क्याम्पसको जग्गा व्यक्तिको नाममा : नापी प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा
काठमाडौं : भूमाफियाको मिलोमतोमा नमूना मच्छिन्द्र क्याम्पस लगनखेलको जग्गा व्यक्तिको नाममा गरेको खुलासा भएको छ ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगले क्याम्पसको जग्गा व्यक्तिको नाम गरेका आरोपमा नापी कार्यालय, ललितपुरका तत्कालीन कार्यालय प्रमुख नापी अधिकृत भरतसिंह ऐरसमेत ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
कार्यालय प्रमुख नापी अधिकृत ऐर, तत्कालीन सर्भेक्षक केशव नाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेश कुमार केसी र तत्कालीन क्याम्पस प्रमुख नारायण दास श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको भएपछि उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
उनीहरुविरुद्ध जनही १७ लाख ८१ विगोको कायम गरिएको छ । उनीहरुविरुद्ध २ वर्षदेखि ४ वर्षसम्म कैद सजाय र विगो बमोजिमको रकम जफतको मागदाबी गरिएको छ । क्याम्पसको जग्गा गैर कानुनी रुपमा व्यक्तिविशेषको नामको घुसाएर मन्जुतारा शाक्यको नाममा जग्गा जग्गाधनी दर्ता श्रेस्ता कायम गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
क्याम्पसको नाममा रहेको ललितपुर नगर ५÷झ कित्ता नम्बर ५८, क्षेत्रफल १२ आना १ पैसा जग्गामध्येको ४ आना ३ पैसा जग्गा शाक्यको नाम दर्ता गरिएको छ । कित्तानम्बर १००१ को २ आना २ पैसा १ दाम र कित्ता नम्बर १००२ को २ आना २ पैसा ३ दाम गरी ५ आना १ पैसा जग्गाको कित्ता नम्बर १०२०, क्षेत्रफल १० आनाको छुट्टै फायल नक्सा बनाई साबिकभन्दा क्षेत्रफल ४ आना ३ पैसा बढ् कायम गरी कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम गरिएको छ ।
शाक्यको जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको साबिक कित्ताको आकार, प्रकार परिवर्तन गरिएको छ भने छुट्टै फायल नक्सा बनाई कित्ता नम्बर १०२० को १० आना कायम गराई सरकारी विद्यालयमा संचालित सामुदायिक क्याम्पसको जग्गा मस्यौट हुनेगरी गैरकानूनी रुपमा व्यक्तिविशेषको नामको जग्गाको क्षेत्रफल बढाउने कार्य गरिएको छ ।
जग्गा धनी शाक्यलाई अख्तियारले १७ लाख ८१ हजार विगो कायम गर्दै प्रतिवादी कायम गरिएको छ । तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी बिगो असूल उपर गर्न मागदाबी गरिएको छ ।