भक्तपुरका आदिवासी नेवारको मन्दिर सेनाको नियन्त्रणमा !
भक्तपुर : भक्तपुरको आदिवासी समुदाय शिल्पकार, सुवाल, श्रेष्ठलगायत जातिका मानिस नेपाली सेनाको अनुमतिविना आफ्नै कुल देवस्थल जान पाउँदैनन् ।
उनीहरुको कुल देवस्थललाई भित्र पारेर नेपाली सेनाले स्कुल बनाएपछि यस्तो अवस्था आएको हो । जस कारण वर्षमा एक पटक गरिने दुगु पूजा (देवाली) गर्न सेनाको अनुमति लिनुपर्ने बाध्यता रहँदैआएको छ । पराम्परादेखि दुगु पूजा गर्न कुल देवस्थल जाने चलनचल्तीको बाटो नै बन्द गरेर नेपाली सेनाले २०४० सालमा भक्तपुर नगरपालिका–१ सल्लाघारीमा सैनिक आवासीय महाविद्यालय बनाएको हो ।
उक्त कुल देवस्थलमा पाँच–पाँचसय संख्यामा शिल्पकार, श्रेष्ठ र सुवाल घरपरिवारले देवाली गर्दैआएका छन् । उनीहरुले भक्तपुर अस्पतालबाट सिद्धपोखरीको उत्तरपूर्वी बाटो र तत्कालीन टुँडिखेल हुँदै कुल देवस्थल जाने परम्परागत बाटो थियो । जुन सैनिक स्कुल बनाएपछि बन्द गरिएको स्थानीय तीर्थमान शिल्पकार बताउँछन् । सैनिक स्कुल बनाएपछि केही वर्ष परम्परागत बाटोबाटै कुल देवस्थल पुगेको उनले सुनाए ।
तर २०५८ सालमा संकटकाल लागू भएपछि नेपाली सेनाले टुँडिखेलसमेत सैनिक स्कुल परिसरभित्र पर्ने गरी सुरक्षा बार लगाएर आफूहरुको कुल देवस्थल जाने परम्परागत बाटो रोकिएको अर्का स्थानीय दानबहादुर शिल्पकार बताउँछन् । त्यसपछि टुँडिखेलमा सर्वसाधारणलाई प्रवेश रोक लगाएको थियो ।
चारैतिर सेनाको सुरक्षा बार लगाइएको कुल देवस्थलमा भौतिक निर्माण गर्नसमेत समस्या भएको उनी बताउँछन् । उनका अनुसार उक्त देवस्थलमा दुगु पूजा गर्दै आएका पूर्वभूमिसुधार राज्यमन्त्री दिनेश श्रेष्ठको संसद क्षेत्र विकास कार्यक्रममार्फत उपलब्ध गराएको बजेटबाट टहरा निर्माण गरिएको छ ।
शिल्पकारका अनुसार सैनिक स्कुल आउनुअघिसम्म उनीहरुको कुल देवस्थल रहेको सयौं रोपनी जग्गा सार्वजनिक थियो । त्यसमाथि सिद्धपोखरी उत्तर रहेको टुँडिखेल सर्वसाधारणको लागि खुला थियो । संकटकाल लागू गरिएपछि सेनाले कब्जा गरेको टुँडिखेल खोल्नेबारे हालै नेपाली सेना र भक्तपुर नपाबीच सम्झौता भएको छ । भक्तपुर नपासँगको सम्झौतामा नेपाली सेनाले सैनिक स्कुल परिसरभित्र रहेको न्हुँ पुखु (रानी पोखरी) समेत सर्वसाधारणको लागि खुला गर्ने भएको छ ।
रानी पोखरी परिसरमा भक्तपुरका प्रजापति, अवाल, जोन्छे, धौभडेल, अवाल, मानन्धरलगायत समुदायको कुल देवस्थल रहेका छन् । रानीपोखरी खुला भएसँगै ती समुदायको देवस्थल पनि खुला हुने भएपछि शिल्पकार, श्रेष्ठ र सुवाल समुदायहरुले पनि आफूहरुको कुल देवस्थल खुला गर्न माग गरेका छन् ।
‘टुँडिखेलसम्म खुला हुने भएपछि त्यहाँबाट करिब दुई सय मिटर बाटो खुला गर्न समस्या नहुनुपर्ने हो’, शिल्पकारले भने, ‘यस विषयमा भक्तपुर नगरपालिकाको ध्यानाकर्षण गरेका छौं ।’
परम्परागत बाटोमा सैनिक स्कुलले विभिन्न भवन बनाइसकेकाले, भक्तपुर अस्पतालबाट सिद्ध पोखरी, टुँडिखेलबाट सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको सीमा भएर कुल देवस्थल पुग्न सकिने उनले स्पष्ट गरे । ‘यो बाटो बनाउन सकिए सैनिक स्कुलको भित्री बाटो प्रयोग गर्न पर्नेछैन’, शिल्पकारले भने, ‘जसले सैनिक स्कुलको आन्तरिक व्यवस्थापन र सुरक्षा प्रवन्धमा पनि कुनै बाधा व्यवधान हुनेछैन ।’
उनले उक्त वैकल्पिक बाटो बनाउन नेपाली सेना र भक्तपुर नपाले सहयोग गर्नु पर्नेमा जोड दिए । उक्त कुल देवस्थलमा दुगु पूजा गर्दैआएका भक्तपुर नपा–१ का वडा सदस्य विश्वराज शिल्पकारले रानी पोखरी, टुँडिखेलसँगै आफूहरुको कूल देवस्थल पनि खुला गर्नुपर्ने बताए । उक्त देवस्थल पनि खुला गर्न सकिए त्यहाँ विकास निर्माणका काम गर्न सहज हुने उनको भनाइ थियो । वडा सदस्य शिल्पकारले आफूहरुको देवस्थल नेपाली सेनाको कब्जाबाट खुला गर्नको लागि भक्तपुर नपामा आफूले पहल गर्ने जानकारी दिए ।