बिजुली जाँदा टेलिकमको नेटवर्क पनि ठ्याप्प

बिजुली जाँदा टेलिकमको नेटवर्क पनि ठ्याप्प

धादिङ : विगत २ साता अघिदेखि धादिङ जिल्लाको विद्युत सेवा र नेपाल टेलिकमको नेटवर्क पटक- पटक अवरुद्ध हुँदा स्थानीय सास्ती खेप्न बाध्य छन्। विद्युत सेवा अवरुद्ध हुने वित्तिकै जिल्ला सदरमुकाम आसापासमा नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गरेपछि स्थानीयबासी झन् पीडित भएका हुन्।

एक दिनमै दजर्नौ पटक विद्युत आउने जाने गरेपछि दत्तचित्त भएर काम गर्न नपाइएको मोबाइल पसल गरेर बसेका स्थानीय व्यवसायी प्रेम रेग्मीले बताए। उनले भने, 'आफ्नो व्यवसाय नै विद्युतसंग जोडिएको छ, मोबाइल मर्मत गर्न विद्युत नै चाहिन्छ तर दिनहुँ विद्युत सेवा पटक पटक अवरुद्ध हुने गरेको छ।'

धादिङवेशीकै अर्का व्यवसायी दिवस लम्सालले आक्रोशित हुँदै भने, 'हाम्रो धादिङमा त नेपाल टेलिकम र विद्युत कार्यालयको क्या मिलेमतो छ भने जब विद्युत झ्याप्प जान्छ तब नेपाल टेलिकमको नेटवर्क पनि ठ्याप्पै बन्द हुन्छ।'

वर्षात‍को समय सुरु हुन लागेको भएर हावाहुरीका कारण विद्युतसेवामा अवरोध आएपनि विद्युत बन्द हुने वित्तिकै नेपाल टेलिकमको सेवामा पनि समस्या आउनु दुःखद रहेको नागरिक समाजका अगुवा सिताराम प्रसाद बर्माले बताए।

बर्माले भने, 'कहि यस्तो पनि सेवा हुन्छ? व्याकअप सिष्टम हुनुपर्दैन टेलिकममा ? विद्युत गयो भनेर विद्युतलाई दोष दिने कि थप सुविधा थप्ने टेलिकमले?' विद्युत सेवा पनि असाध्यै धेरैपटक अरुवद्ध हुने गरेको उनले बताए। पटक पटक विद्युत अवरुद्ध भइरहेको प्रति बर्माले अघोषित लोडसेडिङ त हैन भन्दै प्रतिप्रश्न गरे।

विद्युत सेवामा अवरोध आउँदा फर्निचर, ग्रीललगायतका उद्योगी बढी समस्यामा परेका छन्। नीलकण्ठ ३ पुछारबजारका ग्रील व्यवसायी रामबहादुर श्रेष्ठले भने, 'घण्टा घण्टामा विद्युत अवरुद्ध भइरहन्छ, अर्डर लिएको सामान समेत समयमा बुझाउन पाइएको छैन।'

हावाहुरी चल्ने मौसम भएकाले लगातार विद्युत अवरुद्ध भइरहेको नेपाल विद्युत प्राधिकरण धादिङ वितरण शाखाका प्रमुख ध्रुव कार्कीले बताए। उनले भने, 'देवीघाटबाट धादिङवेशी ल्याएको प्रशारण लाइन नै लामो छ, सामान्य समस्या आइरहेको हुन्छ, हावाहुरीको मौषम पनि छ, हावाहुरीले क्षति गरेपछि विद्युत अवरुद्ध भएको हो।'

मर्मतको समयमा सूचना दिएरै विद्युत सेवा बन्द गरेको भएपनि पटक पटक अवरुद्ध हुने समस्या भने प्रशारण लाइनमै समस्या आउने गरेकोले कार्कीले बताए। विद्युत सेवा अवरुद्ध हुने वित्तिकै नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गरेको हुन्छ। जसबाट स्थानीय झनै पीडित भएका छन्। विद्युत जाने वित्तिकै गाउँका टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, अस्पष्ट आवाज आउने गरेको नेपाल टेलिकम धादिङका प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए।

उनले भने, 'गाउँका टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, अस्पष्ट आवाज आउने गरेको नेपाल टेलिकम धादिङका प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए। उनले भने, 'विद्युत बन्द हुने वित्तिकै नेटवर्क बन्द नै भएको त छैन, व्याकअप सिष्टमले काम गर्छ तर सदरमुकामभन्दा बाहिरको टावर बन्द भएको अवस्थामा सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले केही समस्या देखिएको हुनसक्छ।'

कटुवालले नेटवर्कमा कुनै समस्या नभएको बताए पनि विद्युत अवरुद्ध भएको केही बेरमा सदरमुकाम आसपासमा भने नेपाल टेलिकमको नेटवर्क बन्द भइहाल्छ। नीलकण्ठ नगरपाकिाल वडा नं ३ कि स्थानीय राममाया श्रेष्ठले भनिन्, 'धादिङवेशीमा विद्युत र टेलिकमको सेवा त केही भर छैन, कुन बेला आउने र जाने केही ठेगान हुँदैन, विद्युत जाने वित्तिकै नेटवर्क पनि सँगै जान्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.