अर्घाखाँचीको पीपीसी सिमेन्ट बजारमा
काठमाडौं : अर्घाखाँची सिमेन्ट प्रालिले पीपीसी (पोर्टल्यान्ड पोजोनला) सिमेन्ट बजारमा ल्याएको छ। २०७१ मंसिरदेखि व्यावसायिक रूपमा ओपीसी (अर्डिनरी पोर्टल्यान्ड) सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले पाँच वर्षपछि आइतबारदेखि पीपीसी सिमेन्ट बजारमा ल्याएको हो।
कम्पनीको पीपीसी सिमेन्ट उत्पादनका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबार एनएस चिन्ह प्रदान गरेको थियो । यो प्रमाणपत्र पाएपछि कम्पनीले पीपीसी सिमेन्ट बजारमा ल्याएको हो।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले ओपीसी सिमेन्टभन्दा पीपीसी सिमेन्ट १४ प्रतिशत सस्तो हुने बताएको छ। कम्पनीले नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण पीपीसी सिमेन्ट उत्पादन सुरू गरेको कम्पनीका सञ्चालक पशुपति मुरारकाले जानकारी दिए। उनले ओपीसी सिमेन्टमा हाँसिल गरेको सफलता र उपभोक्ताको विश्वासले पीपीसी सिमेन्ट उत्पादनमा प्रेरित गरेको बताए।
कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनिक एफएल स्मीथडेनिस प्रविधिको भीआरएम मेसिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको बताएको छ। नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै उत्पादन लाइन (प्रोडक्सन लाइन)मार्फत ओपीसी र पीपीसी उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको दाबी गरे।
उनले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका नगरेकाले यसले कम्पनीको उत्पादनप्रति ग्राहकको विश्वास थप मजबुत बनाएको बताए।