बालसाहित्यको इतिहास बुझाउने पुस्तक
काठमाडौं : कृतिका रूप अनेक हुन्छन्। भाइबहिनीले बालकथा, बालकविता र बालउपन्यास बढी पढेका होलाऊ। तर यीबाहेक थुप्रै विधामा बालसाहित्य प्रकाशनमा आएका छन्। तर ‘नेपाली बालवाङ्मय परिचय कोष’ एकदमै फरक कृति हो। यसले समग्रमा बालसाहित्यकार, बालविधाका विविध कृति, प्रकाशक, चित्रकार आदि सबै पक्षलाई समेटेको छ।
नेपाली बालसाहित्यले एक शताब्दीको यात्रा पूरा गरिसकेको छ। त्यसपछि पनि झन्डै एक दशक बिताइसकेको छ। आशातीत सफलता र उचाइ त बालसाहित्यले प्राप्त गरेको छैन तर नेपाली साहित्यबाट बालसाहित्य झिकिदिने हो भने यहाँ ठूलो खाल्डो हुनेछ। यति लामो बालसाहित्यको विकास यात्रालाई समेट्ने किताब त कसैले लेख्ने हिम्मत गरेका छैनन् होला।
तर प्रमोद प्रधानले पछिल्लो अवस्थालाई भने ‘नेपाली बालवाङ्मय परिचय कोष’मा समेटेका छन्। उनले २०६४ सालदेखि २०७० सालसम्म प्रकाशित बालसाहित्यका सबै विधा र तिनका लेखकलाई समेटेर आवश्यक सूचना दिने गरी लेखिएको यो कृति बालवाङ्मय तथा अनुसन्धान केन्द्र काठमाडौंले हालै प्रकाशन गरेको हो। उनले यसअघि मार्टिन चौतारीबाट नेपाली बालवाङ्मय परिचय कोष २०६५ प्रकाशित गरिसकेका छन्।
परिचय कोषको दोस्रो भागको रूपमा प्रकाशित यसमा नेपाली बालसाहित्यको कविता विधाका २१८, कथा विधाका २८४, उपन्यास विधाका ४४, नाटक विधाका १९, जीवनी विधाका २१, निबन्ध विधाका १०, चित्रकथा÷चित्रपुस्तक विधाका २८६, अनुवाद गरिएका १०८ र अरू विविध प्रकारका ५८ गरी एक हजार ५८ बालसामग्रीबारेको कोशमूलक सूचना दिइएको छ। यसरी हेर्दा यस अवधिको ६ वर्षमा एक हजार ५८ बालकृति प्रकाशन भएको देखिन्छ। यसले समग्र कृतिको कथावस्तु के कस्ता छन्, बाललेखक कसले के कति विधामा कृति लेखे, कुन प्रकाशक यस क्षेत्रमा सक्रिय छ आदिजस्ता विषय बुझ्न सहज भएको छ।
विधागत रूपमा लेखकको वर्णानुक्रमअनुसार पुस्तकको प्रकाशन मितिका आधारमा जानकारी राखिएको छ। यसबाहेक प्रकाशक, मुद्रक, पहिलो संस्करण, पृष्ठ संख्या, मूल्य, चित्रकार, आवरण चित्र र सम्पादनजस्ता जानकारी दिएसँगै रचनाका शीर्षकहरू समेत प्रस्तुत गरिएको छ। प्रधानको यो कोशमा यस अवधिमा निस्किएका बालकृतिमध्ये चित्रकथा र बालकथा कृति सबैभन्दा बढी रहेको देखिन्छ। सञ्चार क्षेत्रमा रहेका प्रधानको बालसाहित्यको अध्ययन र अनुसन्धानमा योगदान छ। ३२० पृष्ठको यो कृतिले नेपाली बालसाहित्य बुझ्न र अध्ययन एवं अनुसन्धान गर्न चाहनेलाई सहयोग पु¥याउने छ।
इतिहास लेख्ने काम पक्का पनि सहज छैन। इतिहास पढ्न पनि सबैलाई रुचिकर नहुन सक्छ। तर इतिहासले लेखक र कृति दुवैलाई जीवन्त बनाउँछ। रुचिकर विषय नहुँदा नहुँदै पनि यसले समग्र बालसाहित्यको ‘प्रवृत्ति’लाई सांगोपांगो रूपमा बताउँछ। अबका दिनमा २०७० पछिको यस्तै इतिहासलाई अभिलेखीकरण गर्नु आवश्यक छ।
२०६५ सालमा प्रकाशन भएका यस्तै कृतिले समेट्न बाँकी त्यसअघिका यस्तै बालसाहित्यको समग्र आयामको पनि इतिहास आवश्यक छ। यसले बालबालिकाको जीवन र जगत्प्रतिको बुझाइलाई व्यापकता दिनेछ। पूरै कृति अध्ययन गर्न नसक्ने, नपाउने वा इच्छा नहुनेले पनि छोटकरीमा सबै विषय, क्षेत्र र लेखकलाई संक्षिप्तमै भए पनि अध्ययन गर्न पाउनेछन्।