न्हुँ पुखुमा पुरातात्विक वस्तु
भक्तपुर : भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित जीर्ण न्हुँ पुखु (रानी पोखरी) परिसरमा पुरातात्विक महत्वका वस्तु यत्रतत्र छरिएरका छन्। नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय परिसरभित्र रहेको पोखरीमा चारमुखे शिवलिंग, उमा महेश्वरको आकर्षक ढुंगेमूर्तिसँगै ढुंगाको तोरण, जरुँहिटीलगायत पुरातात्विक महत्वका वस्तु फालाफाल भएका हुन्।
सैनिक सुरक्षाभित्र रहेकाले पोखरीमा सर्वसाधारणले प्रवेश पाउँदैनन्। भग्नावशेषमात्र बाँकी पोखरीका चारै दिशाका डिल भने अझै साबुत छन्। पोखरीको बीचमा पानी छिपछिपेमात्र छ। झारपातले भरिएको पोखरीमा नगरपालिाकाले पाँचपटक सरसफाइ गरिसकेको छ। तैपनि पुरातात्विक महत्वका मूर्तिलगायतको संरक्षण हुन सकेको छैन।
पोखरी परिसरमा भक्तपुरका प्रजापति समुदायको देवाली गर्नुपर्ने कूलदेवतासमेत छन्। समुदायले पनि कूलपूजाका लागि पोखरी परिसरमा सरसफाइ गर्नेबाहेक अरू दिन संरक्षण र पुनर्निर्माणमा ध्यान दिएको छैन। नगरपालिकाले काठमाडौंको रानीपोखरी संरक्षणमा सहयोग गरेपछि यो पोखरीको पुनर्निर्माण गर्न स्थानीयले दबाब दिन थालेका छन्।
यो पोखरी काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष पुरानो हो। भेटिएको शिलालेखअनुसार नेपाल संवत् ७५० (विसं १६८७) मा भक्तपुरका मल्ल राजा जगज्योतिले पोखरी बनाउन लगाएका थिए। पोखरीको बीचमा नागको मूर्ति र ढुंगाका चार खम्बा ठड्याएर शिवलिंगसहितको मन्दिर बनाएको शिलालेखमा उल्लेख छ। काठमाडौंको रानीपोखरी भने प्रताप मल्लले नेपाल संवत् ७९० (विसं १७२७) मा बनाउन लगाएका थिए।
प्रताप मल्लले नेपाल संवत् ७८३ मा भक्तपुर आक्रमण गर्दा यहाँको पोखरी र त्यहाँ रहेका सम्पदामा क्षति पु¥याएको इतिहासविद् बताउँछन्। उनीहरूका अनुसार यही पोखरीबाट लोभिएर उनले काठमाडांैमा रानीपोखरी बनाउन लगाएका थिए। भक्तपुर जित्न नसकेका उनले यही पोखरीमा दुई÷तीन दिन किल्ला गाडेर बसेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले जानकारी दिए।
उनका अनुसार भक्तपुरवासीबाहेक अरूले यही नाकाबाट भक्तपुर नगरमा प्रवेश पाउँथे। उनीहरूलाई भक्तपुर नगर प्रवेश गराउनुअघि यही पोखरीको दक्षिणमा बनेको हो हो पाटीमा बसेर भक्तपुर राज्यका अधिकारीले केरकार गर्थे। पाटीको अवशेषसमेत अहिले पनि बाँकी नै छ। नगरपालिकाले यस्तो ऐतिहासिक पोखरीको पुनर्निर्माण गर्न सेनाबाट स्वीकृति पाइसकेको छ। भक्तपुर नगर प्रमुख सुनिल प्रजापति र सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच छलफलपछि पोखरी पुनर्निर्माण गर्न स्वीकृति दिइएको हो।
स्वीकृतिअनुसार पोखरीको सीमांकन र पुनर्निर्माण गर्न नक्साको डिजाइन भइरहेको नगर प्रमुख प्रजापतिले जानकारी दिए। उनका अनुसार सैनिक आवासीय महाविद्यालयको सुरक्षामा कुनै असर नपर्ने गरी पोखरीको पूर्व, उत्तर र पश्चिम दिशामा सुरक्षा पर्खाल लगाइने भएको छ। दक्षिणमा सल्लाघारी–भक्तपुर सडक छ। पोखरीको प्रवेशद्वार दक्षिण दिशामै भएकाले यहींबाट पोखरीमा सर्वसाधारणलाई प्रवेश दिइने नगर प्रमुख प्रजापतिले जानकारी दिए।
नगरपालिकाले सर्वसाधारणको सुविधाका लागि सल्लाघारी–भक्तपुर सडकको दक्षिण सार्वजनिक जग्गामा उद्यानसहितको पार्किङस्थलसमेत बनाउने भएको छ।
पोखरीको पुनर्निर्माण सुरु गर्ने भएकाले त्यहाँका ऐतिहासिक एवं पुरातात्विक महत्वका वस्तुलाई जहाँको तहीं राखिएको नगरपालिकाले जनाएको छ। २४ सै घन्टा सैनिक पहरा हुने भएकाले ती वस्तु असुरक्षित नरहेकोसमेत उसको भनाइ छ।
पुनर्निर्माण गर्न एक करोड
यसैबीच प्रदेश ३ सरकारले पोखरी संरक्षण तथा पुनर्निर्माणको लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले बजेट उपलब्ध गराएलगत्तै भक्तपुर नगरपालिकाले स्थानीय श्यामकुमार बाटीको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेको छ।
तत्काल पोखरीको सीमांकन र पूर्व, पश्चिम र उत्तर दिशामा सुरक्षा पर्खाल लगाउने र पोखरी परिसर सरसफाइ गर्ने अध्यक्ष बाटीले जानकारी दिए।