यमलोक : एक प्रेमकथा
कतिपय प्रेम नचाहँदा नचाहँदै पनि अन्त्य हुन्छ। अनि कतिपय कथाको अन्त्य स्वाभााविक लाग्छ। तर यो प्रेमकथाको त्यस बिन्दुमा पनि अन्त्य हुँदैन, जहाँ प्रायः कथाको अन्त्य हुने गर्छ।
यो दुई भिन्न वर्ग र जातका प्रेमीहरूको कथा हो। यहाँ संसारले ती जोडीलाई एक हुन दिएको छैन। धेरै अमानवीय कष्टका कारण प्रेमिकाको मृत्यु हुन पुग्छ। अनि प्रेमी भौंतारिन्छ र संसार त्याग्ने प्रयास पनि गर्छ तर सफल हुँदैन। विधिले लेखेको भनेझैं ऊ मृत्युको मुखमा जान खोजे पनि मृत्युले भने खाँदैन। उता प्रेमिका मृत्युपश्चात् यमलोक पुग्छिन्। उनलाई त्यहाँ धर्मकर्मको जोखनाका लागि मञ्चमा उभ्याइन्छ।
यमलोकपति यमराज आफ्नो सिंहासनमा आसीन छन् र आजको सभा सुरु गर्न आदेश दिन्छन्। त्यसपछि चित्रगुप्त उक्त प्रेमिकाको विवरण लिएर प्रस्तुत हुन्छन् र भन्छन्, ‘नाम...’
‘सरस्वती आ...’, प्रेमिकाले आफ्नो पूरा नाम भन्न पनि पाएकी हुँदिनन्। चित्रगुप्त हातले इसारा गर्दै रोक्दै भन्छन्, ‘सुकन्या, तिम्रो धरतीको नाम, थर, धर्म, देश यावत् परिचयको हामीलाई आवश्यकता छैन।’
उनी यमराजसमक्ष बिन्ती टक्य्राउन अघि सर्छिन्। उनी आफ्नो प्रेमी पनि यतै कतै छन् कि भनेर सोध्छिन्, ‘हजुर धर्मराजसमक्ष मेरो बिन्ती छ कि मेरो प्रेमी पनि यतै कतै छन् भने हाम्रो मिलन गराइदिनुहोस्। त्यसो होइन, ऊ मृत्युलोकमा नै छ भने यतै ल्याउने व्यवस्था मिलाइदिनुहोस्।’
यो कुरा यमराजका लागि सम्भव थिएन। नियमविपरीत जान यमराजलाई पनि त सहज छैन। प्रेमिका धेरै अनुनय–विनय गर्छिन्। एक त स्वर्गको बास पाएकी भन्ने पहिले नै ज्ञात भइसकेको यमराजलाई सुकुमारी सुन्दरीले यसरी बिन्तीभाव चढाउने हिम्मत जुटाएको देखेर भन्न करै लाग्छ। नम्र हुँदै भन्छन्, ‘तिम्रो प्रेमीलाई यहाँ ल्याउनु भनेको अकाल मृत्युको बाटो रोज्नु हो। जसले अकाल मृत्युवरण गर्छ, उसले नर्कको बास गर्नैपर्छ अनि कसरी हुन्छ त ? ’
‘म पनि त अहिले यमलोकमा छु, जे जस्तो भए पनि जतिसुकै दुःखकष्ट भए पनि म मेरो प्रेमीसँग बस्न चाहन्छु,’ प्रेमिकाले पूर्ण विश्वाससाथ जवाफ फर्काउँछिन्। भन्छिन्, ‘जहाँ दुई आत्माको मिलन हुन्छ, त्यहीँ स्वर्ग हुन्छ।’
प्रेमिका अझै भन्छिन्, ‘म मेरो प्रेमीसँग यहीँ बस्न चाहन्छु। मेरा लागि स्वर्गको द्वार खुला छ भने पनि मेरो प्रेमीबिना स्वर्ग मलाई नर्क बराबर हुनेछ।’
आफ्नै परिवारका सदस्यले निर्घात कुटपिट गरेपछि मृत्यु भएको थियो, प्रेमिकाको। हुन त यो कुलच्छिनी, निर्घिनी मरी जाओस् भनेर कुटपिट गरे पनि मरोस् नै भनेर चाहेका थिएनन्, सायद। तर उनको लेखान्त त्यहीँसम्म मात्र थियो।
सुन्दर युवतीको बिलौनामा कुनचाहिँ पुरुषको मन पग्लिँदैन होला र ? यमराजको पनि मनै त हो, पग्लिए छ। नौनीसरि पग्लिए।
