लेक लागेर यार्सासंकलको मृत्यु
मुगु : यार्सा संकलनमा गएका पातारासि गाउँपालिका-५ का एक युवकको लेख लागेर मृत्यु भएको छ। मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँको रिमार पाटन क्षेत्रमा यार्सा संकलनमा गएका पातारासी गाउँपालिका-५ का ३२ वर्षीय नन्दबहादुर बुढालाई लेख लागेर बिरामी भएपछि उपचारका लागि पाटनबाट ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।
लेख लागेपछि उनीसँगै गएका उनका साथीहरुले उपचारका लागि सदरमुकाम गमगढी ल्याउँदै गर्दा मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँ र शिरानी चौरको बीचमा पर्ने जंगलमा मृत्यु भएको नेपाल सशस्त्र प्रहरी गुल्म ४५ का डिएसपी बसन्तबहादुर सिंहले जानकारी दिए।
मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगुका आधा दर्जनभन्दा बढी पाटन क्षेत्रमा पाइने यार्सागुम्बु संकलनका लागि उक्त गाउँपालिकाले जेठ १८ गतेबाट ४० दिनका लागि सर्बसाधरणलाई खुल्ला गरेको थियो।
गाउँपालिकाले दिएको जानकारीअनुसार यार्सा पाइने पाटन क्षेत्रमा ४ हजारभन्दा बढी संकलनकर्ता उक्त क्षेत्रमा प्रवेश गरेका छन्।