प्रहरी चौकीलाई गौचन परिवारद्वारा जग्गा दान
मुस्ताङ : म्याग्दी र मुस्ताङको सीमावर्ती थासाङ गाउँपालिका वडा ४ घासाका भीमप्रसाद गौचनले स्थानीय प्रहरी चौकीलाई जग्गा दान गरेका छन्। चौकी स्थापनाको २५ वर्षपछि उनको परिवारले सरकार र सुरक्षाकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले जग्गादान गरेका हुन्।
भीमप्रसाद गौचनले स्वर्गीय पत्नी भीमकुमारी गौचनको सम्झनामा आफ्नो नामको लाजपूर्जासहितको निजी १ रोपनी १२ आना जग्गा प्रहरी चौकी घासाको नाममा दर्ता गरी शुक्रबार राजीनामा पास गरे।
भीमप्रसादसहित उनका छोरा विक्रम गौचन र बुहारी सुनिता गौचनले प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई लालपूर्जा हस्तान्तरण गरेको जिल्ला युवा समितिका अध्यक्ष सम्राट गौचनले जानकारी दिए।
यसअघि जग्गादानकर्ताको परिवारसँग नाता सम्बन्ध रहेका प्रदेश सांसद चन्द्रमोहन गौचन, समाजसेवी कृष्ण गौचन र विनोद गौचनले प्रहरी चौकीलाई जग्गा उपलब्ध गराइदिन गौचन परिवारलाई सुझाएका थिए। चौकीको हालसम्म निजी जग्गा नभएको र लामो समयदेखि भाडामा बस्दै आइरहेकाले जग्गाप्राप्ति पछि प्रहरीलाई कार्यालय स्थापना गर्न बाटो खुलेको छ।
जग्गादानपछि भीमप्रसाद गौचनले सरकारलाई सहयोग पुर्याउनु नागरिक दायित्व भएकाले जग्गादान गरेको प्रतिक्रिया दिए। ‘घरदैलोमा स्थापित चौकीले शान्ति सुरक्षा व्यवस्थित गर्न र समाजलाई सुरक्षा प्रदान गर्ने भएकाले जग्गा दिएको हुँ', भीमप्रसादले भने।
कार्यक्रममा थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचन, सुरक्षाकर्मी, नेपाली सेना, मालपोत कार्यालय लगायत अन्य सरोकारवाला निकायको उपस्थिति थियो। मुस्ताङका दर्जनौं प्रहरी चौकी भवन अझै भाडामा बस्दै आइरहेका छन्। मुस्ताङमा प्रहरीको करिब २५० दरबन्दी छ।