द्विविधामा पर्छन्, यमराज। के गर्ने भनेर सोच्न थाल्छन्। यमराज सोचमग्न भएको देखेर मञ्चमा उपस्थित चित्रगुप्तसहित सबै जना गम्भीर हुन्छन्। यमराजले कुनै अनर्थ गर्न चाहेका त होइनन् भन्ने खुल्दुली सबैमा हुन्छ। त्यस युवतीलाई फेरि पृथ्वीलोकमा पठाउने कि प्रेमीलाई यमलोकमा ल्याउने भनेर यमराज एकै क्षण गम खान्छन्।
केही सोचेपछि यमराजले सम्बोधन गर्छन्, ‘आज म फेरि एक पटक नियमबाहिर गएर एउटा निर्णय गर्ने मनशायमा पुगेको छु। मलाई यहाँ उपस्थित सभा मण्डलले समर्थन गर्नेछन् भन्ने विश्वास छ।’
चित्रगुप्त आफ्नो आसनबाट उठ्दै भन्छन्, ‘धर्मराज, यहाँको निर्णयप्रति शतप्रतिशत समर्थन रहने नै छ। तर क्षमा चाहन्छु, के मानव जीवन बारबार जन्मिरहने कुनै भिडियो खेल हो त, धर्मराज ? ’
चित्रगुप्तको कुरा सुनेर मुसुक्क हाँस्दै यमराज बोल्छन्, ‘किन र मानव जीवनमा त्यस्ता घटना बारम्बार घटेका छैनन् र ? त्यस्ता मृत्युको मुखबाट बचेका किस्साहरू धेरै छन्, छैन र ? ती सबै के फेरि एक पटक जीवन पाएका घटना होइनन् त ? ’
यमराज आफ्नो सिंहासनबाट उठ्दै भन्छन्, ‘यस पटक अवश्य केही फरक हुनेछ र उपस्थित सबैलाई समर्थन व्यक्त गरेकामा धन्यवाद पनि दिन चाहन्छु।’
त्यसपछि उक्त युवतीलाई हेर्दै भन्छन्, ‘अपरिणीता, खोइ मलाई के भएको हो, थाहा भएन। सर्वप्रथम तिमीले देखाएको हिम्मतको सम्मान गर्छु। सायद, म तिम्रो आँसु र तिम्रो प्रेमको अगाडि हारेछु। प्रेममा आत्मीयता हुन्छ, अनि प्रतिबद्धता चाहिन्छ। प्रेम अनन्त छ र प्रेम पवित्र हुन्छ। ल भन, तिमी के गर्छौ, तिमी फेरि पृथ्वी फर्कन चाहन्छौ या तिम्रो प्रेमीलाई अकाल मृत्युवरण गराई यस यमलोकमा बोलाउन चाहन्छ्यौ ? ’
यमराजको यस्तो प्रश्नसँगै प्रेमिकाको मुहार उजेलिन्छ। खुसीको सीमा रहँदैन। तर एकछिन त प्रेमिकालाई पनि सोच्न बाध्य बनाउँछ।
प्रेमिका दृढ भई भन्छिन्, ‘हैन, म मेरो प्रेमीलाई यहीँ नर्कलोकमा बोलाउन चाहन्छु।’
यस्तो जवाफ सुनेर यमराज अचम्म औ चकित हुन्छन्।
यमराजले ती युवती आफ्नो प्रेमीलाई भेट्न पृथ्वीलोक फर्कन चाहनेछिन् र यो कार्यप्रकृतिको नियमविपरीत हुने हुँदा केही गाह्रो हुनेछ भन्ने सोचेका थिए। त्यस किसिमको उत्तरले यमराजलाई युवती देखेर अचम्भित तुल्याउँछ र कताकता उनको मन केही हल्का पनि हुन्छ। तापनि यमराजले ती युवतीलाई पृथ्वीलोक पठाउने बारेमा मनमनै निर्णय गरिसकेका थिए। त्यसपछि यमराज अलि कड्केर बोल्छन्, ‘के भनेको यस्तो यहाँ नरकमा बस्ने तिमीहरू, जाऊ न पृथ्वीमा, तिम्रो प्रेमीकहाँ..., किन आफ्नो पृथ्वीलोक फर्कन चाहन्नौ ? ’
युवती जवाफ फर्काउँछिन्, ‘यहाँ जे छ, त्यही देखेको छु, तर संसारमा जे देखिन्छ त्यस्तो छैन। त्यसैले हामीलाई यही लोक उचित हुन्छ, पृथ्वीलोकभन्दा धेरै गुणा।’
उनी भन्दै जान्छिन्, ‘त्यो दुनियाँले जतिसुकै मानव अधिकारको कुरा गरे पनि जातपातविरुद्ध जति आवाज उठाए पनि, नियम–कानुन लागू भए पनि कुनै दर्जा र वर्ग छैन। मानिस सबै एकै हुन् भने पनि धर्म, जात, जाति जस्ता यी कुरा यथावत छन्। धर्मको नाममा, जात र धनसम्पत्तिको आडमा सधैं नै संसारमा द्वन्द्व भई नै रहेको छ र निरन्तर चली नै रहनेछ। एउटा समुदायले कुनै क्रान्ति नै गरी अनुसरण गरे पनि अर्काे समुदायले त्यसको विरोध गरिरहेको पनि हुनसक्छ। र, फेरि त्यसै समुदायमा पनि कोही अल्पमतमा परेका होलान्। त्यसकारण जबसम्म यो संसार रहन्छ, तबसम्म यो चली नै रहन्छ। सके खुलेआम, नभए कम्युनमा, घरमा या कोठामा यसमा कुनै शंका छैन। समय बदलिएको छ तर समाज अझै हिजोकै छ।’
यमराज हावामा औंला चलाउँछन् र बोल्छन्, ‘तिमी नेपाल देशकी हौ, त्यहाँ जातीय छुवाछूत अन्त्य घोषणा गरेको दशौँ वर्ष भइसक्यो, होइन र ? ’
‘हो’, युवती मन अमिलो पार्दै भन्छिन्, ‘छुवाछूत गर्नेलाई दण्ड सजायको व्यवस्था छ र देशका विभिन्न ठाउँमा जातीय विभेद उन्मूलनका चेतनामूलक कार्यक्रम पनि देखाइन्छ। तापनि समाजमा छुवाछूतको जरा पीपलको जरासरि फैलिएको छ। कतिपय ठाउँमा प्रहरी प्रशासनले समेत जातीय विभेद र छुवाछूतको घटना दर्ता गर्न अस्वीकार गर्दै आएको छ।’
‘यो जातिप्रथाले व्यक्तिलाई उच्च र तल्लो बनाई असमानता ल्याएको छ। यो एउटा रूढिवादी परम्परा हो’, यमराज आफ्नो स्मार्ट पारदर्शी स्क्रिनमा औंला चलाउँदै हेर्दै भन्छन्, ‘अहिले त नेपालमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताको संविधान जारी भइसक्यो नि, होइन र ? ’
‘हो धर्मराज, २०७२ असोज ३ देखि जारी हुने गरी संविधानले धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्पसँगै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहेर समृद्ध राष्ट्र निर्माण गर्न संविधान बनिसकेको छ।’
लोकसेवा आयोगको जाँच दिएर भर्खर निस्केका स्याङ्जालीजसरी उनी संविधानै कण्ठस्थ सुनाइदिन्छिन्।
‘संवैधानिक तथा कानुनी व्यवस्था लागू भएपछि जातीय विभेद न्यूनीकरण हुने आशा थियो। समाजमा तल्लो र उपल्लो जात भन्ने रूढि मानसिकता हट्न सकेको छैन’, उनले पीडा पोख्छिन्।
‘धर्म, वर्ण, सम्प्रदाय, जाति आदिको नाममा गरिने छुवाछूत एउटा सामाजिक कुरीति हो। प्राचीन मानव समाजमा कुनै वर्गीय विभेद थिएन। मानव समाजको निरन्तर विकासको क्रममा समाजमा विभिन्न विभेद देखा पर्दै गएको हो’, यमराज अगाडि भन्छन्, ‘नेपालको संविधानले कुनै पनि व्यक्तिलाई जात, जाति, वर्ण, लिंग वा धर्म आदि कुनै आधारमा छुवाछूत गर्न नपाइने कानुनी व्यवस्था गरेको छ। तापनि नेपालमा छुवाछूतका डरलाग्दा घटना कम छैनन्। त्यसको एउटा ज्वलन्त उदाहरण तिमी नै देखियौ।’
कथित माथिल्लो जातकी सरस्वती र कथित तल्लो जातको सत्यबीच ११ कक्षाको पहिलो घन्टीमै देखादेख भएको थियो। तत्क्षण दुवैबीच के कस्ता मनोभावना झंकृत भए या आँखामा के कस्ता दृश्य आए या के कस्तो कल्पना गरे, उनीहरू नै जानून्।
