अझैं उठेन लहानको फोहोर
सिरहा : जिल्लाकै प्रमुख व्यापारिक नगरी भनेर चिनिने पूर्व-पश्चिम लोकमार्गअन्तर्गत लहान बजारमा २३ दिनदेखि फोहोर उठेको छैनन्। बजारभरी फोहोरको डंगुर थुपारिएका छन्।बजार दुर्गन्धित बन्दै गएको छ।लहान वडा नम्बर- १ मा पर्ने गुदरी बजार, लहान वडा नम्बर ५ मा पर्ने साप्ताहिक हाटबजार, सवारी साधन पार्किङस्थल र सडक छेउछाउमा फोहोरले हेरिसक्नु छैन।
लहान नगरपालिका- ४ स्थित रहेको फोहोर व्यवस्थापन केन्द्रमा वडावासीले फोहोर फाल्न रोक लगाएपछि नगरपालिकाले बजारमै फोहोर छोडेको हो। गत वैशाख ३१ गते नगरपालिकाका सरसफाई कर्मचारी फोहोर व्यवस्थापन गर्न केन्द्रमा जाँदा स्थानीयले अवरोध गरेका थिए।त्यहाँका स्थानीयले यहाँ फालिएको फोहोरले आफूलाई समस्या भएको भन्दै अवरोध गरेका थिए। त्यही क्रममा कर्मचारी र स्थानीयबीच घम्साघम्सी परेको थियो।
त्यसपछि कर्मचारीले बजारमा झाडु लगाउने, तर फोहोर नउठाउने गरेका थिए। जेष्ठ ८ गते झाडु पनि लगाउन छाडेका छन् । फोहोर व्यवस्थापन केन्द्रलाई नगरपालिकाले भण्डारणको रुपमा परिणत गरेपछि स्थानीयले विरोध जनाएका छन्।
'फोहोरबाट मोहर' निकाल्ने नारा दिँदै ०७१ सालमै उक्त फोहोर व्यवस्थापन केन्द्र स्थापन गरिएको थियो। बजारको फोहोर लगेर व्यवस्थापन केन्द्रमा जथाभावी फाल्दा दिनदिनै दुर्गन्ध बढेपछि वडावासीले अवरोध गरेको स्थानीय जितेन्द्र महतोले बताए।
'पहिले फोहोरलाई खाल्डो खनेर गाड्ने गरिन्थ्यो, उनले भने, 'दुई वर्षयता त्यतिकै फाल्न थालेको थियो। वस्ती नजिकै फोहोर थुपारिएपछि दुर्गन्धले बस्न मुस्किल भएको छ।'
त्यहाँ रोक लगाएपछि वडा नम्बर १, ३, ५, ६, ७, ८ र १० का सडक तथा गल्लीमा फोहोरको डंगुर लागेको छ। नगरपालिकाले फोहोर उठाउन छाडेपछि स्थानीय बासिन्दाले आफ्नो घर, पसल अगाडि फिनेल छर्किने र साँझपख फोहोर जलाउने गर्न थालेका छन्।
वस्तीमा दुर्गन्ध बढ्दै गएपछि स्थानीयले गुनसो गरेको वडा नम्बर ४ का वडाध्यक्ष रामनाथ पंडितले बताए। 'स्थानीयले गुनासो गरेको कुरा आफूले पटक पटक कार्यालपालिका बैठकमा राख्दा कुनै सुनुवाई भएन्, उनले भने, 'फोहोर व्यवस्थापनको सट्टा भण्डारण गरेपछि स्थानीयले अवरोध गरेको हो।'दुर्गन्धले टाउको दुख्ने, रिंगटा चल्ने, श्वास फेर्न पनि सकस हुने गरेको उनले सुनाए।
पहिलेदेखि फाँलिदै आएको ठाउँमा एक्कासी फोहोर फाल्न अवरोध गरेर फोहोरमा राजनीति गर्न खोजिएको लहान नगरपालिकाका मेयर मुनि साहको आरोप छ। 'फोहोर व्यवस्थापन केन्द्रमा नगरपालिकाको सरसफाई कर्मचारीले प्रत्येक दुई महिनामा खाल्डो खनेर फोहोर व्यवस्थापन गर्दै आएको थियो, उनले भने, 'विवाद उत्पन्न गराएर समस्या बल्झाएको छ।'
नगरपालिकाकाले फोहोर र लेदो व्यवस्थापनका लागि विभिन्न संघसंस्थासँग सम्झौता गरेर कार्यक्रम अगाडी बढाइसकेको उनले जानकारी गराए। फोहोर प्रशोधन गर्ने मेसिन खरिदका लागि नगरपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए।
नगरपालिकाका २४ वटै वडामा एक-एकजनाका दरले २४ जना र बजार क्षेत्रमा दैनिक ४० जना गरी ६४ जना कर्मचारी फोहोरमैला व्यवस्थापनका लागि खटिँदै आएका छन्। कर्मचारीको तलब, भत्ता र सरसफाईको जनचेतना जगाउने कार्यमा मात्रै नगरपालिकाको वार्षिक रुपमा १ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।