तरकारी जोनले लाभान्वित
ककनी : किसानको जागरणका लागि गत वर्षदेखि सञ्चालित तरकारी जोन कार्यक्रममा १ हजारभन्दा बढी किसान आवद्ध छन्। पहाडी संरचना रहेको नुवाकोटमा गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेको तरकारी जोन कार्यक्रममा १ हजार ३७ किसान आबद्ध छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सञ्चालित यो कार्यक्रम नुवाकोटको पूर्वी भेगका ककनी गाउँपालिका–८ बाहेक ७ वटा वडा, शिवपुरी गाउँपालिका–६ समुद्रादेवी– ७ सुनखानी र ८ थानापती, पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्या, थप्रेक र भदु्रटार तथा दुप्चेश्वर गाउँपालिका–३ रातउवेसी र बालकुमारीमा सञ्चालन भइरहेको कार्यालय प्रमुख डा.कमलराज गैरेले जानकारी दिए। उनका अनुसार यस क्षेत्रका किसान, कृषक समूह, कृषि फार्म, कृषि सहकारी संस्था, कृषिसम्बन्धी जल उपभोक्ता समितिले गर्दै आएका तरकारी खेतीसहित अब व्यावसायिक तरकारीखेती गर्न चाहेमा उनीहरूलाई विभिन्न सहायता कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
१० वर्षसम्म सञ्चालन हुने कार्यक्रमले छोटो अवधिमा कृषि पेसालाई सम्मानित बनाइ किसानको जीवनशैलीमा कायापलट गर्ने योजना बनाएको जोन प्रमुख गैरेले बताए। उनका अनुसार हाल किसानलाई अनुदानमा फलामको स्थायी टनेल निर्माण, प्लास्टिक पोखरी र भकारो सुधार कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।
परियोजनामार्फत किसानलाई निःशुल्क प्राविधिक सहयोग, ८५ प्रतिशत अनुदानमा प्रयोगशाला सेवा, साना सिँचाइ पूर्वाधार र उत्पादन तथा कृषि व्यवसाय सेवाको पूर्वाधार, ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण, कृषि उत्पादन सामग्री अन्तर्गतका बीउ, बेर्ना, बिरुवालगायत सहयोग गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजनामार्फत नुवाकोटमा तरकारी जोनसहित आलु जोन कार्यक्रम, ४ ब्लक र २१ वटा पकेट क्षेत्र सञ्चालनमा छन्।
विदुर र वेलकोटगढी नगरपालिकाका साथै १० गाउँपालिका रहेको नुवाकोटमा तरकारीका साथै धान, मकै, गहुँ, उखुसमेत उत्पादन हुने गरेको छ। अधिकांश किसान तरकारी तथा धानखेतीमा आबद्ध भएका छन्।