नवलपरासीमा हावाहुरीकाे धक्काबाट ४० बाख्रा भीरबाट खसेर मरे
नवलपुर : पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकामा पानीसहित आएको हावाहुरीका कारण पशु चौपाय, बालिनालीदेखि भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ ।
पहाडी दुर्गम क्षेत्रमा रहेको गाउँपालिकामा आएको पानीका कारण सडक समेत अवरुद्ध भएको छ । हावाहुरीका कारण वडा नं.४ र ५ का १० भन्दा धेरै घरमा क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बाँस्ताकोटीले जानकारी दिए ।
क्षति पु¥याइएका घरमा वडा नं. ५ मा विद्यालयसहित ८ घर र वडा नंं ४ मा २ वटा घर छन् । हावाहुरीले सबै घर र विद्यालयको पर्खाल भत्काउनुका साथै जस्तापाता उडाएको छ । क्षति पु¥याएको विद्यालयमा शिशु आश्रम छ ।
हावाहुरीकै कारण चुलिबोझा गाउँमा ४० वटा बाख्रा मरेका छन् । चराउन लगेका बाख्रालाई हुरीले उडाएपछि मरेका हुन् । भिरालो बाटो भएकाले चराएर फर्कने क्रममा भीरबाट खसेर बाख्राहरु मरेको अध्यक्ष बाँस्ताकोटीले बताए । हावाहुरीका कारण त्यस क्षेत्रमा लगाइएको मकैलगायत बालीसमेत क्षति पुगेको छ ।
हावाहुरीबाट पीडित भएका स्थानीयलाई क्षतिको अवस्था हेरेर प्रति घर २० हजारका दरले राहत रकम उपलव्ध गराइने बाँस्ताकोटीले जानकारी दिए । प्रहरी मुचुल्का पछि राहत रकम वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
सडक अवरुद्ध
पानीका कारण आएको पहिरोबाट सडक नै अवरुद्ध भएको छ । दलदले–बुलिङ्टार सडक खण्डका दुई स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष बाँस्ताकोटीले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा दुई दिनदेखि त्यस क्षेत्रमा यातायात सञ्चालन हुन सकेका छैन । सडक खण्डअन्तरगत पांग्रे, देउरालीलगायत पाँच स्थानमा पहिरो गएको छ । पहिरो हटाउन अझै २÷३ दिन लाग्ने गाउँपालिकाले जनाएको छ । सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रका स्थानीयहरु राजमार्ग पुग्न डेढ दिनको पैदल हिँड्न बाध्य छन् । पछिल्लो साता नै कैलाली, कन्चनपुर र पर्सामा पनि हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ ।