रसुवागढीमा प्रशासन र व्यवसायीबीच विवाद
त्रिशूली (नुवाकोट) : नेपाल–चीन नाका रसुवागढीमा जिल्ला प्रशासन र यातायात व्यवसायीवीच विवाद सिर्जना भएको छ। प्रशासन र व्यवसायी दुवैले पत्रकार सम्मेलनमार्फत् एकअर्कालाई दोषी देखाएका छन्।
भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाकामा डायल तथा सिन्डिकेट प्रणाली लागू गरेर प्रशासनले आफूहरूमाथि अन्याय गरेको व्यवसायीको आरोप छ। मानबहादुर तामाङसहितका सीमापार व्यवसायीले प्रशासनको निर्णयको विरोध गरेका हुन्। यता रसुवा प्रशासनले त्यसको प्रतिवाद गर्दै व्यवसायीलाई कुनै पनि समस्यामा नपारिएको जनाएको छ।
नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउन ‘पहिले पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। उनले प्रक्रिया र नियम अनुसार सन्चालन नीति राख्नु सिण्डिकेट नभएको बताए।
‘हामीले रसुवागढीमा मात्रै होइन, रसुवामै कुनै पनि किसिमको सिन्डिकेट लगाएका छैनौँ, प्रजिअ भण्डारी धुन्चेमा आयोजित पत्रकार सम्मेलनमा भने, 'पहिले आएका कन्टेर पहिले जाँदा कसरी सिन्डिकेट हुन्छ?'
पालो मिच्ने विषयमा विवाद हुने गरेकाले नाकालाई व्यवस्थित बनाउन सो प्रणाली सुरु गरिएको उनले बताए। रसुवागढी नाकाबाट सीमित संख्यामा ट्रक कन्टेनरले चीन प्रवेश पाउने र बढी संख्यामा रसुवागढीसम्म आउने गर्दा विवाद सिर्जना हुँदै आएको छ।
रसुवागढी नाकामा हाल एक सय ओटा कन्टेनर आवतजावत हुने गरेको छ। नेपालको सीमा क्षेत्रमा दैनिक जाने करिब ४ सय कन्टेनर पार्किङ गर्नुपर्ने अवस्था आएपछि प्रणाली सुरु गरिएको प्रशासनले जनाएको छ।
रसुवागढी नाकामा ७ सय कन्टेनर राखिएको हुन्छ। मितेरी पुलमा निर्माण जारी रहँदा एकतर्फी रूपमा सवारी सञ्चालन भएकोले ४० थान सवारी मात्रै चीन जाने गरेका थिए।
रसुवागढीमा सवारीधनी र विचौलियाले बलका भरमा केरुङ जान एक अर्काको पालो मिच्ने भइरहेका कारण नाका क्षेत्रमा जुन सवारी पहिला पुग्छ त्यसैले लामबद्ध तवरबाट जान पाउने व्यवस्था गरिएको प्रजिअ भण्डारीको दावी छ।
चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता, चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लास्टिकका सामान आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, ऊनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायतका वस्तु निकासी भइरहेको छ।
रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर सडक दूरी पार गर्नुपर्छ।