‘बिमा’ले किसानलाई राहत
भोजपुर : कुनै कारणले घरमा पालेको पशु मरेमा लागत बराबरको रकम फिर्ता पाउने भएपछि भोजपुरका किसान पशुबिमामा आकर्षित भएका छन्। पशुबिमा गरेकाले बिमित पशु मरेमा ९० प्रशित बिमांक रकम फिर्ता पाउन थालेपछि पशुबिमा गर्ने किसानको संख्या बढ्न थालेको छ।
गत माघमा भोजपुर नगरपालिका–८ पोखरेकी कुसुम खड्काको दैनिक ९ करुवा दुध दिने भैँसी मर्यो। ५५ हजारमा खरिद गरेको भैंसी मरेपछि उनी सिँधै बिमा कम्पनीमा क्षतिपूर्ति माग्न पुगिन्। बिमांक वापत पाउने ९० प्रशितले ४९ हजार पाँचसय रुपैयाँ क्षतिपूर्ति पाएपछि उनले गाउँमा अरु किसानलाई पनि बिमा गर्न सुझाव दिइन्।
‘बेलैमा पशुबिमा गरेकोले धन्न अर्को पाडो किन्ने रकम पाइयो’ उनले भनिन्, ‘नत्र पाडो किन्न ठुलो ऋण कहाँ खोज्नु। अब नयाँ पाडी किनेर फेरि पाल्छु।’ कुसुमको जस्तै भोजपुर नगरपालिका ६ देउरालीकी राधा विश्वकर्माको पनि बिक्रीका लागि बजार लैजाँदै गर्दा बाटैमा तीन वटा बोका मरे। तीनवटैकै बिमा गरेकी राधाले १८ हजार रुपैयाँ क्षतिपूर्ति पाइन्। ‘पहिले पशु मरेपछि लगानी सबै डुब्थ्यो, तर बिमा गरेदेखि चिन्ता छैन। कुनै रोगले मरे पनि लगानी अनुसारको रकम पाइने रहेछ।’
बिमाले किसानलाई लागत सुरक्षित राख्न मद्दत गरेको आमचोक गाउँपालिका–७ देवानटारका राजकुमार राईले बताए। उनले भने, ‘यो बिमा पहिले नै आउनुपथ्र्यो। विगतका प्राकृतिक प्रकोपले धेरै पशुचौपाया मरे। अरु पशुचौपाया किन्न पैसा पनि थिएन। अहिले राहत पाउँदा भने हामी ढुक्क छौं।’ मासु, दुध तथा अण्डाको प्रयोजनका लागि पालिने गाईवस्तुको सुरक्षाको अनुभुति हुने भएकाले पशु बिमाप्रति कृषकहरुको आकर्षण बढेको लुम्बिनी जनरल इन्स्योरेन्स भोजपुरका प्रमुख सन्तोष तिवारीले बताए।
प्राकृतिक प्रकाप र रोगका कारण पशुपालनमा हुने घाटालाई बिमाले जोगाएको किसानको भनाइ छ। उनका अनुसार यो एक वर्षको अवधिमा एक हजार बढीले पशुबिमा गराएका छन्। पशुको वास्तविक विवरण दक्ष प्राविधिकबाट पुष्टि भएपछि मात्र बिमा गराउने प्रावधान छ। पशु बिमा गराउन जिल्लाका ९ वटै स्थानीय तहका वडाहरुमा कृषि र पशु प्राविधिकहरु परिचालन गरिएको तिवारीले बताए।
कृषकले पशु बिमा अन्तर्गत एकवर्षभरिमा पशुको क्षतिपूर्तिमार्फत बिमाङ्क रकमको ९० प्रतिशत रकम पाउँछन्। उक्त क्षतिपूर्ति प्राप्त गर्न कृषकले पशु मरेपछि पशुको पूरा जीउडाल, ट्याग र पशुलाई पुर्दै गरेको खाडलसहितको तस्वीर, साक्षीका लागि तीन जना स्थानीय र गाविसको सिफारिस आवश्यक पर्छ।