मनैभरि खुम्बु सम्झना

मनैभरि खुम्बु सम्झना

खुम्बु क्षेत्रको पदयात्रा सम्झिँदै रमाइलो। कतै कतै दिक्क पनि लाग्ने। जाने दिनभन्दा दुई दिनअगाडि बल्ल सामान किन्न थाल्यौं। यात्राको तयारी गर्दै जाँदा दिन बित्दै गयो। हाम्रो लुक्ला जाने ‘फ्लाइट’ थियो। विमानस्थल पुगेपछि हाम्रो फ्लाइट ७ बजेको सट्टा ९ बजे हुने कुरा थाहा पायौं। बुझ्दै जाँदा पहिले पर्यटकलाई हाम्रो फ्लाइटमा हालेर हामीलाई कुराएका पो रहेछन्। बाबाले यो कुरा थाहा पाएपछि त्यहाँ चिनेको मानिससँग कुरा गरेर फ्लाइटको व्यवस्था गर्नुभयो। एक किसिमले कुरेको हामीलाई फाइदै भयो।

अघिल्लोमा दुईजना एउटामा, दुईजना अर्को फ्लाइटमा जानुपर्ने थियो। पछिल्लोमा भने सबैजना एउटै फ्लाइटमा पर्‍यौं। यात्रा सजिलो भयो। सूचनाअनुसार हामी सबै हवाईजहाजमा आआफ्ना सिटमा बस्यौं। हवाईजहाज गुड्दै बिस्तारै गति बढाउन लाग्यो, गति बढ्दै जाँदा मेरो ढुकढुकी बढ्दै गयो। अनि मैले मेरो आमाको हात च्याप्प समातेँ। आँखा बन्द गरेँ। केही बेरमै हवाईजहाज आकाशमा पुग्यो। त्यसपछि मनमा आनन्द भयो।

केही बेरमा जहाज ‘ल्यान्ड’ भयो। जहाजबाट ओर्लिनासाथ हामीले फोटो र सेल्फी खिच्यौं अनि नजिकैको होटलमा कोठाहरू बुक गर्‍यौं। त्यहाँबाट हाम्रो मुख्य पदयात्रा सुरु भयो। केही बेरको हिँडाइपछि लुक्ला बजार आयो। लुक्ला वास्तवमै रमाइलो थियो। केही बेर लुक्ला बजार घुमेर मजा लियौं। अनि फेरि हिँड्न थाल्यौं। अलिअलि गरेर बजार पनि सकिँदै गयो। केही बेरको हिँडाइपछि फाक्दिङ सुरु भयो। फाक्दिङको बीचबीचतिर धेरै सफा खोलाहरू भेटिए। हिँड्दै जाँदा उकालो आउन थाल्यो। यात्राभर सबैलाई एक न एक चोटि अल्टिच्युडले गर्दा गाह्रो भइरहेको थियो।

योजनाअनुसार जोरसाले बस्ने भनेका थियौं। ‘जोरसाले अब कति बेर ? ’ सबैले अब ‘आधा घण्टा’ मात्र भन्थे। तर जति हिँडे पनि आइपुगेन। हिँड्दा हिँड्दै वाक्क भइसकेका थियौं। हामीले अन्तिमपटक सोधिहेरौं न भनेर एउटा बूढो मानिसलाई सोध्यौं। ‘आबो दुई मिनाट मात्रा हिँड्नु पुगिन्छ’ भने। हामी नपत्याई हिँडिरह्यौं, नभन्दै हो रहेछ। पाँच बजेतिर जोरसाले बजार आइपुग्यो।

हामीले आफ्नो लागि होटल छान्यौं। होटलमै खाना खाएर हिटर ताप्दै बस्यौं। दोस्रो दिनको यात्रा हामीले सुरु गर्‍यौं। गधा हिँड्ने र मान्छे हिँड्ने एउटै बाटो थियो। हिँड्न थालेको केही बेरपछि एउटा झोलुंगे पुल आयो। त्यहाँदेखि मेरो पेट अचानक दुख्न थाल्यो। म हिँड्नै सकिनँ। त्यसैले जोरसाले फर्किएर घोडा लियौं र फेरि नाम्चेतिरै लाग्यौं।

