत्रलाई ब्लाकस्पटका रूपमा हेरिएको छ। दुर्घटना न्यूनीकरण गर्ने भन्दै ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले रेजरबाट गति जाँच गर्ने कार्य सुरु गरेको छ।

सिलवालका अनुसार सोमबारदेखि धेरै दुर्घटना हुने स्थानमा प्रहरीले रेजरले गति मापन गरिरहेको छ। ‘बिहान–बेलुका गति जाँच गरिरहेका छौं,’ उनले भने, ‘७ सयभन्दा धेरै सवारीको गति मापन सकिएको छ।’

५० भन्दा धेरै गतिमा सवारी हाँक्नेलाई सम्झाउँदै आएको ट्राफिक प्रहरीले एक सातापछि जरिवाना लिने भएको छ। नियम उल्लंघन गर्नेहरूलाई पाँच सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने सिलवालले जनाए। रेजरले गति मापन गर्ने अभ्यासमा कतिपय सवारीचालक सकारात्मक देखिएका छन्। उनले तीव्र गतिमा रहेका मोटरसाइकल रोकेर रेजरमापनबारे जानकारी दिएको बताए।

६ देखि ७ सय मिटर दूरीसम्मा रेजरले सवारीको गति जाँच गर्न सक्छ। लेन्सबाट हेर्दा एकपटकमा तीन÷चारवटा सवारीको गति नाप्न सकिन्छ। ‘सवारीको नम्बर र गति स्पष्ट देखिन्छ,’ सिलवालले भने, ‘विशेष गरी ठूला सवारीलाई सम्झाइरहेका छौं।’ कतिपय अवस्थामा सवारीचालकलाई विश्वस्त बनाउन समस्या परेको भन्दै सम्बन्धित व्यक्तिको सवारीको गति मापन प्रिन्ट गरेर दिन अलि झन्झटिलो हुने उनले सुनाए। उनले भने, ‘रेजर चलाउन तालिमप्राप्त जनशक्ति आवश्यक हुन्छ, यो महंगो हुने भएकाले चुनौतीपूर्ण पनि छ।’ ललितपुरमा एउटा मात्रै रेजर मेसिन दिने भनिएको र यसको १२ लाख रुपैयाँसम्म पर्ने उनले बताए।

धोबीघाटमा आइतबार भएको दुर्घटनामा ललितपुरका पत्रकार गोविन्द शर्मा चन्द्रमणि मुडभरीले ज्यान गुमाएका थिए। त्यस्तै, माघमा कुसुन्ती हाइटमा गोर्खा आरुघाटका नारायण खनालको मृत्यु भएको थियो। बिहान ५ः३० मा भएको दुर्घटनामा खनाललाई बा.११च २६७४ नम्बरको निजी कारले ठक्कर दिएको थियो। महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मि श्रका अनुसार बिहान हुस्सु लागेका बेला तीव्र गतिमा गुडेको कारले ठक्कर दिएको थियो।

चैतमा ललितपुर धोबीघाटमा जनक शिक्षा सामग्री केन्द्रको ना.१घ ५३३ नम्बरको किताब बोकेको ट्रकले बा.७च २१३१ नम्बरको तरकारी बोक्ने भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो। महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर हिक्मत थापाका अनुसार दोलखाका ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भई भैंसेपाटी बस्ने ४० वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको थियो।

चक्रपथ सडकखण्डमा आवश्यक भौतिक पूर्वाधार बन्न नसक्दा यस्ता खालका दुर्घटना दोहोरिएको ट्राफिक प्रहरीको बुझाइ छ। चक्रपथमा स्मार्ट ट्राफिक बत्ती, सडक बत्ती, जेब्रा क्रस, आकाशे पुल, पैदलयात्रीले नाघ्न नसक्ने खालका बारलगायत संरचना बन्नुपर्ने ट्राफिक प्रहरी परिसरका प्रमुख सिलवालले बताए। ‘चक्रपथ पैदलयात्रीमैत्री छैन’ विज्ञहरूलाई उद्धृत गर्दै उनले भने, ‘दुईपांग्रेले झन् दुःख दिन्छन्।’

ब्लाकस्पट (धेरै दुर्घटना हुने स्थान)

ओरालो, अलि खुला र घुमाउरो बाटोका कारण धेरै दुर्घटना हुने ठाउँलाई ब्लाकस्पट भनिएको छ। धोबीघाट, सानेपा, एकान्तकुना, बीएन्डबी अस्पतालअगाडि धेरै दुर्घटना हुने स्थान हुन्।

साउनदेखि वैशाखको तथ्यांक

– सातदोबाटो ३४५ दुर्घटना, १२ मृत्यु , २६९ घाइते।

– सानेपा २०४ दुर्घटना, ९ मृत्यु, १७२ घाइते।

– जाउलाखेल १०९ दुर्घटना, ४ मृत्यु, १३ घाइते।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.