तर १२ कक्षाको अन्त्यतिर भने उनीहरू नजिक हुन पुगेका थिए। सत्यको गलामा सरस्वतीको बास थियो। जब उसले बाँसुरी फुक्थ्यो, धुनमा सबैजना सम्मोहित हुन्थे। परीक्षाफलको पर्खाइ र स्नातक तहको अध्ययनको सुरुआत हुनुअघि उनीहरू दुवैजना थाहै नपाई प्रेममा बाँधिइसकेका थिए।
एउटै उमेरका सरस्वती र सत्यमा आफ्नो प्रेममा पूर्ण विश्वास थियो। तर समाजको भने डर थियो।
‘प्रेम समर्पण हो, प्रेम त्याग पनि हो। प्रेम जित हो भने हारमा पनि प्रेम लुकेको हुन्छ।’
यसो भनेर सत्य प्रेमलाई परिभाषित गर्ने गथ्र्यो।
उसले एक पटक भनेको पनि थियो, ‘तल्लो जातको केटासँग तिम्रो बिहे गर्देलान् त सरस्वती ? यो मायालाई हामीले अमर बनाउनुपर्छ।’
उसको कुरा सुनेर सरस्वती निकै रिसाएकी पनि थिई, ‘ओहो ! महाशय, बिछोड भएर प्रेम कतै अमर हुन्छ ? त्यो त सीधै सुसाइड हो। तिमी खुबै प्रेमको स्वभाव, अवस्था, रूपलाई लिएर व्याख्या गर्दै हिँड्छौ। जब वियोग हुन्छ नि, अनि थाहा हुन्छ, माया के हो, प्रेम के हो भनेर। म त कल्पनै गर्न सक्दिनँ। कस्तो निठुरी तिमी !’
‘हामीले टेकेको समाज नयाँ हो, आधुनिक हो। यो नयाँ नेपाल हो। हामी मन्दिरमा गएर अन्तरजातीय विवाह गरी हाम्रो प्रेमलाई अमर बनाउनेछौं। तर अहिले होइन है’, मुस्कुराउँदै भनेकी थिइन्, ‘पहिला हामी पढाइ नै सकाऔं।’
उनीहरूबीच झाँगिएको माया घर, टोल, कलेज सबैतिर फैलिँदै घरपरिवारको कानसम्म पुगिसकेको थियो। सत्यलाई धेरै पटक सरस्वतीका परिवारले कुटपिट गर्दै सम्झाएका पनि थिए।
आमाबुवाको धम्कीका बीच सँगै मर्ने, सँगै बाँच्ने कसम खाँदै दुवै जनाले घरबाट भाग्ने निर्णय पनि गरिसकेका थिए।
तल्लो जातसँग प्रेम गरेको भन्दै घरपरिवारले सरस्वतीलाई सधैं नै छोड्नका लागि दबाब दिँदै आएका थिए। कहिले सरस्वतीकी आमाले आफैं आत्महत्या गर्छु भनेर धम्क्याएकी पनि थिइन्। तर एक दिन अचानक सरस्वतीले आमाबुवाअघि विद्रोह गर्दा निर्घात कुटाइ खान्छे र मृत्युलाई अँगाल्न पुग्छे।
यमराज सोध्छन्, ‘तिमी के चाहन्छौ ? ’
‘म मेरो प्रेमीलाई यहीँ यमलोकमा बोलाउन चाहन्छु।’
‘के यही हो तिम्रो अन्तिम निर्णय।’
फटाफट भन्छिन्, ‘हो।’
यमराजले आफ्ना कर्मचारीलाई सरस्वतीको प्रेमी सत्यलाई यमलोक ल्याउन आदेश दिन्छन्।
पृथ्वीलोकमा जेठको महिना चल्दै थियो र नेपालको मिथिला क्षेत्रमा अखण्ड सौभाग्यको कामना गर्दै बिहानैदेखि विवाहिताहरू वटसावित्री पर्व विधिपूर्वक मनाइरहेका थिए। त्यही भीडमा सत्य सरस्वतीलाई खोज्दै हिँडेको थियो।
ऊ बेहोसीको हालतमा थियो। उसको मनमस्तिष्कमा मात्र सरस्वती थिइन् र कहिले समाजसँग बगावत गर्ने सोच्थ्यो त कहिले पूरै निराशा मात्रै मडारिएको हुन्थ्यो।
अब के गर्ने, कसो गर्ने केही सोच्न सक्ने स्थितिमा थिएन, सत्य।
