गीतका मेरुदण्ड

गीतका मेरुदण्ड

काठमाडौं : कहीँकतै सुमधुर गीत बजेको सुनियो भने हामी मन्त्रमुग्ध बन्छौं। कोही त धुनसँगै हातखुट्टा चलाउन थाल्छन्। हामीमध्ये धेरैलाई लाग्न सक्छ, गायकको मात्रै राम्रो स्वरका कारण गीत राम्रो बनेको छ। तर यथार्थ त्यस्तो होइन। एउटा गीत बन्नुपछाडि धेरैजनाको मेहनत परेको हुन्छ। पर्दापछाडि गीतकार, वाद्यवादक, गायक, रेकर्डिस्ट, एरेन्जर, साउन्ड इन्जिनियरलगायतका व्यक्तिको संग्लनता हुन्छ।

सबैको मनमा बस्ने गीत बनाउन गीतमा प्राण भर्नुपर्छ। बेसुरा गीतलाई सुरमा हिँडाउने, लय मिलाउने, वाद्यवादनको तालमेल मिलाउने काम साउन्ड इन्जिनियरको हो। गीतका गायक गायिका चर्चित भइरहेका हुन्छन्। गीत चल्नुको श्रेय पनि उनीहरूलाई नै जान्छ। तर स्टुडियोभित्र बसेर घण्टौं गीतमा काम गरिरहने पात्र भने सधैं पर्दापछाडि नै परेका हुन्छन्। यस्तै एक पात्र हुन्, साउन्ड मिल स्टुडियोका म्युजिक प्राविधिक महेश्वरमान राजभण्डारी।

२०५२ सालदेखि पाटनको मंगलबजारमा रहेको लिटल स्टार स्टुडियोबाट गीत मिक्सिङ सिकेका राजभण्डारी अहिले संगीतभित्रको सबैजसो प्राविधिक काममा सिपालु छन्। उनले ‘पिलायो साथीले’, ‘क्या दामी भो’, ‘न बिर्सें तिमीलाई’, ‘तिम्रो हजार गल्तीहरू’, ‘हंगामा भो’लगायत सयौं चर्चित गीतको मिक्सिङ गरिसकेका छन्। पछिल्लो समय अन्य क्षेत्रको पारिश्रमिक बढे पनि स्टुडियो प्राविधिकको ज्याला बढ्न नसकेको बताउँछन् राजभण्डारी।

राजभण्डारीका अनुसार प्रविधिले गर्दा अहिले गीत रेकर्डिङमा धेरै सुविधा थपिएको छ। पहिले कुनै गीत बनाउन एक महिना अघिदेखि समय मिलाउनु पथ्र्यो। गाउने, बजाउनेलगायतका सबैजना एकै ठाउँ भेला भएर म्याग्नेटिक टेप डेस्कमा रिलमा रेकर्ड हुन्थ्यो। गीत रेकर्डिङ निकै झन्झटिलो हुन्थ्यो। तर अहिले हरेक ठाउँमा डिजिटल प्रणाली आइसकेको छ। गीत रेकर्डिङमा मल्टिट्र्याक सिस्टम भित्रिएको छ। राजभण्डारीको अनुभवमा पहिले गरिने मोनो रेकर्डिङमा गायकहरूको अग्र्यानिक स्वर सुन्न पाइन्थ्यो। 

तर अहिले डिजिटल रेकर्डिङले नराम्रोलाई पनि राम्रो बनाइदिने हुँदा गायकहरूको ओरिजनल टोन बाहिर आउँदैन। कुनै पनि गायकले ‘फिल’मा गीत गाएको छ तर अन्तिममा सुर बिगा¥यो भने सिस्टमबाटै बनाउन सकिने उनले बताए। गायक वा वाद्यवादक सबै आफ्नो अनुकूल समयमा आएर गाउन, बजाउन सकिने हुँदा यो सिस्टम धेरै सहज पनि छ। कुनै पनि गीत कस्तो बन्ने प्राविधिकको हातमा भर पर्ने उनी बताउँछन्। उनका अनुसार कुनै पनि गीतमा ६० प्रतिशत काम साउन्ड इन्जिनियरको हो।

प्रिज्म रेकर्डिङ स्टुडियोका मिक्सिङ इन्जिनियर श्यामश्वेत रसाइली पनि करिब १५ वर्षदेखि यही क्षेत्रमा आबद्ध छन्। बागलुङ भकुण्डेका उनी सानैदेखि गीतसंगीतमा हुरुक्क हुन्थे। उनका दाजुहरू बीबी अनुरागी र सुकराम पनि यही क्षेत्रमा छन्। ओस्कार कलेजमा अडियोग्राफीमा ब्याचलर्स सकाएका रसाइली मिक्सिङ इन्जिनियर गीतको खम्बा भएको बताउँछन्।

उनको हातमा रेकर्डिङ भएको गीत आएमा उनले के के बाजा मिसाउने, कुन बाजालाई कस्तो आरोह अवरोह दिने योजनासहित डमी गीत बनाउँछन्। सुर बिग्रेकोलाई सुर बनाउने, टाइमिङ हेर्ने, साउन्ड ब्यालेन्स गर्ने जस्ता काम गरेर मास्टर पिस तयार गर्छन्।

रसाइलीले मिक्सिङ गरेको गीत करिब १५ हजार पुगेको छ। ‘कुटुमा कुटु’, ‘पहिलो नम्बरमा’, ‘रूपै मोहनी’, ‘सुर्के थैली’, ‘पूर्व पश्चिम रेल’, ‘पर्ख पर्ख मायालु’लगायतका चर्चित गीत उनले मिक्सिङ गरेका छन्।

एउटा गीत तयार पार्न कम्तीमा पनि पाँच घण्टादेखि एक दिन लाग्छ। गीतलाई सफ्टवेयरमा एडिट गरेर सूक्ष्म पक्षहरू पनि हेर्नुपर्ने उनी बताउँछन्। एनालग सिस्टममा गीत बनाउन सिकेका रसाइली अहिले डिजिटल सिस्टमले संगीतमा निकै राम्रो फड्को मारेको बताउँछन्।

रसाइलीका अनुसार एउटा गीत तयार गर्न प्राविधिक पक्षमा तीस हजारदेखि पचास हजार रुपैयाँसम्म खर्च हुन्छ। मिक्सिङ गरेको मात्रै पाँचदेखि १५ हजार रुपियाँसम्म लिने गरेका छन्। त्यसैले प्राविधिकहरूको कमाइ पनि आकर्षक छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.