‘शिक्षा संसार बुझ्ने र बदल्ने ज्ञान हो’
शिखर चिमौरिया
काभ्रे : काभ्रेको पनौतीस्थित शिक्षा सम्बन्धी एक कार्यक्रमका वक्ताहरुले नेपालको शिक्षा पद्धत्ति तथा व्यवस्थाबारे धारणा राखेका छन् । सिद्धार्थ वनस्थली ईन्स्टिच्युटले आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा संघीय नेपालमा शिक्षाको महत्व’ विषयक कार्यक्रममा प्रवुद्ध व्यक्तिहरुले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शिक्षा संसार बदल्ने ज्ञान भएको बताएका थिए । संसारलाई बुझ्ने र बदल्ने शिक्षा भएकाले घोकन्ते पढाइ तरिकाले प्रगति हुन नसक्ने बताए । चेतना शक्तिलाई बढाउन सक्ने शिक्षाको लागि शिक्षकहरु नै लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. रामकण्ड माकजु श्रेष्ठले शिक्षकको आदर गर्ने बानीको विकास गर्नुपर्ने बताए । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले नगरभित्रका विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न गुणस्तर अभिवृद्धिका काम भइरहेको जानकारी दिए ।
कार्यक्रममा सिद्धार्थ वनस्थली गोष्ठीका अध्यक्ष क्याटेन रामेश्वर थापाले विद्यालय व्यापारका लागि सञ्चालन गर्न नहुने धारणा राखे । उनले भने, ‘यो विद्यालय ३३ वर्षअघि स्थापना भएको थियो । जसले धेरै क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गरिसकेको छ ।’ तर उक्त विद्यालय नाफा कमाउन नलागेको क्याप्टेन थापाको भनाइ छ । साथै उक्त विद्यालय विद्यार्थीको भविष्य कसरी वहन गर्ने भन्ने तिर लागिरहेको सुनाए ।
साथै अबका दिनमा थप सहयोग पुर्याउने उद्देश्यले अन्य विद्यालयसँग सहकार्य गरेर अघि बढ्ने क्याटेन थापाले बताए । कार्यक्रममा विद्यालय सञ्चालक समितिका उपाध्यक्ष राजन मानन्धरले उपलब्ध गराएको ११ वटा स्मार्ट टेलिभिजन सेट नगरभित्र रहेका सामुदायिक विद्यालय र सोही विद्यालयलाई हस्तान्तरण गरिएको छ ।