मानिसका लागि जीवन सबै थोक हो। एउटा जीवन बाँच्नका लागि मानिसले केसम्म गर्दैन र ? तर जीवनसँग मृत्युको सम्बन्ध गाँसिएको हुन्छ। यी दुवै सँगसँगै एउटै चालमा हिँडेका हुन्छन्।
जीवनका धेरै परिभाषामध्ये अनिश्चितता पनि एक हो। सास फेरुन्जेल छ, जीवन।
जीवनको अन्त्य निश्चित भए पनि जुनसुकै बेला जीवनलीला समाप्त हुनसक्छ। त्यसबाहेक जीवन एउटा हावाले भरेको बेलुनजस्तै हो, जसरी बेलुनलाई सानो छिद्रले समाप्त पार्छ, त्यसैगरी जीवनलाई पनि रोगव्याधीले सकाउँदै लगेको हुन्छ।
तर अकस्मात्को मृत्यु कसैलाई मञ्जुर छैन। सरस्वती गुमाउनुको पीडा सत्यमा छ र ऊ चाहेर पनि आफ्नो जीवन समाप्त गर्न असमर्थ छ। यो जीवनलीला अपरम्पार छ। तर आज सत्यले चाहेको घटना घट्छ, बिना कुनै ठूलो दुर्घटना।
महिलाहरू पूजा सामग्रीका साथ बरको रूखमुनि बसेर पूजा गरिरहेका थिए। यसैबीच त्यहीँ वरपर भौंतारिइरहेको सत्यको प्राण यमदूतले हरी लान्छ।
सरस्वतीले आँखा झिमिक्क गरेकी हुँदैन। सत्य उनकै अगाडि देखा पर्छ। खुसीको सीमा रहँदैन।
पृथ्वीमा सँगै बाँच्ने, सँगै मर्ने सपना देखेका उनीहरूको भेट यमलोकमा हुन्छ।
यमराजले उनीहरूको मिलनको अवसर पारेर हल्का सजावट पनि गरिदिएका हुन्छन्। उनीहरूको अमर प्रेम देखेर त्यहाँ भएका अधर्मी, पापीदेखि लिएर यमराजलगायत चित्रगुप्त, यमदूत र बाँकी कर्मचारीको पनि आँखा रसाउँछ। अनि यमराजले यी दुवै प्रेमीप्रेमिकालाई अबदेखि यही नरकमा बस्न आज्ञा गर्छन्, ‘ल, अपरिणीता तिम्रो मनोकामना पूरा भएको छ, हाललाई यहीँ बस्नू। आगेको कुरा पछि।’
त्यहाँ दुईजनाको मायाप्रेमको कथा सुनेर सबै खुसी हुन्छन्।
कोही भन्छन्— मैले आफ्नो परिवारलाई कहिल्यै माया गरिनँ। एक पटक गई हेरेर आउन चाहन्छु।
अर्कोले भन्छ— मैले धेरै अन्याय गरेँ। मैले मेरी छोरीको बिहे उसको इच्छाविपरीत गरिदिएँ।
यस्ता बिन्ती लिएर यमराजको अगाडि लाइन लाग्छन्, उनीहरू। पृथ्वीमा पठाउने या यिनीहरूका प्रियजनलाई निम्त्याउन सम्भव पनि छैन। तर यमलोकमा अचम्म हुन्छ। सबैजना यो जोडी देखेर खुसी छन्, त्यहाँ वातावरण धेरै आनन्दमयी बनेको छ।
नरकमा बास भएका सबैमा आफूले गरेको गल्ती र दुष्कर्मअनुसार सजाय भोग गर्दै आएको भन्ने भावना पनि पलाउँछ। धेरै पाप गरे त्यसैले नरक भोग्दै छु र यो मञ्जुर छ भन्ने किसिमको भावना सबैमा पलाएको देखिन्छ।
यो नरक हो तर स्वर्गानुभूति गरेका छन्, सबैले। यो देखेर यमराज पनि छक्क परेका छन्। यमराजले आजसम्म यस्तो दृश्य देखेका थिएनन्, यमलोकमा। आज उनले यस जोडीका कारण स्वर्गको अनुभव गरेका छन्। यमलोकमा स्वर्गको अनुभूति पाएका छन्।
यमराज सोच्छन्— कलिजुग भनेको यही हो कि ? मानिस बस्नलाई बनाएको संसारमा सधैं विवाद, द्वन्द्व। हरेक कुरामा झैँझगडा।
फेरि सोच्छन्— स्वर्गमा गई हेर्न पाएको छैन। सायद त्यहाँ पनि उथलपुथल भएको छ कि, यो कलिजुगमा।