‘फेरी’ हरायो, ‘थर’ हराउने चिन्ता
भद्रपुर : झापाको भद्रपुर नगरपालिका–२ पृथ्वीनगरका ६५ वर्षीय मानबहादुर जोगीलाई रातमा सुत्ने फुर्सद छैन। काँधमा बोरा र कपडाले बनाएका धेरैवटा झोला बोकेर ‘फेरी’ (जरायोको सिङ) बजाउँदै रातको १० बजे घरबाट निस्कने मानबहादुर बिहान ११ बजे मात्रै घर आइपुग्छन्। ‘फेरी लगाउने चलन हराउन थाल्यो, छोराहरुले जान्दैनन्, बुढो भए पनि परिवार पाल्न यो पेशा छोड्न सकेको छैन’ मानबहादुरले भने।
युवा पुस्ताले रातको समयमा ‘फेरी’ लगाउन जोगी मन्त्र पढ्न नमान्दा आफुहरुको पेशानै लोप हुने अवस्थामा पुगेकोमा उनि चिन्तित छन्। ‘आकाशै बाधुँ कि पातालै बाधुँ’ यति मन्त्र धेरैलाई थाहा छ, अहिले यो मन्त्र नै कथा जस्तो भयो’ उनले थपे, ‘फेरी लगाउँदै हिँडेको ५० वर्ष भएछ।’
रातभर फेरी लगाउने र दिनको समयमा फेरी लगाएको घरमा दान थाप्दै हिड्ने जोगीको पेशा हो। दानमा उनीहरुलाई रुपैयाँका साथै धान, मकै, कोदो, तेल, बेसार, दाल र आलु लगायतका वस्तुहरु पाउँछन्। मानबहादुरले फेरी बजाएरै ६ जना परिवारलाई ६ महिना पुग्ने चामल जोडेका छन्। ‘जोगीहरुको फेरी लगाउने सिजन चैत्र र कार्तिक महिना हो। तर हिजो आफुले नै फेरी लगाउँदै आएको घरमा शान्तिका लागि फुक्न र फेरी लगाउन जुनसुकै महिनामा पनि बोलाउने गरेको मानबहादुर बताउँछन्। मानबहादुर जोगी फेरी लगाउँदै झापा, मोरङ, इलाम र भारतको दार्जलिङ, सिक्किम, आसाम र भुटानसम्म नेपाली समाजमा पुगेका छन्।
कात्र्तिकमा प्रायः उनी भारततिर हुन्छन् भने चैतमा झापा, मोरङ घुम्छन्। झापाको दक्षिण भेगमा ६० घर जोगी परिवार छन्। पहिले सबै घरका पुरुषहरु फेरी लगाउन निस्कने गर्थे। ‘हामी त्यतिबेला सबैलाई ठाउँ तोक्थ्यौं,’ उनले थपे, ‘अहिले त ६० घरमा जम्मा ६ जनाले मात्र फेरी लगाउँछन्।’ यस्तै पृथ्वीनगरकै अर्का ३७ वर्षीय हस्तबहादुर जोगी भन्छन्, ‘खेतीपाती गर्न जग्गा छैन। बाबु बाजेले सिकाइदिएको यही पेशाले जीविको चलाएको छु’ उनले सुनाए। दुईवटा छोराछोरी पाल्न बर्खा बाहेक अन्य समयमा उनी फेरी लगाउन जान्छन्।
नेपालमा चामल धेरै दिने भए पनि भारतमा पैसा धेरै आउने भएकाले फेरी लगाउन अधिकांश जोगीहरु भारततिरै जान रुचाउँछन्। नेपालमा सबैभन्दा धेरै जोगी जाती तेह्रथुम जिल्लामा भएको बताउने यो समुदायकै अगुवा चन्द्रबहादुर जोगीले भने, ‘अहिले जोगीको जनसंख्या एकदमै कम छ। जोगीहरु लाजले आफ्नो थर नै लेख्न छाडेका छन्।’ पृथ्वीनारायण शाहले त्यतिबेला सबैलाई कामको भागभण्डा लगाइदिने क्रममा जोगीलाई फेरी लगाउने र सूचना संकलन गर्दा जोगिएर हिड्नु भनि आदेश दिएकोले छोटकरीमा जोगी रहन गएको चन्द्रबहादुर बताउँछन्। घरमा भूतप्रेतबाट मुक्ति पाउन र शान्ति कायम राख्न जोगी मन्त्र उच्चारण गर्ने गरिन्छ।