चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदै छ । यही जुन १२ का लागि उनीहरुबीच किर्गिस्तानको बिस्केकमा भेटवार्ता तय भएको हो ।
सांघाइ सहयोग संगठनको सहयोगमा हुने दुईदिने १९औं शिखर सम्मेलनको क्रममा उनीहरुबीच भेट्ने कार्यक्रम तय भएको हो । सम्मेलनको क्रममा आतंकवाद विरुद्ध सुरक्षा सहकार्य, आर्थिक सहकार्य लगायत विषयमा उनीहरुको वार्ता केन्द्रित हुने बताइएको छ । चिनियाँ नेता सिले गत साता मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरिसकेका छन् ।
सीमा सुरक्षा तथा समस्याहरू समाधानका लागि २००१ मा चीनको अगुवाईमा सांघाइमा स्थापित संगठनमा चीनसहित रूस, कजाख्स्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, भारत र र पाकिस्तान आबद्ध छन्। भारत र पाकिस्तानले सन् २०१७ देखि मात्र यसको सदस्यता पाएका हुन्। यसमा नेपालसहित छ वटा राष्ट्र संवाद साझेदारको रूपमा छन्।