यौनकर्मीलाई पनि स्पेस दिऊँ

यौनकर्मीलाई पनि स्पेस दिऊँ

कुनै बेला (०५०/५२ तिर) को कुरा हो, चेलीबेटी बेचबिखनविरुद्ध अभियान चलाइरहँदा पत्रकारहरूका जिज्ञासामा भन्ने गर्र्थें, ‘यौन व्यवसायले नेपालमा कुनै पनि हालतमा कानुनी मान्यता पाउनु हुँदैन।’ त्यो समय अर्कै थियो, परिस्थिति पनि फरक। तीनताका थोरै व्यक्तिले अति लुकेर यस्ता कार्य गर्दथे। तर समय बदलिएको छ। आजको अवस्थामा यो–यो पेसा जताततै महसुस गर्न सकिने अवस्थामा छ। समयसँगै धेरै परम्परा र मान्यता पनि बदलिँदा रहेछन्।

हिजोआज वरिपरिको वातावरण हेरेर मेरो पनि देहव्यापारप्रतिको पुरानो धारणा बदलिएको छ। मलाई लाग्छ, ‘नेपालमा देह व्यापार नियन्त्रित हिसाबले कानुनभित्र चल्न दिनुपर्ने समय आइसकेको छ। किनकि अनियन्त्रित देह व्यापार कानुनी मान्यता दिँदाको अवस्थाको भन्दा घातक हुने गर्छ। देह व्यापारमा लागेका यौनकर्मीहरूलाई नजिकबाट बुझ्ने हो भने अधिकांशतः पेट पाल्न र दैनिकी चलाउन यो पेसा अँगाल्न बाध्य भएका हुन्। ओठमा बाक्लो लिपिस्टिक र साजसज्जामा देखिने प्रत्येक यौनकर्मीहरूका वास्तविक जीवन अर्कै छ। जति जानियो, त्यति नै कारुणिक छन्। उनीहरू प्रत्येकको दुःखद सत्यकथा ध्यानपूर्वक सुन्ने हो भने आँखा रसाउँछन्। तर ग्राहकहरू त्यो सत्य कथाभित्र प्रवेश गर्दैनन्। पहाड झैं दुःख मनभित्रै कैद गरी लिपिस्टिक र पाउडरले सत्यकथा छोपेका यौनकर्मीहरू संवेदनहीन ग्राहकलाई आफ्ना कथा सुनाउन पनि चाहँदैनन्। किनकि उनीहरूलाई हतार हुन सक्छ, त्यो काम पूरा गरी घरका लागि तरकारी, चामल र बच्चाका लागि दूध किन्न।

उनीहरूभित्र जे दुःख र बाध्यता छ, त्यो सरकार र समाजले सुन्ने अवस्था पनि छैन। र, सुनाएर हल हुनेवाला पनि छैन। ती कथा बताएर तिनले राहतभन्दा बढी गाली, अपमान र तिरस्कार पाउने अवस्था छ। यौनकर्मीहरूलाई कानुनी ‘स्पेस’ दिनुपर्ने विषय राख्दा नेपालमा अझै तालीभन्दा गाली बढी खाइन्छ। यो काम गरिनु हुन्न भन्नेहरू नै धेरै हुन्छन्। तर हुन्न भन्नेहरूसँग पनि यौनकर्मीहरूका बाध्यता समाधान गर्ने सामथ्र्य छैन। हुन्न भन्नेहरूमध्ये आफूलाई सफा देखाउन हुन्न भन्ने र मनको कुनै कुनामा उनीहरूसँग सम्पर्क राख्न तीव्र चाहना गर्नेहरू पनि छन्। वास्तवमै नजिकबाट सुन्ने हो भने र यौनकर्मीहरूले मन खोलेर भन्ने हो भने उनीहरू प्रत्येकको जीवन कथामा चलचित्र बन्न सक्तछ। म यहाँ एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु, जुन सत्य हो। एकजना करिब बीस–एक्काईस वर्षकी चेली विकट पहाडबाट काठमाडौंको डेरामा बसी कलेज पढ्दै छिन् र उनको घरमा गरिब बूढा आमा–बुवा र जड्याहा दाजु छन्। उनलाई पढाउने खर्च गरिब आमाबुवाले बोका बेचेर जुटाउने योजना गर्छन्। तर, दुर्भाग्यवश बोकाको पनि मृत्यु हुन्छ। जड्याहा छोराबाट आतंकित बाबु/आमा आफैं बिरामी छन्।

यौन पेसालाई कानुनभित्र एउटा ‘स्पेस’ दिऊँ, जहाँ यही देशका यौनकर्मी नागरिकले पनि सम्मानित र सुरक्षित भएर बाँच्न पाऊन्।

छोरीलाई भन्छन्, ‘त्यतै कोहीसँग पैसा खोजी काम चलाऊ। पछि हामी पठाइदिऊँला। ती छोरीलाई पढ्ने रहर छ, तर कोसँग पैसा खेजेर काम चलाउने ? उनलाई थाहा छैन। उनी चिन्तित छिन्। कलेजको फी, घरभाडा र बाँच्न खाना जुटाउनु छ। काम खोज्दा पाइँदैन। त्यत्तिकैमा एक महिला साथीले उनलाई एउटा फ्ल्याटमा लान्छिन्, जहाँ उनलाई आन्टी भन्ने अधबैंसे महिलाले स्वागत गर्छिन्। यौनधन्धामा लागी समस्या समाधान गर्न सकिने सल्लाह दिन्छिन्। त्यसपछि उनले यो पनि थाहा पाउँछिन् कि उनीजस्तै अरू केही साथीहरूले पनि यसैगरी जीवन र अध्ययन चलाएका रहेछन्। उनी तत्काल मान्दिनन्, तर जब अर्को कुनै बाटो देख्दिनन्। त्यही आन्टीकहाँ पुग्छिन्। त्यो दिन उनी रातभर रुन्छिन्। तर विस्तारै–विस्तारै उनलाई लाग्छ, यही तरिकाले म पढ्न सक्छु। उनी यो काम सौखका लागि नभई पढ्ननिम्ति हो। हालै आन्द्रामा प्वाल पारेर गाउँबाट आएकी बूढीआमाको पनि उनले उपचार गरिन्।

कुनै दिन प्रहरी छापामा यी चेली समातिन सक्छिन्। त्यो दिन रेडियो, टीभी, पत्रपत्रिका आदिमा उनीविरुद्ध खुबै घृणा फैलाउने समाचार आउन सक्छ। उनी मुख छोपेर महिला प्रहरीको हथकडीमा बाँधिएको अवस्थामा निहुरिएर बसेको अवस्थामा देखिन पनि सक्छिन्। तर समात्ने, थुन्ने र सार्वजनिक गर्नेसँग सोध्न चाहन्छु– यी चेली अपराधी हुन् कि पीडित ? ती आन्टी शोसक हुन् कि दयालु ? पक्राउपछि सार्वजनिक गर्ने र अपमान गर्ने प्रहरीहरू धन्यवादका पात्र हुन् कि क्रूर ? मैले यी चेलीको कथा एक मित्रबाट सुनें, जसले उनीसँग यौन सम्पर्क राख्दा रहेछन्। उनले भने, ‘म ती चेलीले एमए पास गरेको देख्न चाहन्छु। कहिलेकाहीं यौन सम्पर्क नराखीकनै पनि मद्दत गर्छु। यी ग्राहक भगवान् हुन् कि दानव ? म आफैं प्रहरी हुँदा पनि यौनकर्मीहरूका अनगिन्ती सत्यकथा जान्ने मौका पाएँ, जुन प्रहरीको युनिफर्ममा पिस्तोल भिरेर बस्दा पनि आँखाबाट आँसु खसाल्ने खालका हुने गथ्र्याे।

जब हामी नजिकबाट यौनकर्मीका जीवन अध्ययन गर्छौं, तब पाउँछौं कि सय कडा ६–७ प्रतिशत यौनकर्मीहरू मोजमस्तीपूर्ण जीवन बाँच्न यो पेसामा लागेका होलान् अन्यथा ९० प्रतिशतभन्दा माथिका जीवन चलाउन यो पेसामा लागेका छन् र तिनको विवशता राज्य र समाजले समाधान गरिदिने अवस्था पनि छैन। यिनै कारण, परिस्थिति र बाध्यताका प्रमाण सडक–सडकमा देखिन थालेपछि म भन्न थालेको छु– अब यो पेसालाई कानुनभित्र एउटा ‘स्पेस’ दिऊँ, जहाँ यही देशका यौनकर्मी नागरिकले पनि सम्मानित र सुरक्षित भएर बाँच्न पाऊन्। तिनले दलालदेखि सरकारी कर्मचारी र गुन्डाहरूको शोषण खेप्न नपरोस्। अज्ञानता र लुक्ने क्रममा एचआईभी एड्स र अन्य घातक रोग ग्रहण गर्न नपरोस्।

यौनकर्मीहरू चुपचाप कहीं बसेका हुन्छन् र त्यहाँ जान्छौं हामीजस्ता भलाद्मी भन्नेहरू नै। जुन दिन ग्राहक भएर जानेहरू रोकिन्छन्, त्यस दिन यौनकर्मीहरूले पनि आफ्नो पेसा बदल्ने छन्। यो देशको गरिबी र बाध्यताको सिकार हुँदै आएका यौनकर्मीहरू अपराधी होइनन्, बरु पीडित हुन्। कतै कुनामा लुकेर यिनले भ्रष्टाचार र कमिसन लिएका छैनन्, कसैको हत्या वा बलात्कार गरेका छैनन्। देश टुक्र्याएका वा आतंकवाद फैलाएका छैनन्। न जर्जस्ती चन्दा नै उठाएका छन्। यिनलाई पनि सम्मानपूर्वक बाँच्न दिऊँ। यो समूहको अस्तित्व छ र प्रत्येक अस्तित्वले स्पेस खोज्छ, ‘यौनकर्मीहरूलाई पनि सानो स्पेस दिऊँ।’

कुँवर अवकाशप्राप्त वरिष्ठ प्रहरी उपरीक्षक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.