सानैदेखि गरिबीको स्वाद चाख्न चाहन्थेँ
आफू र म भन्ने त सबै मानवको स्वभाव हुन्छ। अरूको निमित्त सोच्ने सानैदखि बानी बसाल्नुपर्छ।
मेरो जन्म धनकुटाको सिबुवामा भएको थियो। हजुरबुवा आध्यात्मिक विचारको भए पनि केही विशेष गर्नुपर्छ भन्ने सोचाइ राख्नुहुन्थ्यो। त्यसैको प्रतिफल हामी हौं। त्यतिबेला धरानमा पनि स्कुल कलेजहरू थिएनन्। मेरो काकाहरूलाई शिक्षित गराउने सोच उहाँमा आएछ। त्यो अनौठो मात्र होइन गौरवको विषय पनि थियो। परिवारमा इन्जिनियर, डाक्टर, न्यायाधीशलगायतका व्यक्तित्व जन्मनुको कारण यही हो। त्यतिबेला भारतबाट शिक्षकहरू मगाएर पढ्ने व्यवस्था उहाँले मिलाइदिनुभयो। हामीलाई पढ्ने प्रेरणा जाग्नु पनि यसैको प्रभाव हो।
मैले धरान हाइस्कुलमा कक्षा ५ सम्म पढेँ। मेरो बुवाआमा विराटनगरमा बस्नुहुन्थ्यो। हामी काकाकाकीसँगै बस्थ्यौं। परिवारका केटाकेटीलाई एकै ठाउँमा राखेर एउटै मास्टरले पढाउने भन्ने थियो। खर्च किफायत गर्नु यसको मुख्य कारण थियो।
हाम्रो पढ्ने समूह धेरै ठूलो हुन्थ्यो। किताब कापी कहिल्यै किनिएन। सधैं अरूकै मागेर पढियो। घरमा नभए अर्काको घरमा गएर पनि मागिन्थ्यो। त्यो गरिबीले होइन, समूहगत पढे धेरै खर्च लाग्दैन भन्ने सोचले गरिएको थियो।
यसरी समूहमा रहँदा विशेष निगरानी र हेरविचार भएन भनेर हजुरबुवाले आआफ्नै आमाबाबुकहाँ पठाइदिनु भन्नुभयो। ८ कक्षासम्म विराटनगरमा गएर पढेँ। मेरो माइलो बुवा पाल्पामा सरकारी जागिरे भएकाले त्यसपछिको पढाइ उतै गरें। म कहिल्यै पहाड नदेखेको मान्छे। बुटवलसम्म एउटा ट्रकमा गएँ। त्यहाँदेखि दुई दिन हिँडेर पाल्पा पुगियो।
मानिस धन, सम्पत्ति र ऐश्वर्यको सपना देख्छन्। तर म सानैदेखि गरिबीको स्वाद चाख्न चाहन्थेँ। हामीहरू धरान स्कुलमा पढ्दा पहाडतिरबाट भरिया भारी बोकेर झर्थे। काकाले व्यापार कसरी गरिन्छ भनेर घरमा सलाई ल्याएर राख्नुहुन्थ्यो। हामी त्यही सलाई चारपाँच वटा लिएर ‘ए दाइ लिने हो, एक आनाको दुईवटा’ भनेर बेच्थ्यौं। रहनसहन, लवाइखवाइ बुझ्नलाई सलाई बेच्ने बहानामा उनीहरू जहाँजहाँ बास बस्थे त्यही गएर हेर्न जान्थ्यौं।
हामी धेरै धनी नभए पनि सम्पन्न परिवारकै थियौं। त्यसैले गाईबाख्रा चराउने, घाँस काट्ने जस्ता काम गर्नु परेन। तर मलाई त्यस्तै काममा सोख थियो। पाल्पामा छँदा हाम्रो घरमा बस्ने सहयोगी वनमा घाँस दाउरा गर्न जाँदा म पनि उनीसँगै जान्थेँ। उनले घाँस काटिसकेपछि म त्यसलाई बोक्न तम्सन्थें। घरमा थाह पाए मलाई मारिहाल्छन् नि भन्थेँ उनी। त्यसैले आधा बाटोमै भारी बिसाएर उनलाई बोक्न लगाउँथेँ। परि श्रम र गरिबीको अनुभव गर्नु मेरो चाहना थियो।
सानैदेखि मलाई पाइलट बन्छु भन्ने थिएन। तर म बनारसमा पढ्न गएपछि मात्र पाइलट बन्ने रहर जागेको थियो। धरानमा छँदा बेलायती सेनाका मेजर मिलसँग मेरो घनिष्टता बढेको थियो। उहाँ काठमाडौं आउने सिलसिलामा मलाई धरानबाट ल्याउथेँ। त्यतिबेला मैले प्लेन र पाइलटको नजिक हुने मौका पाएँ। यसले मलाई पनि पाइलट बन्ने रहर जाग्यो।
भाइबहिनी हो, जीवनमा सानो कुराले पनि ठूलो महत्त्व राख्छ। केटाकेटी सानै हुन्छन्। तर आफ्नो विशेष महत्त्व हुन्छ भनेर तिमीहरूले यो उमेरमा बुझ्दैनौं। भोलिका दिनमा घरपरिवार र देशकै जिम्मेवारी लिने तिमीहरू नै हौ। त्यसैले सानैदेखि यसको महत्त्व बुझ्न सके पछि गएर राम्रो हुन्छ।
जीवनमा सबै किसिमको ‘टेस्ट’ गर्नुपर्छ। दुःखको पनि अनुभव गर्नुपर्छ। हाम्रो स्वभावहरू सानैमा बनाउने हो। सानोमा जस्तो बनाउन सक्यो, पछि गएर त्यस्तै बनिन्छ। दयाशील हुनुपर्छ। आफू र म भन्ने त सबै मानवको स्वभाव हुन्छ। अरूको निमित्त सोच्ने सानैदखि बानी बसाल्नुपर्छ। यसले जस्तो आत्मसन्तुष्टि अरू केहीले दिँदैन। सानो कुरा किन नहोस्, कसैलाई सहयोग गर्दाको खुसीको प्रतिफल अत्यन्तै बहुमूल्य हुन्छ। अरूलाई कसरी सहयोग गर्ने भनेर सोच्यो भने भविष्यमा पनि राम्रो हुन्छ।
म अहिले लायन्स क्लब अफ काठमाडौंमा पनि आबद्ध छु। यो संस्थाले गाउँगाउँमा गएर त्यहाँका विद्यालय र कलेजमा पढ्ने विद्यार्थी र अन्य नागरिकका लागि आँखा शिविर र परीक्षण गर्दै आएको छ। हिजोआज साना नानीहरू मोबाइल, टीभीलगायतका ग्याजेटमा झुन्डिने गर्छन्। यस्ता सामग्रीबाट आउने रेडियसनको असर आँखामा परिरहेको हुन्छ। केटाकेटी रोयो भने पनि मोबाइल दिने कल्चर बसेको छ। यो राम्रो होइन। यो एडभान्स कल्चर होइन। त्यसैले यसमा आमाबाबुले पनि ध्यान दिनु राम्रो हुन्छ।
-क्याप्टेन रिजालसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित