अस्ट्रेलियासँग भिड्दै पाकिस्तान

अस्ट्रेलियासँग भिड्दै पाकिस्तान

एजेन्सी-टाउनटन

अस्ट्रेलिया पाँच पटकको विश्वकप विजेता हो। पाकिस्तानले एक पटकमात्र विश्वकप जितेको छ। अस्ट्रेलिया पछिल्लो समय पनि एकदिवसीय क्रिकेटमा लयमा देखिन्छ। पछिल्लो समय पाकिस्तानी टोलीको प्रदर्शन भने एकनासको छैन। अस्ट्रेलियाको ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्ष उत्कृष्ट छ। पाकिस्तानी टोलीको सबैभन्दा ठूलो यतियार तीव्रगतिका बलर हुन्। यसरी पछिल्लो समय एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया र पाकिस्तान फरक चरित्र बोकेका टोलीको रूपमा स्थापित छन्।

आआफ्नै खाले विशेषता बोकेको यी दुई टोली जारी विश्वकपको बुधबार खेलिने खेलमा आमनेसामने हुँदैछन्। एकातिर प्रतिभाशाली खेलाडीहरूले भरिएको अस्ट्रेलिया। अर्कोतिर कहिले एक सय पाँच रनमै अलआउट हुने त कहिले इङ्ल्यान्डजस्तो बलियो प्रतिद्वन्द्वीलाई हारको स्वाद चखाउने अप्यारिलो पाकिस्तान। वास्तवमै यी दुई टोलीबीचको भिडन्तले विश्वभरका क्रिकेट पारखीलाई गजबको मनोरञ्जन दिने पक्का छ।

अस्ट्रेलिया र पाकिस्तान पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका टोली हुन्। यद्यपि, अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा गरी पाँच पटक उपाधि चुमिसकेको छ। अर्कोतिर पाकिस्तानले सन् १९९२ मा एकपटक मात्र विश्वकपको उपाधि उचाल्ने अवसर पाएको छ। यो तथ्यांकले भने विश्वकपमा पाकिस्तानको तुलनामा अस्ट्रेलियालाई निकै बलियो देखाउँछ।

जारी विश्वकपमा यी दुवै टोलीले हालसम्म तीन÷तीन खेल खेलेका छन्। अस्ट्रेलिया दुई जित र एक हारबाट चार अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ। पाकिस्तान भने एक जित, एक हार र एक अनिर्णित खेलबाट तीन अंक कमाउँदै तालिकाको सातौं स्थानमा छ। एक सय पाँच रनमै अलआउट भएको पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो। दोस्रो खेलमा तीन सय ४८ रन बनाएको पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो। पाकिस्तान र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो।

अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर अफगानिस्तानलाई सात विकेटले हराएको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराएको अस्ट्रेलिया तेस्रा खेलमा भने बलियो भारतसँग ३६ रनले पराजित भएको थियो। यी तीनवटै खेलमा अस्ट्रेलियाको ब्याटिङ उत्कृष्ट देखिएको छ। बलिङमा पनि खासै खोट लगाउने ठाउँ भेटिँदैन। अघिल्ला तीन खेललाई आधार मान्दा पनि पाकिस्तानको तुलनामा अस्ट्रेलिया नै केही बलियो देखिन्छ। यसका बाबजुद अस्ट्रेलियाका लागि तीव्रगतिका पाकिस्तानी बलर घातक बन्न सक्छन्।

यी दुई टोलीबीच हालसम्म खेलिएका एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको नतिजाले पनि अस्ट्रेलियालाई नै बलियो देखाउँछ। यी दुई टोलीबीच हालसम्म एक सय तीनवटा एकदिवसीय खेल भएको छ। ६७ खेलमा अस्ट्रेलिया र ३२ खेलमा पाकिस्तान विजयी भएका छन्। तीन खेल अनिर्णित रूपमा सकिएको छ भने एक खेल बराबरीमा टुंगिएको छ।

यसैगरी हालसम्म विश्वकपका यी दुई टोलीबीच खेलिएको खेलमा पनि अस्ट्रेलिया नै अगाडि देखिन्छ। विश्वकपमा यी दुई टोलीबीच हालसम्म नौ खेल भएको छ। पाँच खेलमा अस्ट्रेलिया र चार खेलमा पाकिस्तान विजयी भएका छन्। इङ्ल्यान्ड र वेल्समा भने हालसम्म यी दुई टोली आठ पटक आपसमा भिडेका छन्। आठमध्ये पाँच खेलमा अस्ट्रेलिया र तीन खेलमा पाकिस्तान विजयी भएका छन्।

पाकिस्तान र अस्ट्रेलियाबीच खेल हुने टाउनटनस्थित काउन्टी ग्राउन्डमा यसअघि दुई खेल वर्षाका कारण प्रभावित भइसकेको छ। यो साताभर त्यहाँ वर्षा हुने अनुमान गरिएको छ। बुधबारको खेल पनि वर्षाबाट प्रभावित हुन सक्ने पूर्वानुमान मौसम विभागले गरेको छ। बुधबार वर्षा हुन सक्ने सम्भावना ५० प्रतिशत रहेको बताइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.