केही बेर हिँडेपछि एकैछिन थकाइ मार्न चौतारोमा बस्यौं। त्यही चौतारोबाट हामीले सगरमाथा र लोत्से हिमालहरू हेर्‍यौं। सुरुसुरुमा त मलाई घोडा चढ्दा डर पनि लागेको थियो। तर पछि बानी पर्न थाल्यो। केही बेरपछि मामुलाई गाह्रो भएकाले घोडा उहाँलाई दिएँ र म हिँड्न थालेँ। बाटो एकदमै उकालो। ६ वटा पुल कटेपछि नाम्चे जाने अन्तिम पुल आयो, जुन निकै डर लाग्दो थियो। एउटा चचुरोबाट अर्को चुचुरोसम्म सानो पुल थियो। डर लाग्दो खाँेच। अहिलेसम्मको सबै यात्रामा देखेभन्दा कहालीलाग्दो। त्यही गहिरो खोँचको माथि अहिलेसम्मकै सबैभन्दा लामो झोलुंगे पुल थियो। बल्लतल्ल पुल काट्यौं। केही बेर हिँडेपछि नाम्चे बजार आइपुग्यो। नाम्चेबजार निकै रोमाञ्चक। चिसो, प्राकृतिक छटाले भरिपूर्ण। साँच्चिकै सुन्दर थियो।

नाम्चे छिर्नेबित्तिकै कफी पिएर ‘भियुप्लेस’ गयौं। त्यहाँ सगरमाथा, अमादब्लमसहितका हिमाली दृश्यले मन शान्त भयो। रात झिमिक्कै हुन थालिसकेको थियो। होटलमा खाना खाइवरी सुत्ने तरखरमा थियौं। बाबालाई अचानक गाह्रो हुन थाल्यो। प्रेसर बढेकाले ‘अल्टिच्युड’ भएको पत्तो लाग्यो। हामीले डाक्टर बोलाएर औषधि खुवाएपछि बाबालाई सन्चो हुँदै गयो।

भोलिपल्ट बिहानै अदुवाको सुप खाँदै फर्कियौं। बाटोमा हामी होटलमा खाना खान छिर्‍यौं। मैले होटेलकी मालिक्नीलाई ‘शौचालय कहाँ छ ? ’ भनेर सोधेँ। उनले नेपाली ‘टोइलेट’ देखाइदेऊ भन्दै एउटी दिदीलाई पठाइन्। ‘शौचालय पनि कहीँ अंग्रेजी र नेपाली हुन्छ ? ’ हामीले सोध्यौं। बाबाले ती दिदीलाई अंग्रेजी शौचालय लगिदिनू भन्नुभयो। अंग्रेजी शौचालयको त कुरै नगरौं। कमोड पनि भाँचिएको। ‘स्प्रे’ले कामै नगर्ने। धेरै गन्ध आउने। अंग्रेजी शौचालयको यस्तो हालत। नेपालीको त के कुरा गर्नु।

प्राकृतिक छटासँग रमाउँदै कुरैकुरामा हामी फेरि लुक्ला आइपुगेछौं। एउटा कफी हाउसमा पिज्जा र बर्गर खाएर त्यहीँ सुत्यौं।

अर्को दिन बिहानै ‘कफी’ र ‘ब्राउनी’ खाएर लुक्ला विमानस्थलतर्फ लाग्यौं। कुरा बुझ्दा त हाम्रो फ्लाइट छुटिसकेको रहेछ। बाबाले विमानस्थलको एउटा मानिसलाई चिनेका कारण हामीले अर्को फ्लाइट पायौं र हामी काठमाडौं उत्रियौं। खुम्बु यात्राभरि मैले बुझेका दुई कुरा हुन्— त्यहाँ बिजनेस गर्ने महिला हुँदा रहेछन्। पुरुष जति गाइड। पर्यटकलाई महत्त्व दिने यस्तो ठाउँमा जाँदा मानिसलाई चिन्नुपर्ने रहेछ।

- प्राप्तिहवी सिलवाल

कक्षा : ९

रातो बंगला स्कुल, पाटनढोका, ललितपुर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.